November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

‘संचारमाध्यमले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्छ’

Advertisement

रुपन्देही– अग्रज पत्रकारहरुले संचारमाध्यमले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा जारी मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन ‘प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र स्रोताको मन ?’ विषयमा आइतबार भएको बहस तथा छलफलमा सहभागीहरुले पत्रकारले पत्रकार र मिडिया हाउसहरु प्रश्न गर्नबाट डराउन नुहने जनाए । मिडियाको भूमिका जहिल्यै सक्तालाई प्रश्न गर्ने हुनुपर्ने उनीहरुले जोड दिए ।

Advertisement

बहसमा सहभागी हुँदै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं अनलाइनखबरका पूर्वप्रधान सम्पादक शिव गाउँलेले पछिल्लो समय मिडियाले पस्कने सामाग्रीको विश्वसनीयता र जगमाथि प्रश्न उठेको बताए । ‘सबै सूचना समाचार होइनन् । ‘अल्गोरिदमले सम्पादक र संवाददाताहरुको मनोवैज्ञानिक शान्ति लुटेको छ,’ उनले भने । सस्तो वस्तुले बजारको गुणस्तरीय माग धान्न नसक्ने उनको भनाई छ । पत्रकारले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा उनले जोड दिए । कमीकमजोरी सच्याएर अघि बढ्नपर्ने उनको भनाई छ ।

मिडियाले जहिल्यै सही सूचनालाई समाचार बनाउन नडराउनु पर्ने बताउँदै गाउँलेले सत्तालाई प्रश्न गर्न छाडे नागरिक अधिकारी कुण्ठित हुनसक्ने उनको भनाई छ ।

जनआस्थाका सम्पादक किशोर श्रेष्ठले पत्रकारिताको धर्म निर्वाह गर्न आग्रह गरे । उनले भने, ‘म सत्य भन्दा बाहिर जाँदैन । जोखिम मोलेको छु । तथ्यले जित्छ । स्रोतलाई भगवान मान्छु । मेरो स्रोत भगवान हुन् ।’ आफ्नो काममा निरन्तर लाग्नुपर्नेमा उनले जोड दिए । सत्तासँग कहिल्यै डराउन नहुने उनको भनाई छ ।

समाधान दैनिकका केशवशरण लामिछानेले राम्रो कन्टेन्ट र खोजमूलक समाचार दिए समस्या नआउने बताए । अनलाइनमा आएको समाचार हुबहु पत्रिकामा प्रकाशन गरेर कसले पढ्ने ? भन्दै उहाँले प्रश्न गरे ।

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न पाउने निर्णयले निजी सञ्चारमाध्यम विशेष गरी पत्रिका संकटमा परेको उनको भनाई छ । जस्तोसुकै जोखिम मोलेर भए पनि पत्रकार र मिडिया हाउसले प्रश्न गर्न रोक्न नहुने उनको जनाए । पाठकलाई आकर्षित गर्ने खालको कन्टेन्ट दिन सकेनौं कि ? भन्ने पनि प्रश्न उठेको उनको भनाई छ ।

कार्यक्रममा पत्रकार भरत केसी, सुदीप भण्डारी, माया गौतम, तिलक सुवेदी, अर्जुन ज्ञवाली लगायतले पछिल्लो समय पत्रकारितामा देखिएको चुनौतीका बारे धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार अमृता अनमोलले गरेकी थिइन् ।