उदांगिँदै क्यासिनोको धन्दा, अगुवा भन्छन्- सेटिङमै गैरकानूनी कामले प्रसय पायो


भैरहवा– रुपन्देहीमा क्यासिनोले बद्मासी गरे, अनुगमन गरी हेर भनेर पटक–पटक संचारमाध्यमले आवाज उठाए । के गर्नु तलदेखि माथिसम्म मिलिभगतले अनुगमन गरिए पनि कारबाही खासै भएन । नेपाली प्रवेश, नियमविपरीत मिनी क्यासिनोेले टेबल राखेर जुवा खेलाउने गरेको, लाभकर लगायतका कर छली गर्ने गरेको, भारतीय मदिरा प्रयोग गर्ने गरेको भन्दै संचारमाध्यमले तथ्य खोतल्दा नियामक कानमा तेल हालेर बसे ।
तर, पछिल्लोपटक राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बलियो सरकार बनेपछि क्यासिनोको बद्मासीको रहस्य खुल्न थालेको छ । रहस्य खुल्दै गर्दा मिलेमतोमा लाखौं कुम्ल्याउने प्रहरी–प्रशासन र पर्यटन विभागको अर्को धन्दा पक्कै बाहिर आउला नै । पछिल्लो पटक रुपन्देहीका दुई क्यासिनोबाट प्रहरीले ठूलो संख्यामा जुवा खेलिरहेका नेपाली नागरिकलाई पक्राउ गरेपछि बद्मासी छताछुल्ल भएको हो ।
भैरहवाका मिनी क्यासिनोहरुमा नेपाली प्रवेश र क्यासिनोभित्र टेवल राखेर जुवा खेलाउने गरिएको तथ्यप्रमाणसहित केही समय यता पब्लिक कुराले समाचार प्रकाशन–प्रशारण गर्दै आएको छ । पब्लिक कुराले वास्तविकता सार्वजनिक गर्दा भैरहवाका क्यासिनो व्यवसायी रिसले चुर बनेका थिए । केही व्यवसायी र लगानीकर्ता धाकधम्कीमा उत्रिए ।
सञ्चारमाध्याममा वास्तविकता सार्वजनिक भएपछि जिल्ला प्रशासन, राजश्व अनुसन्धान, पर्यटन विभाग, राष्ट्र बैंकले कडाई गरेका थिए । तै पनि भैरहवाका व्यवसायीले क्यासिनोमा नेपाली प्रवेशको विषयलाई इन्कार गरिरहेका थिए । क्यासिनो सञ्चालक, प्रहरी–प्रशासन र पर्यटन विभागका जिम्मेवार अधिकारीबीचको साँठगाँठ चल्थ्यो । जसले गर्दा क्यासिनो सञ्चालक व्यवसायी नभई ‘बोस’ को व्यवहार गर्थे । यसले क्यासिनो नियमावली र सरोकारवाला नियमको धज्जी उडेको थियो ।
क्यासिनो नियमन गर्न आउने पर्यटन विभागका अधिकारी आँखा चिम्लिन्थे । भैरहवामा व्यवसायीकै खाइपिइ गरेर फर्किन्थे । त्यतिबेला सञ्चारमाध्यामले उठाएका कुरा अहिले पुष्टि भइरहेका छन् । एक महिनाको अन्तरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी रुपन्देहीको टोलीले दुईवटा क्यासिनोमा छापा मारेर नेपाली नागरिक पक्राउ गरिसकेको छ ।
दुई पटक प्रहरीले क्यासिनोबाट नेपाली नागरिक पक्राउ गर्नुले यसअघि क्यासिनोले नेपाली प्रवेश नगराउने गरेको दाबी झुठो सावित भएको छ । क्यासिनो हेर्न प्रवेश गर्नु बेग्लैं हो, तर नेपालीलाई प्रवेश गराएर जुवा खेलाउनु गैरकानूनी हो । सिद्धार्थनगर–१०, को रोयल कालिङ्गा र मणिग्राममा रहेको सीएमजी क्लब क्यासिनोबाट जुवा खेलिरहेको अवस्थामा नेपाली पक्राउ परेका हुन् । मंगलबार राति कालिङ्गा क्यासिनोबाट जुवा खेलिरहेका १५ र खेलाउने ४ जना पक्राउ परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । ‘उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो’, उनले भने ।
यसअघि सीएमजी क्यासिनोबाट पनि दर्जन नेपाली पक्राउ परेका थिए । यसले ‘बोस’ हामी भन्ने क्यासिनो संचालकको कर्तुत उदांगिएको छ । अब, टेबल राखेर लाभकर छलिरहेका क्यासिनोमाथि अनुसन्धान होला बालेन सरकार ? भनेर जनताले प्रश्न गर्न थालेका छन् । केही महिना अघि भैरहवाको निर्वाणा होटलमा संचालित क्यासिनो भित्र नेपाली र भारतीय ग्राहकबीच झगडा हुँदा गोली नै चलेको थियो ।
नाकामा सुरक्षाकर्मीले क्यासिनोका गाडी जाँच गर्नेसम्म आँट गर्दैनन् । अधिकांश क्यासिनोले ग्राहकको इन्ट्री नै गर्दैनन् र डिटेक्टर मेसिन समेत राखेका छैनन् । क्यासिनो व्यवसाय पनि कानुन अन्तर्गत चल्नुपर्छ । नियमनकारी निकायको चित्त बुझाएको हकमा क्यासिनोलाई कानुन उलंग्घन छुट दिनु कदापी हुँदैन ।
रुपन्देहीको भैरहवा पछिल्लो समय स्वदेशी र विदेशी पर्यटक आगमनको हब बनिरहेको छ । यसमा पनि भारतीय पर्यटकको रोजाइ बढी छ । मनोरंजनको खेल क्यासिनो थपिँदैछन् । यो सकारात्मक मानिएको छ । तर, कानूनको धज्जी उडाउने छुट दिनु गलत भएको स्थानीय बताउँछन् । टेबल राखेर जुवा खेलाइरहेका मिनी क्यासिनोबारे वर्तमान सरकारको आगामी भूमिका के हुन्छ, त्यो समयक्रमले बताउला ।
भैरहवा नाका मुुलुकमै धेरै स्थलमार्गी पर्यटक आवागमन हुने नाका हो । भैरहवामै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ । एकपटक गौतमबुद्ध जन्मस्थलमा पाइला टेक्न विश्वभरबाट श्रद्धालु आउने लुम्बिनी यहीँ छ । जब पर्यटन आवागामन बढ्छ, तव उनीहरुका लागि आवश्यक आवास मात्र होइन् । समय कटाउन र मन भुलाउन साहसिक खेलदेखि मनोरञ्जनका माध्यामको खाँचो पर्छ । भैरहवा आध्यात्मिक पर्यटकको विश्रामस्थल मात्र होइन । यहाँ छिमेकी मुलुक भारतबाट मनोरञ्जनका लागि आउने धेरै छन् । पछिल्लो पटक जिल्लाको पर्यटन क्षेत्र भारतीय पर्यटककै कारण धानिएको छ ।
यसरी आउने पर्यटक लक्षित गरेर रुपन्देहीमा करिब एक दर्जन क्यासिनो सञ्चालनमा छन् । क्यासिनो नियमावली २०८२ अनुसार यी क्यासिनोमा नेपाली प्रवेशमा रोक लगाइएको छ । नेपाली प्रवेश गरे–नगरेको हेर्न ६ महिनासम्मको सीसीटीभी फुटेज संग्रह गर्न भनिएको छ । क्यासिनो छिर्दा परिचय खुल्ने विवरण र कागजपत्र अनिवार्य गरिएको छ । डिटेक्टर मेसिनले जाँच गर्नुपर्छ । यी प्रायः क्यासिनोमा हुँदैन । अझ क्यासिनोमा नेपालीलाई रोकतोक छैन ।
भैरहवाका बरिष्ठ पत्रकार शम्भु पन्त कुनै पनि क्यासिनो नियममा नचलेका बताउँछन् । ‘क्यासिनोभित्र कानून सम्मत कुनै पनि काम हुँदैन, सबै निकायको सेटिङमा गैरकानूनी धन्दा मौलाइरहेको छ’, उनले भने, ‘यदि पर्यटन बिभाग र प्रहरी–प्रशासनको साँठगाँठ छ भने सबैलाई तुरुन्तै सरुवा गरि बर्खास्त गरि नयाँ इमानदार कर्मचारी ल्याउनपर्छ ।’ धेरै कर्मचारी देश र जनताको लागि भन्दा दलका झोले भएकाले क्यासिनोमा मिलेमतोले अवैध काम मौलाएको उनले बताए । ‘रुपन्देहीका माननीयले गम्भीरता लिएर यस विषयमा अध्ययन गर्नुपर्छ’, उनले भने, ‘सीसीभीटी फुटेज मात्रै अध्ययन गर्ने हो भने क्यासिनोको गैरकानूनी धन्दा बाहिर आउँछ ।’
रमेश गौतम भन्ने एकजना नागरिक अगुवाले समाजिक संजालमा लेख्दै भनेका छन्,– ‘जसले जे–जति भनेनी यहाँका क्यासिनो नेपाली ग्राहकविना चल्दैनन् । यो ध्रुवसत्य कुरा हो । एक दिन विराई छापा हान्नुपर्छ, अनि तथ्य बाहिर आउँछ ।’
सेटिङमा नै सबैजसो क्यासिनो संचालन हुने गरेको नागरिक अगुवा खेमराज भुसालले बताए । ‘सबै मिलोमतोमा सेटिङमा चल्दा रहेछन् । नत्र गैरकानूनी काम क्यासिनोमा कसरी हुनसक्छ ? लागूऔषध, हातहतियार जे ओसारे पनि क्यासिनोको गाडी छुन डराउने कस्तो सेटिङ हो ?’, उनले संजालमा प्रश्न गर्दै भनेका छन् ।








लेखकको सम्वन्धमा