वीरता र आस्थाको जीवन्त इतिहास बोकेको भगवती जात्रा



भैरहवा– पाल्पाको तानसेनमा हरेक वर्ष मनाइने ऐतिहासिक रणउजिरेश्वरी भगवती जात्रा धार्मिक आस्था, नेपाली वीरता, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक परम्पराको जीवन्त प्रतीकका रूपमा स्थापित छ। कृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् भाद्र कृष्ण नवमीका दिन मनाइने यो जात्रा तानसेनको प्रमुख सांस्कृतिक उत्सवमध्ये एक हो।
शनिबार विशेष समारोहबीच जात्रा भइरहेको छ । तानसेनका नगर परिक्रमा भइरहेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तेचनारायण आचार्य र मन्त्रीहरु पुगेर जात्रा अवलोकन गरिरहेका छ्न् । मुख्यमन्त्री आचार्यले विशेष पुजाअर्चना समेत गरेका छन् । विगतमा राष्ट्र प्रमुख नै सहभागी हुने यो जात्रामा पछिललो समय मन्त्री तथा मुख्यमन्त्रीहरुमा सीमित हुन थालेको छ ।
राष्ट्र प्रमुखहरुले ऐतिहासिक यो जात्राबारे बेवास्ता गरिरहेको भन्दै स्थानीयले चिन्ता समेत व्यक्त गरेका छन् । जात्रामा स्थानीय बासिन्दादेखि जिल्लाबाहिर रहेका पाल्पाली, भक्तजन, पर्यटक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने गर्छ। छिमेकी जिल्ला गुल्मी, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, पोखरा तथा भारतीय पर्यटक पनि यहाँ यात्रा अवलोकन गर्न आउँछन् । इतिहासिविद निर्मले श्रेष्ठले जात्राको आफ्नै महिमा र ऐतिहासिकता रहेको बताउँछन् ।
‘भगवती जात्राको इतिहास नेपाल–अङ्ग्रेज युद्धसँग जोडिएको छ। वि.सं. १८७१–७२ तिर बुटवलको जितगढी क्षेत्रमा भएको युद्धमा तत्कालीन पाल्पाका प्रशासक तथा नेपाली फौजका नेतृत्वकर्ता कर्णेल उजिरसिंह थापाले अङ्ग्रेज फौजविरुद्ध विजय हासिल गरेको इतिहास छ। युद्धमा जानुअघि उजिरसिंहले तानसेनको भगवती देवीसमक्ष विजयको कामना गर्दै आफू विजयी भए भव्य मन्दिर निर्माण गर्ने र प्रत्येक वर्ष भगवतीको जात्रा निकाल्ने भाकल गरेको जनश्रुति तथा ऐतिहासिक विवरणमा उल्लेख छ। युद्धमा विजय प्राप्त गरेपछि सोही भाकलअनुसार भगवती मन्दिर निर्माण तथा जात्राको परम्परा अघि बढेको मानिन्छ’, उनले भने, ‘तर, यस्तो ऐतिहासिक ठाउँमा आउन पछिललो समय राष्ट्र प्रमुखहरु अलि अनिच्छुक देखिएनु विडम्बना हो ।’
यसरी सुरु भएको भगवती जात्रा धार्मिक अनुष्ठानमा मात्र सीमित नरही नेपाली इतिहासमा अङ्ग्रेजविरुद्ध प्राप्त विजयको सम्झनामा मनाइने विजयोत्सवका रूपमा विकास भएको हो। त्यसैले यसलाई पाल्पाको वीरता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको महत्वपूर्ण जात्राका रूपमा लिइन्छ। नेपाल सरकार र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच भएको युद्ध तथा जितगढीको ऐतिहासिक घटनालाई नयाँ पुस्तासम्म पुर्याउने माध्यमका रूपमा पनि यस जात्राको विशेष महत्व छ।
जात्राका अवसरमा तानसेन भगवतीटोलस्थित श्री ७ रणउजिरेश्वरी भगवतीको मूर्तिलाई विशेष पूजाआजा गरी रथमा राखिन्छ। आज यहाँ विशेष पुजा गरी रथमा राखेर परिक्रमा भइरहेको छ । कृष्ण जन्माष्टमीको राति जाग्राम बस्ने, भजन–कीर्तन गर्ने तथा विभिन्न धार्मिक विधि पूरा गर्ने परम्परा छ। त्यसपछि भोलिपल्ट भगवतीको रथलाई सिन्दूर, अबिर तथा अन्य पूजासामग्रीले सजाएर तानसेन बजार परिक्रमा गराइन्छ। रथयात्राका क्रममा भक्तजनले पूजा तथा दर्शन गर्ने, सिन्दूर र अबिर चढाउने तथा जयजयकार गर्ने गर्छन्। नेपाली सेनासहित सुरक्षा निकाय तथा विभिन्न समुदायको सहभागिताले जात्रालाई थप आकर्षक बनाउने गरेको छ।
भगवती जात्राले तानसेनको सामाजिक र सांस्कृतिक जीवनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्थानीय सुवणमणि शाक्य बताउँछन्। ‘जात्रा हेर्न पाल्पाका विभिन्न गाउँ तथा छिमेकी जिल्लाबाट समेत मानिसहरू तानसेन पुग्ने गरेका छन्। विदेश वा जिल्लाबाहिर बसोबास गर्ने पाल्पालीहरू समेत जात्राको अवसर पारेर आफ्नो जन्मथलो फर्किने भएकाले यो पर्व पारिवारिक पुनर्मिलनको अवसरसमेत बन्ने गरेको छ’, उनले भने ।
जात्राका कारण तानसेन बजारमा विशेष चहलपहल देखिन्छ। स्थानीय व्यापार, होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य व्यवसायमा समेत गतिविधि बढ्ने गर्छ। यसले धार्मिक पर्यटन र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्याउँदै आएको छ। तानसेनका पुराना बस्ती, ऐतिहासिक दरबार क्षेत्र, मन्दिर तथा मौलिक नेवारी संस्कृति अवलोकन गर्न आउने पर्यटकका लागि भगवती जात्रा थप आकर्षण बन्ने गरेको छ।
भगवती जात्रा तानसेनको एउटा धार्मिक उत्सव मात्र नभई इतिहास, संस्कृति, आस्था र राष्ट्रिय गौरवलाई एकै ठाउँमा जोड्ने पर्व हो। सयौँ वर्ष पुरानो युद्धको स्मृति र वीरताको गाथालाई पुस्तान्तरण गर्दै आएको यो जात्राले स्थानीय समुदायबीचको एकता र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाएको छ। बदलिँदो समय र आधुनिक जीवनशैलीबीच पनि परम्परालाई निरन्तरता दिँदै आएको भगवती जात्रा पाल्पाको पहिचान र नेपालको ऐतिहासिक गौरवको महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा स्थापित हुँदै आएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी भगवती रथ जात्राले राष्ट्रिय स्वाभिमान, वीरता, धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको बताए । भगवती रथ जात्राको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन जात्रा मनाइने उल्लेख गरेका हुन् ।
कर्णेल उजिरसिंह थापाको नेतृत्वमा प्राप्त ऐतिहासिक विजयको स्मरणमा महिषासुरमर्दिनी भगवतीको मन्दिर निर्माण गरी रथ जात्रा निकाल्ने परम्परा सुरु भएको उल्लेख गर्दै उनले जात्राले नेपालको वीरता र राष्ट्रिय गौरवको इतिहासलाई पुस्तौँदेखि जीवन्त राखेको बताए ।
मुख्यमन्त्री आचार्यले भगवती जात्राले धार्मिक आस्था, सांस्कृतिक विविधता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । पुस्तौँदेखि निरन्तर चलिआएको यस्तो मौलिक परम्पराले नयाँ पुस्तामा संस्कृति, रीतिरिवाज र मूल्य–मान्यता हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।








प्रतिकृया दिनुहोस्