बुद्ध जयन्तीका अवसरमा ‘लुम्बिनी नेशन फेस्ट–२०८३’ हुँदै


भैरहवा– बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा ‘लुम्बिनी नेशन फेस्ट २०८३’ आयोजना हुने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत शान्तिको धरोहर हुन लागेको उक्त फेस्टले धार्मिक, सांगीतिक र पर्यटन क्षेत्रलाई एकैसाथ जोड्ने अपेक्षा गरिएको छ ।
वैशाख १८ गते बुद्ध जयन्तीका दिन दिउँसो ३ बजेदेखि लुम्बिनीको गेट नम्बर ४ अगाडि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । आयोजक युनाइटेड लुम्बिनी युथ सोसाइटीका अध्यक्ष शिखर पन्थका अनुसार फेस्टलाई आकर्षक र व्यवस्थित बनाउन विशेष तयारी भइरहेको छ । उनका अनुसार यो कार्यक्रमले लुम्बिनीमा नयाँ ऊर्जा थप्ने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने विश्वास लिइएको छ । कार्यक्रममा भिक्षुद्वारा बुद्धलले दिएका ज्ञान, शिक्षा, करुणा, अहिंसा र रीसकको बारेमा चर्चा गरी केही समय ध्यान गरिने छ ।
यस वर्षको मुख्य आकर्षणका रूपमा चर्चित गायिका तिर्सना गुरुङ रहने छिन् । उनले आफ्नो ब्यान्ड ‘द कोल्याव’सँगै लाइभ प्रस्तुति दिने कार्यक्रम तय भएको छ । ‘खानी हो यामु ए कान्छा’, ‘गौरी खेतको’, ‘माया पिरती’ लगायतका लोकप्रिय गीतमार्फत दर्शकमाझ विशेष पहिचान बनाएकी गुरुङको प्रस्तुति फेस्टको केन्द्रबिन्दु छ ।
मुख्य प्रस्तुति बाहेक कार्यक्रममा अन्य चर्चित कलाकारहरूको पनि सहभागिता रहेको छ । ब्यान्ड फोसफिन्स, युवा समूह ‘द ऊर्जा’, कलाकार भीजेडएन, ब्यान्ड परिवर्तन तथा चर्चित डिजे मोनिकाले समेत आफ्नो प्रस्तुति दिनेछन् ।
बुद्धजयन्तीको अवसरसँग जोडिएकाले कार्यक्रममा धार्मिक तथा सांस्कृतिक पक्षलाई समेत विशेष प्राथमिकता दिइएको छ । लुम्बिनी जस्तो शान्ति र आध्यात्मिकताको केन्द्रमा यस्तो सांगीतिक महोत्सव आयोजना हुनु पर्यटन प्रवद्र्धनका लागि सकारात्मक कदम भएको पन्थले जनाए ।
कार्यक्रम स्थल मायादेवी गेट क्षेत्रलाई विशेष रूपमा सजाइने, सुरक्षा व्यवस्था कडा बनाइने तथा दर्शकहरूको सहज आवतजावतका लागि आवश्यक व्यवस्थापन गरिने आयोजकले जनाएका छन् । साथै, फेस्टले स्थानीय व्यवसाय, होटल तथा यातायात क्षेत्रमा समेत सकारात्मक आर्थिक प्रभाव पार्ने अपेक्षा गरिएको छ । कार्यसमिति सदस्य दामोदर अर्यालका अनुसार यो कार्यक्रमले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।
फेस्टका लागि टिकट दर एक हजार र १ हजार ५ रुपैयाँ निर्धारण गरिएको छ । दर्शकहरूले ई–सेवा मार्फत सहज रूपमा टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको अर्यालले बताए ।
लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने लक्ष्यसहित आयोजना हुन लागेको ‘लुम्बिनी नेशन फेस्ट २०८३’ लाई यस वर्षकै ठूलो सांगीतिक तथा सांस्कृतिक उत्सवका रूपमा हेरिएको छ ।








लेखकको सम्वन्धमा