October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

रूपन्देहीमा काँग्रेस कार्यकर्तालाई अधिवेशनको तातो

Advertisement

भैरहवा– रसुवाको भोटेकोशी बाढीले मच्चाएको वितण्डापछि एकातिर शोकको वातावरण छ । अर्कोतिर समाजका नियमित गतिविधि पनि अगाडि बढिरहेका छन् । बाढीपछि उत्पन्न परिस्थिति सामना गर्दै अगाडि बढ्नुपर्ने बाध्यता नेपाली सामु छ । बाढीपीडितलाई राहत र सहयोग जुटाइरहेका बेला मुलुककै जेठो पार्टी नेपाली काँग्रेसभित्र महाधिवेशनको तातो लाग्न थालेको छ ।

Advertisement

काँग्रेस संस्थापनले भदौं २४ गतेबाट वडा अधिवेशन सुरु गर्ने जनाए पनि बाढीपछि उत्पन्न परिस्थिति जनाउँदैं महाधिवेशन एक सातापछि सार्ने निर्णय गरेको छ । मिति सरे पनि कार्यकर्ता माझ महाधिवेशनको रन्को चढिसकेको छ । अहिले जिल्लाका चिया चौतारामा भेला भएर काँग्रेस कार्यकर्ताले महाधिवेशनबारे चर्चा सुरु गरेका छन् । केहीले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरिसकेका छन् । संस्थापन इतर पक्षले महाधिवेशनको बेग्लै तालिका सार्वजनिक गरेको छ । तर, अधिकांश काँग्रेस कार्यकर्तालाई १५ औं महाधिवेशनले छोइसकेको छ ।

कांग्रेस युवा नेता सम्शेर खड्काले बाढीपछि उत्पन्न परिस्थितीका कारण महाविधेशनको माहोल सामाजिक सञ्जालमा कम देखिएको बताए । ‘कार्यकर्तालाई महाधिवेश लागिसकेको छ,’ उनले भने, ‘वडादेखि जिल्ला तहमा कस्को नेतृत्व बन्ने विषयमा बहस भइरहेको छ ।’ काँग्रेसमा केन्द्रिय तहदेखि देखिएको संस्थापन र इतर पक्षको विवाद जिल्लामा पनि छ । रुपन्देहीका वर्तमान पार्टी सभापति रामकृष्ण खाँणले पार्टी सदस्यता नवीकरण गरिसकेकाले उनी फेरि जिल्ला सभापतिको दाबेदार रहेको कार्यकर्ता बताउँछन् । उनलाई संस्थापन पक्षबाटै टक्कर दिने तयारी छ ।

जिल्लामा अहिले बुटवल नगर सभापति पदमा स्थानीय ज्योति भण्डारीले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी बुटवल–६, का बासिन्दा हुन् । लामो समयदेखि काँग्रेसको जिल्ला राजनीतिमा सक्रिय छन् । सिद्धार्थनगर नगर सभापतिमा दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । स्थानीय काँग्रेस कार्यकर्ता देवराज न्यौपाने र सञ्जिव शर्मा रेग्मीले नगर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । रेग्मीले दुई महिना अघि नै नगर सभापतिमा उम्मेदवार घोषणा गरेका थिए । भने, न्यौपानेले यसै साता उम्मेदवारी घोषणा गरेका हुन् ।

धेरैले रुपन्देहीको काँग्रेस राजनीतिमा बालकृष्ण खाँणको प्रभाव रहेकाले उनले चाहेकै व्यक्ति जिल्ला सभापति हुने आँकलन गरिरहेका छन् । अर्कोतर्फ यसअघि खाँण निकट रुपन्देही–५ का नेता भरतकुमार शाह खाँण परिवारसित विच्किएकाले यसपटक फरक व्यक्ति सभापतिमा चुनिने अड्कल गरिरहेका छन् । अहिले पार्टीको जिल्ला नेतृत्वमा रहेका अधिकांश व्यक्तिले युवाको भावना बोक्न नसक्ने रहेकाले नेतृत्व परिवर्तनको पक्षमा अधिकांश कार्यकर्ता रहेको काँग्रेस निकट बताउँछन् । ‘अब पनि पाका पुराना नेता अगाडि लाएर गयौं भने राजनीतिमा टिक्न गाह्रो छ,’ काँग्रेस निकट एक नेताले भने, ‘अहिलेकै राजनीतिक माहोलमा प्रदेश र स्थानीय चुनाव जित्न सक्ने युवालाई अवसर दिनुपर्छ, हैन भने नेपाली काँग्रेसको अस्तित्व संकटमा छ ।’

काँग्रेस कार्यकर्तालाई सतहमा देखिएका पार्टी सभापति गगनकुमार थापा निकट नेताको पनि भरोसा छैन । यस्ता व्यक्ति सधैं पद र शक्तिको पक्षधर देखिने गरेकाले उनीहरुले पार्टीलाई साझा बनाएर अगाडि लैजान नसक्ने धेरैको भनाई छ । आफ्नो सानो घेरा बनाएर पार्टीमा हालीमुहाली गर्नेका कारण कार्यकर्ता बिच्किएको उल्लेख गर्दै ती नेताले भने, ‘बरु पेशागत क्षेत्रबाट सम्भावना बोकेका व्यक्ति ल्याएर नेतृत्वमा लैजानु पर्छ, अहिले देखिएका व्यक्तिले काँग्रेस डोर्याउन सक्दैंनन् ।’