August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

लुम्बिनी बौद्ध विश्वविद्यालयमा खुल्ला नियुक्ति आह्वानले स्थानीय युवा खुशी

Advertisement

भैरहवा- लुम्बिनी क्षेत्रमा विश्वविद्यालय तथा विकाससँग सम्बन्धित नियुक्ति प्रक्रियाप्रति स्थानीय युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् । विशेषगरी शिक्षित तथा दक्ष युवाहरूका लागि यस्ता अवसरहरू खुला हुनु राम्रो संकेत भएको उनीहरूको भनाइ छ ।

Advertisement

सरकारले अध्यादेशमार्फत् लुम्बिनी बौद्ध विश्वविद्यालय सहित सयौं राजनीतिक नियुक्ति खारेज गरेको छ । अहिले बौद्ध विश्वविद्यालयको उपकुलपतिका लागि खुल्ला आह्वान गरिएको छ । यसप्रति स्थानीय युवाहरुले खुशी व्यक्त गरेका हुन् ।

संरक्षणकर्मी तथा युवा अभियन्ता अर्जुन कुर्मीले यस्ता अवसरले स्थानीय युवामा आशा र उत्साह थपेको बताए । “लुम्बिनीको विकाससँग जोडिएका संस्था तथा विश्वविद्यालयमा स्थानीय युवाले पनि आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनु आवश्यक छ । खुला प्रतिस्पर्धामार्फत योग्य र सक्षम व्यक्तिले आफ्नो स्थान बनाउनुपर्छ”, उनले भने ।

उनले शिक्षित तथा योग्य युवाहरूले आफ्नो सीप, अनुभव र क्षमताअनुसार पदका लागि प्रतिस्पर्धा गर्नुपर्ने धारणा व्यक्त गर्दै यसले लुम्बिनीको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

स्थानीय स्तरमा रोजगारी तथा अवसरको सिर्जना हुँदा युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था समेत केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । साथै, योग्य जनशक्तिको सहभागिताले शिक्षा, पर्यटन तथा विकासका क्षेत्रमा नयाँ ऊर्जा थपिने स्थानीयवासीको विश्वास रहेको छ ।