July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

सर्वेक्षण भन्छ- नेपालमा ८० प्रतिशत इ–रिक्सा चालकसँग लाइसेन्स छैन

Advertisement

भैरहवा– विद्युतीय इ–रिक्सा चल्ने तराईका जिल्लाहरुमा दुई संस्थाले गरेको सर्वेक्षणमा ८० प्रतिशत चालकहरुसँग चालक अनुमती पत्र (लाइसेन्स) नभएको पाइएको छ । विद्युतीय सिटी रिक्सा संचालन हुने शहरहरुमा विकल्प एन्ड अल्टरनेटिभ र उन्नत नीति इन्ष्टिच्युटले गरेको सर्वेक्षणका क्रममा अधिकांश सिटी रिक्सा चालकले लाइसेन्स विनै चालकको काम गर्दै आएका हुन् । जसले गर्दा दुर्घटना लगायतका घटनामा चालकहरु समस्यामा पर्ने गरेको अध्ययन टोलीको निष्कर्ष छ ।

Advertisement

विकल्प एन्ड अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले विभिन्न जिल्लाका ९६३ जना इ–रिक्सा चालकहरुमा गरिएको सर्वेक्षणले लाइसेन्सविनै सहरमा इ–रिक्सा संचालन गरिँदै आएको बताए । ‘लाइसेन्स नहुँदा सिटी रिक्सा चालकहरु दुर्घटनामा पर्दा जेल जानुपर्ने अवस्था बढी देखिएको छ, अर्कातर्फ क्षतिपूर्तिसमेत तिर्न नसक्दा पेसाबाट विस्थापित हुने अवस्था हामीले अध्ययनका क्रममा पायौं’, उनले भने, ‘हाम्रो अध्ययनले अब लाइसेन्स दिने प्रक्रिया सहज गर्नुपर्छ भन्ने नै हो ।’

सिटी रिक्सा ठुलो र जटिल सवारीसाधन नभएकाले लिखित परीक्षाको व्यवस्था हटाई प्रशिक्षण र ट्रायल परीक्षा मार्फत् अनिवार्य लाइसेन्स दिने व्यवस्था गर्न सके यो समस्या समाधान हुने सर्वेक्षणको निचोड छ । सिटी रिक्साको बढ्दो संख्यासँगै दर्ता, लाइसेन्स, इन्स्योरेन्स र ट्राफिक व्यवस्थापन लगायतका विषयमा समस्याहरु देखिँदै आएको अधिकारीले जनाए ।

अधिकांश सिटी रिक्सा चालकहरु निरक्षर हुँदा ट्रायल पास गरे पनि लिखित परीक्षा पास गर्न नसक्ने गरेको पाइएको छ । ‘यही कारण उनीहरु लाइसेन्स लिनबाट वञ्चित भइरहेको हामीले सर्वेक्षणका क्रममा पायौं’, उनले भने । उनले अब सबैं सिटी रिक्सा चालकलाई लाइसेन्स दिन लिखित परीक्षाको ठाउँमा प्रशिक्षण जरुरी गर्नुपर्ने बताए । मुलुकका सात प्रदेशमध्ये कोशी प्रदेशले यस्तो व्यवस्था सुरु गरिसकेको अधिकारीको भनाई छ । अब, अन्य प्रदेशले समेत यो व्यवस्था लागू गर्नुपर्ने उनले जनाए ।

उनले आफूहरुले सर्वेक्षणपछि सरकारलाई सुझाव दिने, चालकहरुसँग अन्तरक्रिया र प्रशिक्षण संचालन गर्ने, लाइसेन्स लिनका लागि प्रोत्साहन गर्ने, सरोकारवाला, स्थानीय तह, प्रदेश सरकार, सामाजिक अगुवा र बुद्धिजीवीसँग छलफल गर्ने काम गरेको जनाए ।

उन्नत नीति इन्ष्टिच्युटका निर्देशक सुरेश सापकोटाले रुपन्देहीको भैरहवामा मात्रै ६२ प्रतिशत रिक्सा चालकहरुसँग सवारी चालक अनुमति पत्र नरहेको जनाए । उनका अनुसार भैरहवाका १५० बढी रिक्सा चालकहरुसँग गरेको सर्वेक्षणमा ६२ प्रतिशत बढीसँग चालक अनुमति पत्र नरहेको पाइएको हो । यस्तै, कोशी प्रदेशमा झन्डै ७८ प्रतिशत चालकहरुसित लाइसेन्स छैन । मधेश प्रदेशमा ८१ प्रतिशत र लुम्बिनीको नेपालगन्जमा मात्रै ९६ प्रतिशत भन्दा बढी चालकहरुसित लाइसेन्स नरहेको सर्वेक्षणले देखाएको छ ।

दुई संस्थाकाले गरेको अध्ययनका क्रममा लाइसेन्स नभएकै कारण कयौं चालक जेल जानुपर्ने, इन्स्योरेन्स नपाउने, ट्राफिक जरिवानामा पर्ने, क्षतिपूर्ति नपाउने र पेसाबाटै विस्थापित हुनुपर्ने अवस्था आएको छ भने परिवारिक जीविकोपार्जन समेत जोखिममा पर्ने गरेको छ । अध्धयनका क्रममा पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका धेरैले सिटी रिक्सा संचालन गर्दै आएका छन् । मुलुकभर सिटी रिक्सा २ लाख बढी संचालित छन् भने यसमा १० लाख परिवार आश्रित रहेको जनाइएको छ । दुई संस्थाले भैरहवास्थित लुम्बिनी प्रेस क्लबको कार्यालयमा पत्रकार सम्मेलन गरी सर्वेक्षणको तथ्यांक, उद्देश्य र आगामी नीति सार्वजनिक गरेका हुन् ।