अबको राष्ट्रवादः विदेशीलाई गाली कि आर्थिक डेलिभरी ?



नेपाली राजनीतिको एउटा सदावहार सुपरहिट थेगो छ– हामी घेराबन्दीमा पर्यौं । जब–जब मुलुकको शासन व्यवस्था सम्हालेका पात्रहरू आफ्नो कार्यक्षमता प्रदर्शन गर्न असफल हुन्छन्, तब उनीहरूले एउटा पुरानो तर धारिलो अस्त्र प्रयोग गर्छन्– बाह्य हस्तक्षेप र अदृश्य शक्तिको षड्यन्त्र ।
अस्ति मात्रै संसदको रोस्टममा उभिएर नेकपा (एमाले) का नेता रामबहादुर थापा (बादल) ले नयाँ राजनीतिक शक्तिहरूको उदयलाई बाह्य शक्तिको प्रयोग र घेराबन्दीको संज्ञा दिनुभयो । उहाँको यो वक्तव्यले के पुष्टि गर्छ भने, नेपाली राजनीतिका शीर्ष पात्रहरू अझै पनि २०औँ शताब्दीको पीडित मानसिकताबाट मुक्त हुन सकेका छैनन् । तर, बदलिँदो विश्व परिवेश र सचेत नागरिकको कसीमा अब यो पीडित राजनीतिको म्याद गुज्रिसकेको छ । यद्यपि एमाले सचिवालय बैठकले थापाको भनाई सच्याएको छ ।
राजनीतिक चिन्तकहरू भन्छन– जब शासकहरू आन्तरिक रूपमा असफल हुन्छन् र जनताको प्रश्नबाट डराउँछन्, तब उनीहरू राष्ट्रवादको चर्को नारा लगाउन थाल्छन् । नेपालको सन्दर्भमा पनि केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र बादल जस्ता नेताहरूले राष्ट्रवादलाई एउटा इमोसनल ब्ल्याकमेलिङको औजार बनाएका छन् ।
विश्व इतिहासमा तानाशाहहरूले आफ्नो शक्ति जोगाउन सधैँ एउटा काल्पनिक शत्रु खडा गर्ने गर्छन् । नेपालमा पनि सुशासन, रोजगारी र आर्थिक समृद्धिको मुद्दाबाट जनताको ध्यान भड्काउन देश खतरामा छ वा हामीलाई काम गर्न दिइएन भन्ने भाष्य निर्माण गरिन्छ । यो वास्तवमा आफ्नो असक्षमता लुकाउने अन्तिम अस्त्र बाहेक केही होइन ।
हाम्रा छिमेकी र अन्य एसियाली देशहरू—थाइल्यान्ड, सिंगापुर, यूएई, दक्षिण कोरिया र भुटानको विकासक्रमलाई हेरौँ । यी देशहरू कुनै समय नेपालभन्दा पनि आर्थिक र सामाजिक रूपमा पछाडि थिए । कतिपय त भीषण युद्ध र बाह्य शक्तिहरूको प्रत्यक्ष क्रिडास्थल नै बनेका थिए ।
यदि विदेशी हस्तक्षेपले मात्र विकास रोकिने हुन्थ्यो भने आज दक्षिण कोरिया प्रविधिको केन्द्र र सिंगापुर विश्वकै आर्थिक हब बन्ने थिएनन् । दक्षिण कोरियाले हन नदीको चमत्कार गर्दा त्यहाँ बाह्य प्रभाव थिएन र ? पक्कै थियो । तर त्यहाँको नेतृत्वले छिमेकीलाई सरापेर समय फाल्नुको सट्टा बाह्य चासोलाई ब्यस्थापन गर्दै लगानी र प्रविधि भित्र्याउने अवसरमा बदल्यो । नेपालमा भने नेतृत्वले आफ्नो नीतिगत अस्पष्टता र भ्रष्टाचार लुकाउन विदेशीले दिएनन् भन्ने रेडिमेड ओत लाग्ने गरेका छन् ।
अहिलेको पुस्ताका लागि राष्ट्रवाद भनेको केवल सिमानामा उभिएर छिमेकीलाई गाली गर्नु वा आफूलाई महाभारतमा अभिमन्यु जस्तै घेराबन्दीमा परेको देखाउनु होइन । अबको राष्ट्रवाद भनेको आर्थिक आत्मनिर्भरता, सुशासन र नागरिकको जीवनस्तरमा सुधार हो ।
जब हाम्रा अर्बौँ खर्चिएका गौतम बुद्धजस्ता अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण क्षमतामा चल्न सक्दैनन् र हामी प्राविधिक समस्या देखाएर उम्किन खोज्छौँ, तब दोष विदेशीलाई दिएर पुग्दैन । यदि हामीले लुम्बिनी, चितवन र पोखरा जस्ता पर्यटकीय हबलाई जोड्ने गरी डिजिटल पूर्वाधार र सुशासनमा सुधार गरेको भए, के कुनै विदेशी शक्तिले हाम्रो ढुकुटीमा डलर आउन रोक्न सक्थ्यो र ? साँचो राष्ट्रवाद गफमा होइन, डेलिभरीमा खोजिनुपर्छ ।
संसदमा बादलले नयाँ शक्तिहरूलाई प्रयोगशालाको संज्ञा दिँदै गर्दा एउटा कुरा प्रस्ट भएको छ– पुराना नेताहरू नयाँ पुस्ताको कार्यशैली र भिजनसँग अत्तालिएका छन् । जनताले जब प्रश्न गर्न थाल्छन्, त्यसलाई बाह्य षड्यन्त्र देख्नु भनेको लोकतान्त्रिक चेतना माथिको उपहास हो । अबको मतदाता रेडियो र पर्चाको भरमा मात्र छैन । युवाहरूले सोधिरहेका छन्– म्यानमार र भुटानले त आफ्नो सामथ्र्य पहिल्याउन सक्छन् भने, नेपालका नेताहरू सधैँ किन पीडित मात्र भइरहन्छन् ? के बाह्य शक्तिले नै हामीलाई विश्वविद्यालयमा राजनीति गर्न र कर्मचारीतन्त्रमा भागबन्डा गर्न उकासेका हुन् ?
सत्तामा पुग्दा विदेशी मित्र र सत्ताबाट झर्दा विदेशी हस्तक्षेप देख्ने नेतृत्वको दृष्टिदोष नै नेपालको मुख्य अवरोध हो । अबको राजनीति हामीलाई कसैले केही गर्न दिएन भन्ने रक्षात्मक शैलीबाट निस्केर हामीले यो गरेर देखायौँ भन्ने रचनात्मक बाटोमा लाग्न जरुरी छ ।
भुटानले जस्तै आफ्नो पर्यावरण र जलविद्युत्मा स्पष्ट नीति लिने, थाइल्यान्डले जस्तै पर्यटनलाई आर्थिक मेरुदण्ड बनाउने र सिंगापुरले जस्तै सुशासन कायम गर्ने साहस अबको नेतृत्वले देखाउनुपर्छ ।
घेराबन्दीको डम्फु बजाएर जनताको ध्यान मुख्य मुद्दाबाट भड्काउने राजनीति अब एक्सपायर्ड भइसकेको छ । घेराबन्दीमा देश परेको छैन, हाम्रा नेताहरूको सोच र कार्यक्षमता परेको छ । यदि हाम्रा पुराना नेताहरूले समयमै यो वास्तविकता बुझेनन् भने, उनीहरूलाई इतिहासले होइन, वर्तमानकै सचेत पुस्ताले किनारा लगाइदिनेछ । साँचो राष्ट्रभक्ति भावुकतामा होइन, परिणाममा खोजिनुपर्छ । अबको नेतृत्वलाई प्रश्न छ– तपाईँ घेराबन्दीको कथा सुनाएर समय बर्बाद गर्नुहुन्छ कि विकासको परिणाम देखाएर प्रमाणित गर्नुहुन्छ ?
लेखक पौडेल भैरहवामा क्रियाशील पत्रकार हुन् ।
लेखकका थप विचारहरू पढ्नुस्
कमरेडहरूलाई चिट्ठीः एमाले बचाउने कि नेतृत्वको अहंकार जोगाउने ?








लेखकको सम्वन्धमा