October 16, 2026, Friday
२०८३ आश्विन ३० शुक्रबार

रूपन्देहीका ठूला सहर नै ऐलानीमा

Advertisement

भैरहवा– पूर्व–पश्चिम अन्तगर्त महेन्द्र राजमार्ग आसपास रुपन्देहीका ठूला सहर नै जग्गाधनी पूर्जाविहीन छन् । जिल्लाको चुरेसित जोडिएका बजार क्षेत्रमा वर्षौदेखि बसोबास गर्दै आएका बासिन्दा लालपूर्जाबिहीन भएका हुन् । जिल्लाको उत्तरमा रहेका तीन सहर ऐलानीमै छन् । देवदह नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गबाट उत्तर, बुटवलको तिनाउको नदी उकास क्षेत्र र सैनामैना नगरपालिकाको मुर्गियाका अधिकांश बस्ति ऐलानीमा छन् । यस्तै, सालझण्डी बजारको अधिकांश क्षेत्र पनि ऐलानीमै पर्छ ।

Advertisement

बुटवलको तिनाउ उकास, सैनामैना र देवदहका अधिकांश क्षेत्रमा यस्तो समस्या छ । यस्ता जग्गाको स्वामित्व नरहे पनि घर–जग्गा किनबेच भइरहेको छ । यस्ता बस्तीमा स्थानीय सरकारले विद्युत, खानेपानी, टेलिफोन लगायतका सुविधा उपलब्ध गराएका छन् । सरकारको करोडौं लागतमा सडक कालोपत्र भएका छन् । स्थानीय तहले उपलब्ध गराएको तथ्यांक अनुसार सैनामैना, बुटवल र देवदहमा वर्षेनि सरदर २ हजार ५ सय घर थपिने गरेका छन् ।

देवदह नगरपालिकाका खैरेनी, चरंगे, भवानीपुर, शीतलनगर, चरंगे, मदनग्राम, केउली, सरणटारी, सटाकखोला लगायतका घना बस्ती अहिले पनि ऐलानी जग्गामा छन् । राजमार्गको उत्तरतर्फ ऐलानी र चुरे क्षेत्रमा बस्ती छन् । १ सय ३६ वर्ग किलोमिटरमा फैलिएको देवदहको ४० प्रतिशत जमिन वन र चुरे क्षेत्रको हो । नदी किनार, वन र चुरेको पेंmद अतिक्रमण गर्दै बस्ती बसाउने क्रम अहिले पनि जारी छ । यहाँ २०३९ सालदेखि नै वन सुदृढीकरण आयोजनाले वन फँडानी गरेर बस्ती बसाउन थालेको थियो ।

सैनामैना नगरपालिकाको ४५ प्रतिशतभन्दा बढी बस्ती ऐलानीमा छ । सैनामैनामा ६२ वर्ष अघि बस्ती बस्न थालेको थियो । सैनामैनाका ३ र ४ वडा अन्तर्गत मुर्गिया बजारमा २०४० सालपछि तीव्र रूपले जनघनत्व बढ्दै गएको छ । ऐलानीमै बर्सेनि ६ देखि ७ सय नयाँ घर थपिने गरेका छन् । मुर्गिया, पर्रोहा, झारबैरा, दूधराक्ष, सोरौली, कलौनी, सालझन्डी लगायतका बजार ऐलानीमा छन् । तत्कालीन राजा वीरेन्द्रले २०४० सालमा मुर्गियालाई केन्द्र बनाएर सरकारी संरचना निर्माण गर्न सहयोग गरेका थिए । मुर्गिया र आसपासमा त्यतिबेलादेखि विकास सुरु भएको थियो ।

बुटवल–११, मा तिनाउ नदी उकास क्षेत्रमा ठूलो बस्ती विकास भएको छ । उक्त बस्तीलाई स्थानीय ‘सुकुम्बासी’ सहर भन्छन् । तिनाउमा देविनगर, बुद्धनगर, मजुवा, सुन्दरनगर लगायतका घना बस्ती छन् । त्यहाँ पनि राज्यले सबै सुविधा उपलब्ध गराएको छ । नगरपालिकाले घर नक्सापास गरेर राजश्व लिने गरेको छ । तर, कसैसित पनि जग्गा धनीपुर्जा छैन् ।

‘सुकुम्बासी’का नामा ठूला भवन र पूर्वाधार निर्माण भएका छन् । ‘बजारमा रहेका घर भाडामा लगाएर पनि तिनाउको जग्गामा बसिरहेकाहरु छन्,’ बुटवल–११, का एक स्थानीयले भने, ‘सार्वजनिक जग्गामा बसेर छोराछोरी पढाउने, विदेश पठाउने र घर भाडा खाने धेरै छन् ।’ यसअघि दलले भोट बैंकका रुपमा उक्त बस्ती विकास गरेको स्थानीय बताउँछन् । त्यसैले तिनाउबाट अतिक्रमणकारी हटाउन मुस्किल रहेको उनीहरुको भनाई छ । यतिमात्र होइन्, रूपन्देहीका अधिकांश ऐलानी र चुरेक्षेत्र उखडा, सुकुम्बासी, ८ नम्बर ब्लक, वनक्षेत्र, नदीउकासका नाममा अतिक्रमित जग्गा हुन् ।