October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

गौतमबुद्ध विमानस्थलमा आन्तरिक यात्रुको चाप

Advertisement

भैरहवा– स्थलमार्गबाट यात्रा सहज नभएपछि हवाई यात्रा गर्ने बढेका छन् । चितवन हुँदै काठमाडौं पुग्ने पुथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भाँसिएपछि यात्रु मर्कामा परेका छन् । कृण्णभीरमा नयाँ ट्रयाक खोलेर वैकल्पिक व्यवस्था गर्ने प्रयास भए पनि ढिलाई भएको छ । जसले गर्दा गौतमबुद्ध विमानस्थलको आन्तरिक टर्मिनलतर्फ यात्रुको चाप छ ।

Advertisement

रसुवाको भोटेकोशी बाढीपछि रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आन्तरिक हवाई यात्रुको चाप बढेको हो । विमास्थलका अनुसार चार–पाँच दिन अघिसम्म टिकट पाउनै मुस्किल थियो । मकवापुर हुँदै काठमाडांै यात्रा गर्न सकिने भएपछि टिकटका लागि मारामार छैन । चितवन र भैरहवाबाट संघीय राजधानी ओहोरदोहोर गर्ने पर्यटकीय र सुविधायुक्त बस सञ्चालन नभएपछि यात्रुको चाप विमानस्थलमा बढेको हो ।

सडकमा समस्या भएपछि धेरै सर्वसाधारणले हवाई यात्रा रोजेकाले पनि चाप बढेको हो । नियमित उडान भरिरहेका बुद्ध र यति एयरलाइन्सले उडान संख्या थपेकाले पनि सहज भएको विमानस्थलले जनाएको छ । भैरहवास्थित यती एयरलाइन्सका स्टेसन प्रमुख अनुप ढकालले यात्रुको चाप रहेको बताए । ‘सडक खुलेपछि केही दिनअघिको जस्तो समस्या छैन,’ उनले भने, ‘अहिले यात्रुले खोजेका बेला टिकट पाइरहेका छन् ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलका प्रवक्ता कुमार सुजखुले बाढी पहिरोपछि आन्तरिकतर्फ हवाई यात्रामा चाप बढेको बताए । उनका अनुसार यात्रु बढेपछि बुद्ध एयरले भैरहवामा तीनवटा उडान थप गरेको थियो । यती एयरले दुईवटा उडान थपेर सेवा प्रदान गरिरहेको छ ।

श्री एयरलाइन्सले केही उडान थप गरेको प्रवक्ता सुजखुले जानकारी दिए । ‘विमान कम्पनीले फ्लाइट थपेर भए पनि यात्रुलाई सेवा पुर्याइरहेका छन्,’ उनले भने, ‘तीन–चार दिनअघिको जस्तो जहाजको टिकट नपाउने अवस्था अहिले छैन ।’