November 14, 2026, Saturday
२०८३ कार्तिक २८ शनिबार

सिद्धार्थनगरको फोहोर व्यवस्थापन: किन रोइस मंगले, आफ्नै ढंगले

Advertisement

भैरहवा– यतिबेला सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापनको विषय चर्चामा छ । अहिलेसम्म नगरपालिकाले भैरहवाको डण्डा खोला किनारमा फोहोर फयाँक्दैं आएको थियो । गत शुक्रबार सर्वोच्च अदालतले डण्डा खोलामा फोहोर नफ्याँक्न आदेश गर्यो । अदालतले आदेश गर्नुपूर्व स्थानीय बासिन्दाले बारम्बार नगरपालिका पुगेर डण्डा खोलामा फोहोर नफ्याँक्न माग गरिरहेका थिए । माग सुने पनि नसुनेझैं भएको थियो ।

Advertisement

अदालतको आदेशपछि नगरपालिका फोहोर फ्याँक्ने स्थानको खोजीमा लागेको छ । त्यसअघि विकल्पका रुपमा नगरबासीलाई घरमै कुहिने र नकुहिने फोहोर छुट्यार राख्न अनुरोध गरिएको छ । यस्तै अनुरोध गरिएको स्टाटस मंगलबार सामाजिक सन्जालमा देखियो । विभिन्न पोष्टमा अर्को व्यवस्था नभएसम्म आफ्नो घर वा व्यवासयिक प्रतिष्ठानबाट उत्सर्जन हुने फोहोर बाटोमा नफ्याँकी कुहिने र नकुहिने छुट्याएर बोरा वा प्लालिष्टकका झोलामा संकलन गरेर स्वयं व्यवस्थापन गर्न भनिएको छ । यही स्टाटसको मुनी पूर्व नगर उपप्रमुख उमा काफ्लेले कमेन्ट गरेकी छन्, ‘किन रोइस मंगले, आफ्नै ढंगले ।’

नगरपालिकामा फोहोरको समस्या उब्जिएको वर्षौ भयो । यहाँ डम्पिङ साइटका लागि उपयुक्त स्थान छैन । यसअघि नगरपालिकाले सशस्त्र प्रहरीको २८ नम्बर गण नजिकै डण्डा किनारमा फोहोर फ्याँक्दैं आएको थियो । त्यहाँ पुरिएपछि ढाकछोप गरेर डण्डा पुल नजिक फ्याँकिरहेको थियो । डम्पिङ साइट निर्माणका लागि यसअघि भएका पहल पनि सफल भएनन् । सफल हुन नदिनुमा जनप्रतिनिधिकै भूमिका रहेको चर्चा हुँदैं आएको छ । त्यहीँ प्रसंग सम्झाउने गरि पूर्व नगर उपप्रमुख काफ्लेले कमेन्ट लेखेको हुनसक्ने सरोकारवाला बताउँछन् ।

सिद्धार्थ उद्योग बाणिज्य संघ र होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीले पनि सोमबार सूचना प्रकाशित गरेर आफू मातहतका प्रतिष्ठानलाई आफ्नै परिसरभित्रै सुरक्षित रुपमा फोहोर संकलन तथा व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

संगठनका अध्यक्ष राजेश महोत्राले प्रेस विज्ञप्ती जारी गरेर कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्न भनेका छन् । ‘वातावरणीय सरसफाई र स्वास्थ्य मापदण्ड पालनामा संवेदनशील रहन अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ, ‘छिट्टै फोहोर व्यवस्थापनको समस्या समाधानका लागि पहल भइरहेकाले सम्पूण व्यवसायीलाई सहयोगका लागि अनुरोध छ ।’

डण्डा खोलामा फ्याँकिएको फोहोरका कारण सबैभन्दा बढी भारतबाट आउने पर्यटक प्रभावित भएका थिए । डण्डा खोला पुल पार गर्दा नाक थुन्नु पर्ने अवस्था छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको गत शुक्रबारको संयुक्त इजलासले डण्डा खोला क्षेत्रमा फोहोर नफ्याँक्न अन्तरिम आदेश जारी गरेको थियो । डण्डा खोलामा अनियन्त्रि फोहोर डम्पिङका कारण दुर्गन्ध र प्रदूषण फैलिएकाले फोहार डम्पिङमा रोक लगाउन माग गर्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अन्जली सिलवालले गत चैत १६ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरुले प्रधानमन्त्री कार्यालय, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, गृह मन्त्रालय, लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र सिद्धार्थनगर नगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेका थिए । भैरहवाको देवकोटा चोक र नेपाल–भारत नाका बेलहियाको बीचमा रहेको खण्डा खोला पुलको छेउमा फोहोर फ्याँक्दा हिंडडुल गर्ने अवस्था थिएन ।

गत चैत १७ गते रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालले विपक्षीका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेशका लागि विपक्षीलाई छलफलमा बोलाएका थिए । छलफलपछि यस्तो अन्तरिक आदेश जारी भएको हो । नगरपालिकाले फोहोरको समस्या हल गर्न एक महिना अघिदेखि स्थानीयसित कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गर्दै आएको थियो । त्यसका लागि नगर क्षेत्रमा रहेका व्यवसायिक र सामाजिक संघसंस्थालाई पत्राचार समेत गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सर्वोच्च अदालतको आदेश आउनु पूर्व नै फोहोर व्यवस्थापनको वैकल्पिक उपायका बारेमा छलफल सुरु गरिएको बताए । यसै विषयमा मंगलबार पनि नगरपालिकामा जनप्रतिनिधिको बैठक बस्न लागेको जानकारी दिए । उक्त वैठकले निकास निकाल्ने उनको भनाई छ ।