बाढीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन



भैरहवा–गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भैरहवास्थित आइतबार संस्कृत विद्या सन्यास आश्रमले दीप प्रज्वलन, शान्तिपाठ तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
विपत्तिमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै आश्रम परिसरमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै विशेष शान्तिपाठसमेत गरिएको थियो । विपत्तिमा आफन्त गुमाएका शोकसन्तप्त परिवारजनप्रति आश्रमले समवेदना व्यक्त गरेको छ ।
कार्यक्रममा आश्रमका श्री १००८ स्वामी सन्तानन्द सरस्वतीजी महाराजको उपस्थितिमा आश्रमका ५५ जना बटुकले वैदिक विधिअनुसार शान्तिपाठ गरेका थिए । बटुकहरूले सामूहिक रूपमा शान्तिपाठ गर्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाएको आत्माको शान्ति तथा प्रभावित परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए ।
कार्यक्रममा आश्रमका तर्फबाट विपत्तिबाट प्रभावित परिवार तथा पीडितलाई सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ जम्मा गरिने स्वामी सन्तानन्द सरस्वतीजी जनाए ।
विपत्तिको समयमा पीडित परिवारलाई राज्य तथा विभिन्न क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै आश्रमले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा रकम सहयोग गर्ने निर्णय गरेको उनले जनाए ।








प्रतिकृया दिनुहोस्