August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

एआई एक्स–रे प्रविधिको खोजीबाट बाँकेमा क्षयरोगका धेरै बिरामी फेला परे

Advertisement

नेपालगन्ज–एआई एक्स–रे प्रविधिबाट क्षयरोगीको खोजी तीव्र पारिएपछि बाँके जिल्लामा क्षयरोगका बिरामी फेला पर्ने क्रम पनि बढेको छ । एआई एक्स–रे प्रविधिबाट क्षयरोगीको खोजी गर्न थालेपछि बिरामीको फेला पर्ने क्रम पनि बढेको दावी स्वास्थ्य कार्यालय बाँकेले गरेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार शाहले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म बाँकेमा ७ सय २९ जना क्षयरोगका बिरामी फेला परेको जनाए । सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा बिरामी भेटिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका मा २ सय र कोहलपुर नगरपालिका मा १ सय २९ जना क्षयरोगी फेला परेका छन् । डुडुवा गाउँपालिका मा ६२, बैजनाथ गाउँपालिका मा ९३, खजुरा गाउँपालिका मा ९२ र जानकी गाउँपालिका मा ५८ जना बिरामी फेला परेका छन् ।

राप्तीसोनारी गाउँपालिका मा ५० र नरैनापुर गाउँपालिका मा ४५ जना फेला परेका छन् । शाहका अनुसार गत वर्ष बाँकेमा १ हजार १ सय ८२ जना क्षयरोगका बिरामी फेला परेकोमा यस वर्ष नौ महिनामै ७ सय २९ जना नयाँ बिरामी पहिचान भइसकेका हुन् । पछिल्लो समय समुदायस्तरमै क्षयरोग पहिचान गर्न एआई एक्स–रे विधिबाट सक्रिय खोजपड्ताल शिविर सञ्चालन भइरहेको छ ।