घरदैलोको प्रसुति केन्द्र बन्द भएपछि निराशा


भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित बगाहा स्वास्थ्यचौकीमा रहेको प्रसुति केन्द्र बन्द भएपछि स्थानीय निराश बनेका छन् । केन्द्र बन्द भएपछि त्यहाँ रहेका बेड र उपकरण खेर गएका छन् । गाउँपालिकाले अस्थायी र करार दरबन्दीका कर्मचारी कटौंती गरेपछि प्रसुति केन्द्र बन्द भएको हो ।
केन्द्रमा प्रसुति सेवाका लागि पालिकाले करारमा दुई जना तालिम प्राप्त नर्स, एक–एक जना स्वीपर र चौकिदार राखेको थियो । कर्मचारी कटौंती गरिएपछि कार्तिक २ गतेबाट प्रसुति सेवा ठप्प भएको हो । उक्त स्वास्थ्य चौकीमा ७ वर्षदेखि यस्तो सेवा उपलब्ध भइरहेको थियो ।
बगाहा स्वास्थ्यचौकी प्रमुख बुद्धीप्रसाद पन्थका अनुसार गत साउनमा नर्सिङतर्फ शान्ता ज्ञवाली, खेमकुमारी महतो, स्वीपर विपतकुमारी नाउ र चौकीदार सुड्डु लोहारको करार अवधि थप भएको थियो । यी कर्मचारीको पारिश्रमिकका लागि पालिकाले वार्षिक २० लाख खर्च गरिरहेको थियो । गत असोजमा दुईपटक बसेको कार्यपालिकाको बैठकले खर्च कटौतीका लागि जनाउँदैं करार सम्झौंता रद्ध गरेपछि प्रसुति केन्द्र बन्द भएको पन्थले जनाए । कर्मचारी नभएपछि प्रसुति केन्द्रमा रहेका बेड लगायत उपकरण खेर गएका छन् । स्वास्थ्यचौंकीबाट प्रसुति गराउनेबाहेक गर्भवती जाँच लगायत सेवा निरन्तर रहेको उनले बताए ।
लुम्बिनी प्रदेश सरकारले तराईका जिल्लामा सञ्चालित प्रसुति केन्द्रमा महिनामा कम्तिमा ५ जना सुत्केरी गराउनुपर्ने नियम लागू गरेको छ । ‘यो प्रसुति केन्द्रले कहिल्यैं लक्ष्य भेटाएन,’ उनले भने, ‘यहाँबाट २–३ किलोमिटर दूरीमा भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज रहेकाले पनि प्रसुति केन्द्रमा खर्च धेरै उपलब्धि कम देखियो ।’ तर, स्थानीयले महिलाले घरदैलोमा प्राप्त सुविधा बन्द गर्दा आफूहरु मर्कामा परेको बताएका छन् । उक्त वडाका सबै महिलाले सदरमुकाम पुगेर सेवा लिन नसक्ने गर्भवतीको भनाई छ । जटिल अवस्था भएका बाहेक महिलाले सहज रुपमा पाइरहेको सेवा बन्द गरिनु अन्यायपूर्ण भएको स्थानीयले बताएका छन् ।
स्वास्थ्यचौकीका कर्मचारीले पनि तीन वर्षदेखि वडाका कुनै पनि घरमा सुत्केरी नभएको बताए । जटिल अवस्था भएर ठूला अस्पताल रिफर गर्नुपर्नेबाहेक गर्भवतीले प्रसुति केन्द्रबाट सेवा लिइरहेका थिए । ‘अब घरमै सुत्केरी हुने बढ्छन्,’ स्वास्थ्यचौंकीमा कार्यरत एक महिला कर्मचारीले भनिन्, ‘घर नजिकै हुँदा अप्ठयारो नमानेर आउँथे ।’
स्थानीयले घर नजिकै प्रसुति सेवा पाउँदा सहज भएको बताए । ‘हामी गरिब मान्छे कसरी मेडिकल कलेजमा गएर बच्चा पाउन सक्छौं,’ रोहिणी–१, कि राजकुमारी कोहारले भनिन्, ‘प्रसुति केन्द्र फेरि सञ्चालन भयो भने खुसी हुन्छौं, खुल्नैपर्छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले गत असोज २२ र २९ गते बसेको कार्यपालिका बैठकले स्वीकृत दरबन्दीभन्दा बढी भएका कर्मचारी कटौंती गर्ने निर्णय गरेको बताए । दुईपटक बसेको कार्यपालिका बैठकपछि अस्थायी र करार सम्झौता गरेर नियुक्त गरिएका ३९ कर्मचारी हटाइएको उनले बताए । पालिकाले वार्षिक सेवा प्रवाहका आधारमा कर्मचारी कटौती गरिएको जनाएको छ । स्थानीयले भने पालिका अध्यक्ष बिद्याप्रसाद यादवले आफ्नो अनुकुल नभएका कर्मचारी कटौती गरेको भन्दै बिरोध जनाएका छन् ।








प्रतिकृया दिनुहोस्