पर्यटकको बसाई अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता


बुटवल –नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन सुरु भएको छ । सोही क्रममा आइतबार विभिन्न विषयमा छलफल गरिएको छ ।
‘लुम्बिनीको पर्यटन: पर्यटक र पैसा कसरी भित्राउने ?’ विषयमा आयोजित छलफलमा सहभागीले लुम्बिनीमा पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यबाहक नगरप्रमुख कल्पना हरिजनले लुम्बिनीको नाममा राज्यको लगानी अन्य ठाउँमा भइरहेको बताइन् । नगरपालिकाले पर्यटन र लगानी भित्र्याउने कुरालाई विशेष महत्व दिएको उनले बताइन् । ‘लुम्बिनीमा आउने पर्यटकलाई लुम्बिनी प्रदेशका प्रमुख महत्वपूर्ण पर्यटकीय गन्तव्यमा पुग्न अनुरोध गर्दै आएका छौं, ’उनले भनिन्, ‘यसले पर्यटकको बसाईको अवधि पनि लम्ब्याउन मद्दत पुग्छ ।’ हरिजनले लगानी गर्ने बित्तिकै तुरुन्तै प्रतिफल आउन नसक्ने कुरा बुझ्न जरुरी रहेको भनाइ उनको थियो ।
पर्यटनविद् तथा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा.हरिध्वज राईले पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण आवश्यक रहेकोमा जोड दिए । ‘पर्यटकको बसाई अवधि बढ्नेबित्तिकै पर्यटन क्षेत्रको विकास हुन्छ’ उनले भने, ‘पुस्ता अनुसार गन्तव्य फरक हुन सक्छन्’ उनले भने । गन्तव्यको छवि जति माथि उठ्छ त्यत्ति नै त्यसको ब्राण्डिङ हुने उनको भनाइ छ ।
पर्यटन व्यवसायी सागर अधिकारीले कस्तो पर्यटक भित्र्याउने ? भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको बताए । पर्यटकको बसाई अवधि बढाउने खालका कार्यक्रमहरु लुम्बिनी विकास कोषले ल्याउन सक्नु पर्ने र भैरहवा र बुटवलमा रात्रीकालीन बजार सञ्चालन गर्नु पर्ने भनाइ उनको थियो । ‘भैरहवा र बुटवलमा रात्रीकालीन बजार सञ्चालन गरिएमा पर्यटकलाई कम्तीमा दुई रात यहाँ बसाल्न सकिन्छ,’ उनले भने ।
गुणस्तरीय पर्यटक आवश्यक रहेकोमा जोड दिदै उनले ‘हामीले आफ्नो प्रोडक्ट किन बेच्न नपाउने ?’ भन्दै उनले प्रतिप्रश्न गरे । नेपालमा राम्रा शाकाहारी भोजनालय छैनन् भन्ने कुरामा कुनै सत्यता नरहेको दावी उनले गरे । नेपालको सन्दर्भमा पर्यटक भित्र्याउने र पैसा भित्र्याउने फरक विषय भएको बुझाइ उनको छ । सरकारले व्यवसायीमैत्री नीति बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेका प्रमुख मुक्ति प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको दावी उनले गरे । ‘प्रदेश सरकारले पर्यटकलाई ल्याउन र बसाई अवधि लम्ब्याउन विभिन्न जिल्लामा होमस्टेसम्बन्धी तालिम सञ्चालन गरिरहेको छ’ उनले भने
। पर्यटकीय गतिविधि बढाउन पहिलो कुरा सडक पूर्वाधार नै भएकर सडक पूर्वाधार विस्तारमा तीनै तहका सरकारले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । पर्यटकीय गन्तव्यमा लगानी बढाउनुपर्ने तर्क उनको छ ।
पत्रकार भरत के.सी.ले लुम्बिनी र बुटवलमा आउने पर्यटक फरक भएको बताए । टुर प्याकेज बनाउँदा लुम्बिनीसहित अन्य गन्तव्यलाई समेटेर बनाउन आवश्यक रहेको उनले औंल्याए । अर्का पत्रकार सुदीप भण्डारीले व्यवसायी एकातिर र सरकार अर्कोतिर रहेकोले पर्यटन क्षेत्रमा अपेक्षित विकास हुन नसकेको जनाए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारले चासो दिनुपर्नेमा उनले जोड दिए । विद्यार्थी सुशील आचार्यले यति लामो समय किन लुम्बिनीमा विद्युतीय बस थन्काइयो ? भन्दै प्रश्न गरे ।








प्रतिकृया दिनुहोस्