मोतिपुर–सेमलार खानेपानी चुनावः रास्वपाको प्यानलद्वारा कांग्रेस–एमाले गठबन्धन क्लिनस्वीप


भैरहवा– रुपन्देहीको बुटवलस्थित मोतिपुर–सेमलार खानेपानी संस्थामा गठबन्धन गरेर निर्वाचन भयो । तर, नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले पराजित गरेको छ । राजनीतिक रुपमा झांगिँदै गएका खानेपानी, उपभोक्ता समिति, वन समिति जस्ता निर्वाचन पछिल्ला वर्षहरुमा राजनीतिक दल निकटले प्यानल नै बनाएर चुनाव गराउँदै आएका छन् ।
बुटवलको खानेपानी चुनावमा भने परम्परागत दलको गठबन्धनलाई रास्वापाले क्लिनस्वीप गरेर पूराना दलको बर्चस्व तोडेको छ । यसले पूराना दलहरुप्रति उपभोक्ता समितिहरुमा समेत वितृष्णा पैदा भएको देखाउने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
मोतिपुर–सेमलार खानेपानीको चुनावी परिणाम अनुसार १४ सदस्यीय कार्यसमितिमा उपााध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद रास्वपाले जितेको छ । शुक्रबार राति सम्पन्न मत परिणाम अनुसार अध्यक्षमा रास्वपाका कृष्ण थापाले ८८ मत पाएर निर्वाचित हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका नरबहादुर मल्ल ७५ मत पाएर पराजित भए । मल्ल बुटवल उपहानगरपालिका– १४ का कांग्रेस वडा सभापति समेत हुन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर पौडेल, उपाध्यक्षमा शंकर पौडेल, सचिवमा मधुप्रसाद घिमिरे, कोषाध्यक्षमा छत्रबहादुर खत्री र सहसचिवमा पृथबहादुर थापा निर्वाचित भएका छन् । यस्तै महिला सदस्यहरुमा राधा कार्की खँंण र सीता बस्नेत, अन्य सदस्यहरुमा राजकुमार गौतम र हरिप्रसाद खनाल विजयी भए भने लिलाधर दंगोरिया थारु गोलाप्रथाबाट निर्वाचित भए ।
यस्तै, आन्तरिक लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे तथा सदस्यमा लक्ष्मण सेन निर्वाचित हुँदा महिला सदस्यमा सरस्वती बुढा गोलाप्रथाबाट निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता जोखबहादुर खत्रीले बताए ।
बुटवल उपमहानगरपालिकाको वडा नं १४, १५ र १९ का १७ सय उपभोक्ता रहेको निर्वाचनमा १० धारा बराबर एकजना परिषद् सदस्यका दरले १७१ मतदाता थिए । रास्वपाबाट निर्वाचित सचिव मधुप्रसाद घिमिरेले आफूहरुले उपभोक्ताको संस्थामा दुई ठूला दलले सिन्डिकेट नगरी सबै दलको सहमतिमा नेतृत्व चयनको प्रस्ताव राख्दा १० मत पनि नभएको दल भनेर होच्याएपछि आफूहरुले चुनावी प्रतिस्पर्धा गरेको जनाए । रास्वपाको प्यानललाई दलगत समर्थन कसैको नरहेको तर परिवर्तनशील मतदाताको समर्थन रहेको उनले बताए ।








प्रतिकृया दिनुहोस्