August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

रूपन्देही प्रहरीद्वारा दिनदिनै ‘अपरेसन’, अवैध काममा संलग्न धमाधम पक्राउ

Advertisement

भैरहवा– रुपन्देही प्रहरीले दिनदिनैं विभिन्न अपरेसन सञ्चालन गरिरहेको छ । कहिले लागूऔषध सेवनकर्ता, कहिले समाजमा हुलदंगा गर्ने र भन्सार छलेर सामान भित्र्याउने बिरुद्ध प्रहरीले कदम चालिरहेको छ । यसक्रममा शान्ति व्यवस्था खलबल्याउने र नियम उल्लंघन गर्नेहरु पक्राउ परिरहेका छन् ।

Advertisement

तीन दिन अघि जिल्ला प्रहरी र मातहत युनिटबाट खटिएका टोलीले लागू औषध सेवन गरेर सवारी साधन चलाउने बिरुद्ध अपरेसन चलाएको थियो । त्यसक्रममा भैरहवा, धकधई, बुटवल र लुम्बिनीबाट १९ चालक पक्राउ परेका थिए । चालकले लागूऔषध सेवन गरे–नगरेको पत्ता लगाउन लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो । यसक्रममा गाडी रोकेर चालकको स्वास्थ्य परीक्षण गरिनुका साथैं उनीलाई जनचेतना समेत प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रतीमा कार्कीले बताइन् ।

प्रहरीले सोमबार जिल्लाका विभिन्न स्थानमा शान्ति सुरक्षामा असर पुर्याउने व्यक्ति बिरुद्ध अपरेसन चलाएको थियो । त्यस क्रममा समाजमा होहल्ला गर्ने, हानी पुर्याउने कार्यमा संलग्न आरोपमा ११ जना पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रवेशमा कडाई गरिएको छ । कार्यालय प्रवेश गर्नेको नाम, ठेगाना, सम्पर्क नम्बर र कामको उद्देश्य अभिलेखमा राखेर मात्रै प्रवेश दिने गरिएको छ ।

प्रहरीले भारतबाट भन्सार छलेर सामान भित्र्याउने बिरुद्ध पनि अभियान चलाइरहेको छ । यसैक्रममा जिल्ला प्रहरीबाट खटिएको टोलीले २३ लाख रुपैैयाँ बढीको अवैध सामान बरामद गरेको छ । सोमबार जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरेको अन्दाजी मूल्य २३ लाख ३ हजार २ सय ३७ रुपैयाँ बराबरको सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामानमा कैची, बोइलर कुखुरा, जेन्स टिसर्ट, जाली टोपी, पन्जा, फूल, केरा, चिनी, साडी, खुर्सानी, लेडिज सुट, गाडीमा झुण्ड्याउने झुमर, माला, कान बाली, हार, ब्रासलेट, प्याकिङ प्लाष्टिक, लेडिज सेन्डल, ललिपप मिठाई, धानको बिउ, सिसा, किराना सामान, विभिन्न कस्मेटिक सामान, मोटरसाइकल, लगायत छन् ।

नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय तथा भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिए ।

यसअघि बैशाख १२ गते शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १०३ जनालाई नियन्त्रणमा लिएको थियो । दुई घण्टाको अवधिमा १०३ जनालाई नियन्त्रणमा लिइएको हो ।

बैशाख १२ गते शनिबार बुलेकी ७ बजेदेखि राति ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा विशेष स्वीप अप्रेसन संचालन गरिएको थियो । पछिल्लो दिनमा प्रहरीले दैनिकजसो मानिस समाउने गरेको छ । यहीबीचमा गतहप्ता भैरहवाको एक क्यासिनोबाट १९ जना नेपाली नियन्त्रणमा लिइएको थियो । त्यसअघि मणिग्रामको एक क्यासिनोबाट ५ जना पक्राउ गरेका थिए । प्रहरीको सक्रियताले पछिल्लो दिनमा अपराध गर्नेहरु त्रसित छन् । त्यसपछि प्रहरीले चर्को आवाज निकाल्ने मोटरसाइकल पनि नियन्त्रणमा लिएको थियो ।