नाकाको झन्झटले पर्यटक दिक्क हुने व्यवसायीको गुनासो


भैरहवा–विभिन्न मुलुकबाट रुपन्देहीको बेलहिया नाका हुँदैं आउने पर्यटकले विभिन्न जाँचका नाममा पाइरहेको सास्तीमा कमी आएको छैन । भारतका विभिन्न गन्तव्य भ्रमण गरेर यहाँ आउने पर्यटकले बेलहियास्थित अध्यागमन कार्यालयमा दुःख पाउने गरेका छन् ।
नाकामा रहेको अध्यागमन कार्यालयमा कर्मचारी अभाव भएकाले कागजपत्र जाँचका लागि पर्यटकले घण्टौं कुर्नुपर्ने बाध्यता रहेको छ । भारतको उत्तर प्रदेशस्थित बौद्ध गन्तव्यबाट विहान हिड्ने उनीहरु बेलहियाका नाकामा आएपछि घण्टौं कुर्न बाध्य हुन्छन् । यस्तो असुविधाबारे स्थानीय पर्यटन व्यवसायीले वर्षौदेखि गुनासो गरेपनि सुनुवाई भएको छैन ।
भैरहवास्थित होटल ल्याण्डमार्कका आवासीय अपरेशन म्यानेजर उमेश वनियाँले नाकामा पर्यटकको कागजपत्र छिटो छरितो जाँच हुने हो पर्यटकका दुःख कम हुने बताए । भारतका विभिन्न स्थानबाट बिहानै हिडेका पर्यटक कहिलेकांही रातिसम्म मात्र आइपुग्ने गरेको उनले सुनाए । कर्मचारी बृद्धि गरेर भएपनि अध्यागमन कार्यालयको सेवा सहज बनाउनु पर्ने उनले बताए । उनका अनुसार अहिले भैरहवाका स्तरीय होटल लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको रोजाइँमा रहेका छन् ।
भैरहवास्थित चार तारे होटल भैरहवा गार्डेन रिर्सोटका अपरेशन तथा सेल्स प्रमुख सुधीर पोखरेलले अध्यागमन कार्यालयले छिटो छरितो सेवा प्रदान नगर्दा पर्यटक हैरान भएको बताए । ‘विहान नाकामा आएका पर्यटक बेलुका मात्र होटलमा आइपुग्छन्,’उनले भने, ‘रमाउन आएका पर्यटक होटल पुग्ने वित्तिकैं सुत्न जानुपर्ने बाध्यता छ ।’ अध्यागमन कार्यालयमा कम्तिमा ३÷४ जना कर्मचारी थप गरेर भएपनि सेवा छिटो छरितो बनाउनु पर्ने उनले बताए ।
उनका अनुसार अहिले भारतका विभिन्न बुद्धस्थल घुमफिर गरेर पर्यटक लुम्बिनी आउने गरेका छन् । थाइल्याण्ड, म्यानमार, चिनियाँ, श्रीलंकन, भारतीय लगायत मुलुकबाट पर्यटक आउने गरेका छन् । लुम्बिनी घुम्न आएका यी पर्यटक अहिले भैरहवाका होटलमा बस्ने गरेका छन् । नाकाबाट समयमै आउन सकेको खण्डमा पर्यटकले आराम प्राप्त गर्ने व्यवसायीले बताए । त्यसका लागि सरकारले ध्यान दिनुपर्ने उनले बताए ।








प्रतिकृया दिनुहोस्