July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

प्रयागराजकी ‘भाइरल गर्ल’ फिल्म छायाङ्कनका लागि नेपालमा

Advertisement

भैरहवा– गत वर्ष भारतको प्रयागराजस्थित कुम्भमेलामा ‘भाइरल गर्ल’ को रुपमा चर्चित किशोरी मोनालिसा भोस्लेसहितको टिम लिएर बलिउड फिल्म इण्डष्ट्रिजका निर्माता तथा निर्देशक सनोज मिश्रा हिन्दीसिनेमा छायाङ्कनका लागि नेपाल आइपुगेका छन् ।

Advertisement

चितवन र पोखरामा छायाङ्कन गरिने बलिउड फिल्म ‘डायरी अफ मनिपुर’ का लागि कलाकार र अन्य प्राविधिकसहित एक सय भन्दा धेरैको संख्यामा उनीहरु भैरहवा नाका हुँदै नेपाल आइपुगेका हुन् ।

भैरहवा आएपछि लुम्बिनी प्रेस क्लवको कार्यालयमा कलाकारसहित आएका निर्देशक मिश्राले ‘जय नेपाल’ को उद्घोष गर्दै आफूले  पछिल्लो पटक निर्माण गर्न लागेको फिल्म ‘डायरी अफ मनिपुर’ को वारेमा सार्वजनिक गरे ।

‘मेरो र नेपालको सम्बन्ध धेरै घनिष्ठ छ । आज म जुन अवस्था र हैसियतमा छु, त्यो सवै नेपालको कारणले हो’, मिश्राले भने, ‘नेपाल र भारत बिचको सम्बन्ध विश्वमैं अनुपम छ । दुवै देशको रहनसहन संस्कृति मिल्दो भएकाले छुट्याउन पनि मुश्किल हुन्छ की हामी कहाँ छौं भनेर ? ।’

सनोज मिश्रा, बलिउड फिल्म इण्डष्ट्रिजमा चर्चित नाम हो । उनले अहिलेसम्म १७ वटा हिन्दी फिल्मको निर्माण गरिसकेका छन् । उनका गान्धीगिरी र डायरी अफ वेष्ट बँगाल सफल फिल्म हुन् ।

मिश्राका अनुसार डायरी अफ मनिपुर एउटा लभ स्टोरी फिल्म हो । जसमा नायिकाको भूमिकामा मोनालिसा छिन् । उनी एउटा ग्रामीण भेगकी साधारण युवती हुन्छिन् । हिरोको रुपमा छन्, अभिषेक त्रिपाठी । अभिषेकलाई उनका बुवाले राजनीतिक नेताको रुपमा स्थापित बनाउन चाहन्छन् । तर, सामाजिक सञ्जालको माध्यमबाट मोनालिसासँग चिनजान भइ प्रेममा परेपछि उनी नेता नबनी मोनालिसासँग भाग्छन् ।

अभिषेकको शिक्षकको भूमिकामा कलाकार अमितकुमार राव छन् । राव बलिउड फिल्म इण्डष्ट्रिजमा स्थापित कलाकार हुन् । भने, मोनालिसा र त्रिपाठीले पहिलो पटक फिल्म डेब्यू गर्र्दैछन् ।

मोनालिसाले पहिलो पटक नेपाल आउन पाउँदा आफू अति खुशी र उत्साहित भएको बताइन् । अमितले नेपाल आएर पशुपतिनाथको दर्शन गर्ने आफ्नो सानैदेखिको इच्छा अव साकार हुन लागेको भन्दै खुशी व्यक्त गरे ।

निर्देशक मिश्राले मोनालिसालाई पहिलो पटक कुम्भ मेलामा देखेपछि नै फिल्म क्षेत्रमा ल्याउने उद्घोष गरेका थिए । त्यही उद्घोष अनुरुप उनले मोनालिसालाई डायरी अफ मनिपुरबाट फिल्म क्षेत्रमा प्रवेश गराउन लागेका हुन् ।

करिव ८० प्रतिशत छायाङ्कन चितवन र पोखरामा रहेको यो फिल्मको अन्य छायाङ्कन भारतको दिल्ली लगायतका क्षेत्रको हुनेछ । फिल्म २० दिन चितवन र १० दिन पोखरामा छायांकन गरिनेछ । फिल्म आउँदो फेब्रुअरीसम्ममा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

मोनालिसाका बुवा जयसिंह भोस्लेले १६ वर्षीया मोनालिसाले अहिलेसम्म तीनवटा फिल्ममा हिरोइनको भूमिकामा काम गर्ने अवसर पाएको बताए । निर्देशक मिश्रा, मोनालिसासहितको भारतीय कलाकारको टोलीलाई लुम्बिनी पे्रस क्लवका अध्यक्ष कमल रायमाझी र महासचिव प्रकाश न्यौपानेलषयतले क्लबको कार्यालयमा स्वागत गरेका थिए ।