तीन गाडी राहत लिएर रसुवा जाँदै युनाइटेड लुम्बिनी युथ सोसाइटीको टीम


भैरहवा– युनाइटेड लुम्बिनी युथ सोसाइटी, लुम्बिनीले रसुवा बाढी प्रभावितका लागि लाखौं रुपैयाँ बराबरको राहत संकलन गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा क्रियाशील उक्त संस्थाले सार्वजनिक रुपमा आह्वान गरी लाखौं रुपैयाँ बराबरको राहत सामग्री सहयोग जुटाएको हो ।
संस्थाका बोर्ड सदस्य दामोदर अर्यालका अनुसार लुम्बिनीस्थित विभिन्न गुम्बाहरुमा पुगेर राहतका लागि आह्वान गरिएको थियो । यसक्रममा सबै गुम्बामा सम्बन्धित देशका भाषामा ब्यानर बनाई सहयोग आह्वान गरिएको थियो । अर्यालका अनुसार जिन्सी सामान संस्था मार्फत् संकलन गरिए पनि पैसा भने प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्न आग्रह गरिएको छ ।
‘हामीले उनीहरुकै देशको भाषामा ब्यानर बनाएर सहयोग आह्वान गरेपछि लुम्बिनीका गुम्बा तथा अन्य सामाजिक व्यक्ति, विदेशी पर्यटक लगायतले करिब २५–२६ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिसकेको जानकारी आएको छ’, अर्यालले भने, ‘जिन्सी सामान भने हामीले संकलन गरिरहेका छौं ।’
अर्यालले जम्मा भएको खाद्यान्न लगायतका सामग्री लिएर बुधबार सबैभन्दा क्षतिग्रस्त जिल्ला रसुवा जाने तयारी छ । उनले दाल, चामल, नुन, तेल, चाउचाउ, विस्कुट, लत्ताकपडा, कम्बल, मेडिकल सामानहरु सहयोग वापत प्राप्त भएको जनाए । सेनेटरी प्याड, प्राथमिक उपचारका सामग्री, सेनिटाइजर लगायत सामान सहयोग वापत जम्मा भउको सुनाए ।
‘भदौ १० को बाढीले हामी सबै नेपालीलाई रुवाएको छ, यो दुःखमा हामीले सामो भए पनि मल्हम लगाउने प्रयास गरेका छौं’, अर्यालले भने, ‘बुधबार तीनवटा बलेरो पिकअप गाडीमा राहत सामग्री लिएर रसुवा जाँदैछौं ।’ उनले तत्कालका लागि बालबालिका र र बृद्धहरुले लगाउने कपडा पनि राहत स्वरुप लिएर जान लागेको बताए ।








प्रतिकृया दिनुहोस्