August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

पर्यटन परिषदको कार्यालय रूपन्देहीबाट दाङ नसार्न दबाब

Advertisement

भैरहवा– प्रदेशको पर्यटकीय हव रुपन्देहीबाट लुम्बिनी पर्यटन विकास परिषदको कार्यालय दाङ नसार्न सरोकारवालाले दबाब दिएका छन् । कार्यालय दाङ लैजाने खबर फैलिएपछि जिल्लाका पर्यटन व्यवसायीले सामाजिक सञ्जाल र उच्च तहमा भेटघाट गरेर दबाब बढाएका हुन् ।

Advertisement

रुपन्देहीका ट्राभल्स र होटल व्यवसायीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर कार्यालय नसार्न दबाब दिएका छन् । ‘बुटवलमा रहेको लुम्बिनी पर्यटन विकास परिषदको कार्यालय दाङ सार्ने निर्णय सच्याउन अनुरोध गरिन्छ,’ भैरहवाका ट्राभल व्यवसायीले सागर अधिकारीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘पर्यटन प्रवद्र्धनका लागि यस संस्थालाई रुपन्देही बाहिर लैजान मिल्दैन, सरोकारवाला सचेत रहौं ।’

नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापाको नेतृत्वमा कार्यालय रुपन्देहीमै कायम गर्न दबाब दिने उद्देश्यले व्यवसायीको टोली दाङ पुगेर फर्किएको छ । त्यहाँ मुख्यमन्त्री सित भेटघाट गरेर कार्यालय नसार्न अनुरोध गरेका छन् ।

सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको नेतृत्वमा बुधबार होटल व्यवसायीले दाङ पुगेर पर्यटन परिषदको कार्यालय नसार्न दबाब दिएका छन् । बुधबार दिउँसो प्रदेश राजधानी पुगेर व्यवसायीले मुख्यमन्त्री समक्ष कार्यालय नसार्न दबाब दिएका हुन् । व्यवसायीको माग उपेक्षा गरेर कार्यालय सारिए आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

लगानी र पर्यटन आगमनका हिसावले रुपन्देही पर्यटकीय केन्द्र भएकाले यहाँबाट कुनैपनि हातलमा कार्यालय सार्न नहुने सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष श्रेष्ठले बताए । ‘हामी रुपन्देहीमा पर्यटन बोर्डको शाखा स्थापना गर्न लागि परेका छौं,’ उनले भने, ‘यस्तो बेला पर्यटन परिषदको कार्यालय हटाउने कुरा मान्य हुँदैंन ।’ मुख्यमन्त्री समक्ष आफ्नो अडान राखिसकेको जनाउँदैं निर्णय परिवर्तन नगरेर आन्दोलनमा उत्रिने उनले बताए ।