गुल्मीमा २ हजार २५१ किशोरीलाई एचपीभी खोप दिइँदै



गुल्मी–पाठेघरको मुखको क्यान्सरबाट जोगाउन गुल्मीमा २ हजार २५१ किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । गुल्मीका १२ वटै स्थानीय तहमा आगामी असोज ५ देखि ८ गतेसम्म खोप अभियान सञ्चालन गरिने जानकारी स्वास्थ्य कार्यालय गुल्मीले दिएको छ ।
अभियानअन्तर्गत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर पुगेका किशोरीलाई एचपीभी खोप लगाइनेछ । किशोरी अवस्थामा खोप लगाउँदा भविष्यमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम कम गर्न सहयोग पुग्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी कृष्ण पन्थीले गुल्मीका स्थानीय तहमध्ये रेसुङ्गा नगरपालिकामा सबैभन्दा धेरै ३९५ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको जनाए ।
मुसिकोट नगरपालिकामा २४५, मदाने गाउँपालिकामा २२२, मालिकामा १९६, इस्मामा १६५ र सत्यवतीमा १६५ किशोरीलाई खोप लगाइने भएको छ । धुर्कोट गाउँपालिकाका १६१, चन्द्रकोटका १६०, छत्रकोटका १५३, रुरुक्षेत्रका १४८, गुल्मीदरबारका १२२ तथा कालीगण्डकी गाउँपालिकाका ११९ किशोरीलाई पनि अभियानमा समेटिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय गुल्मीकी प्रमुख पुष्पा थापाले किशोरी अवस्थामा एचपीभी खोप लगाउनु पाठेघरको मुखको क्यान्सर रोकथामका लागि महत्वपूर्ण कदम भएको बताइन् । अभियानलाई प्रभावकारी बनाउन बैठक सहितको आवश्यक तयारी गरिएको छ ।








प्रतिकृया दिनुहोस्