June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

ह्यामर थेरापी सिकाउँदै थाई राजकीय विहार

Advertisement

लुम्बिनी- रुपन्देहीको लुम्बिनीमा ६ दिने ह्यामर थेरापी शिबिर सञ्चालन गरिएको छ । उक्त शिबिरमा स्थानीय युवालाई ह्यामर थेरापी तालिम प्रदान गरिएको छ । भने, त्यही पद्दतीबाट स्थानीयको उपचार पनि गरिएको छ । यस पद्दतीमा थाई प्रशिक्षकले ह्यामर अर्थात् हथौडाले शरिरमा ठाकठुक गर्छन् । थेरापिष्टले ह्यामरले हान्दै दुखाइ ठिक पार्ने गर्छन् । यसैलाई ह्यामर थेरापी भनिएको हो ।

Advertisement

शारीरिक दुखाइ र नसाको समस्या निको गर्न मानिस हजारौं लाखौं रुपैयाँ खर्च गर्छन् । मानिसहरू टाढाटाढासम्म पुग्छन् । अनेकौं दुःखकष्ट सहन्छन् । दुखाइ निको नभएर निरास मानेर बस्छन् । हो, यस्तै निराशजनलाई बुद्ध जन्मस्थल लुम्बिनीमा परम्परागत थाई हर्बल पद्धतिमा आधारित ह्यामरले हान्दै ५८ जना बिरामीको निःशुल्क उपचार गरी निको बनाइएको छ । १८ स्थानीयलाई ६ दिनसम्म सिकाएर प्रशिक्षक समेत तयार गरिएको छ ।

कोठामा लहरै बसेका छन् थाई थेरापी चिकित्सक । उनीहरू आल्हा र आधुनिक उपकरणको साटो हातमा ह्यामर र ससाना काठका विभिन्न साइजका टुक्रा लिएर ठोकठाक गरिरहेका छन् । मानिसका दुखाइको पीडा भएका विभिन्न अंगमा ह्यामरले बिस्तारै हान्दै उपचार गरिरहेको दृश्य त्यहाँ देखिन्छ । थाई परम्परामा आधारित प्राकृतिक हर्बल चिकित्सा उपचार पद्धतिबाट उपचार गरिएको हो । थाईहरू यसलाई ताअक सेन् सी फ्राई विधि भन्छन् ।

ढाड, कम्मर, घाँटी, घुँडा र हातखुट्टा दुख्ने, झमझमाउने तथा नशाका समस्या भएकालाई यो विधि निक्कै लाभदायक भएको चिकित्सक बताउँछन् । यो पद्धतिबाट उपचार गर्दा कुनै साइड इफेक्ट हुँदैन । हथौडाले सानो काठको टुक्रालाई हानेर समस्या भएको शरीरका विभिन्न भागमा प्रेसर दिइन्छ । हड्डीतिर नभई मासुको भागमा हथौडाले हानिन्छ । समस्याको अवस्था अनुसार बिस्तारैदेखि अलि जोडले पनि हानिन्छ ।
हातखुट्टा झमझमाउँदा र ब्याकपेन हुँदा हिँडडुल गर्न र उठ्न बस्न निकै गाह्रो भइरहेकामा यो उपचार पद्धतिबाट निकै सहज भएको भिक्षु महासंघका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए । अर्बुद रोगको औषधि सेवनले थलिएको जीवनलाई ह्यामर थेरापीले लाभ दिएको उनले बताए ।

बिस्तारै हान्दै र विभिन्न किसिमका मसाज गर्दै थाई चिकित्सकले शरीरका विभिन्न अंगमा रक्त संचारको सहज प्रभाव गराउँछन् । विभिन्न किसिमका शारीरिक ब्यायाम सिकाउँछन् । यो उपचार पद्धतिबाट तत्काल लाभ हुन्छ । शारीरिक रूपमा स्फुर्ति भई दिगो रूपमा फाइदा हुने हुँदा थाइल्यान्डमा यो उपचार पद्धति लोकप्रिय रहेको चिकित्सक बताउँछन् । यहाँ पनि बिरामीले शीघ्र लाभ पाएर तत्काल आराम मिलेर खुसीको अनुभूति गरेको स्वर्णभूमि क्लिनिक फर थाई ट्रेडिसन मेडिसिनका डा. च्याइयान सिरिसातकुलले बताए ।

स्वर्णभूमि क्लिनिक फर थाई ट्रेडिसन मेडिसिन, थाइल्यान्डको सहयोगमा थाई राजदूताबास र लुम्बिनीस्थित रोयल थाई मोनोस्ट्रीद्वारा आयोजित ६ दिने शिविरमा ७ सदस्यीय थाई चिकित्सकको टोली बिरामीको उपचार गर्न लुम्बिनी आएको थियो । शिविरमा १५ महिला, २० पुरुष, ८ भिक्षु र १५ विदेशी नागरिकको निःशुल्क उपचार गरिएको थियो । कतिपयलाई निःशुल्क प्राकृतिक औषधि पनि दिइएको थियो । १८ जना स्थानीयलाई उपचारका आधारभूत विधि सिकाएर प्रशिक्षण पनि दिइएको थियो ।