August 10, 2026, Monday
२०८३ श्रावण २५ सोमबार

नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव छः मुख्यमन्त्री आचार्य

Advertisement

बर्दिया– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताएका छन् । श्रीकृष्ण प्रणामी मन्दिर एकाई सेवा समितिले मधवुन–४ ढोढरी, बर्दियामा ८ औं बार्षिकोत्सव तथा गुरु श्यामदासजीको ३२ औं बार्षिक पुण्य तीथिको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले समाज रुपान्तरण गर्न, समाजमा रहेका बैरभाव अन्त्य गर्न तथा सकारात्मक सिद्धान्तलाई जनतास्तरसम्म पुर्याउन आवश्यक रहेको बताए ।

Advertisement

उनले अहिले समाज विकृति र विसंगतितर्फ उन्मुख हुनुमा धर्म, संस्कृति र नैतिक शिक्षाबाट टाढा हुनु मुख्य कारण रहेको उल्लेख गरे । ‘हामीले धर्म भुल्यौं । संस्कृतिको नास गर्यौं । पुर्खाहरुले अवलम्बन गरेका राम्रा कुराहरुलाई नराम्रो देख्न थाल्यौं,’ उनले भने, ‘नैतिक शिक्षालाई च्यात्दा गर्व गर्न थाल्यौं । संस्कृतिको किताब च्यात्दा आफुलाई ठूलो क्रान्तिकारी ठान्यौं । त्यसैको परिणाम आज मुलुक अराजकतर्फ उन्मुख भएको छ ।’

मुख्यमन्त्री आचार्यले समाजलाई फेरि नेपालीपनसँग जोड्न आवश्यक रहेको बताउँदै एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले पनि त्यसको पीडा महसुस गर्ने सामाजिक संस्कारको पुनःस्थापना गर्नुपर्ने धारणा राखे । उनले योग र आराधनाबाट स्वस्थ समाज निर्माण गर्न सकिने उल्लेख गर्दै संघीयतापछिको परिवर्तनलाई वस्तुगत ढंगले मूल्यांकन गर्न आग्रह गरे ।

‘बर्दिया पहिले कस्तो थियो र अहिले कस्तो भयो भन्ने ठोस मूल्यांकन गर्न जरुरी छ,’ उनले भने, ‘विकास निर्माणमा ठूलो परिवर्तन आएको छ । तर गलत ढंगले भ्रम छर्ने काम भयो र त्यसको परिणाम अहिले भोगिरहेका छौं ।’ मुख्यमन्त्री आचार्यले निर्णय गर्दा सही र गलत छुट्याउन सक्नुपर्नेमा जोड दिँदै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि विगतमा सरकारले काम गरिरहेको तर, वर्तमान संघीय सरकारले ति कामहरुलाई विथोल्नेगरी भूमिका अगाडी बढाएको प्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समाज सुधारका लागि नैतिक शिक्षालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना बनाउने बताए ।