तेरापंथ जैन समाजद्वारा भैरहवामा रक्तदान, ५५ युनिट रक्त संकलन

भैरहवा– तेरापंथ जैन समाज भैरहवाले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार भैरहवास्थित मारवाडी सेवा संघमा आयोजित रक्तदानमा ५५ युनिट रक्त संकलन भएको अध्यक्ष अजय पारखले जानकारी दिए । तेरापंथको आयोजना, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोग र मारवाडी सेवा संघ, भैरहवाको संयोजनमा रक्तदान कार्यक्रम गरिएको हो ।
तेरापंथले विगत पाँच वर्षदेखि ‘सेवा–संस्कार–संगठन’को त्रिआयामी उद्देश्यका साथ मानवताका लागि विविध सेवामा काम गर्दै आएको छ । मानवीय सेवा अन्तर्गत रक्तदान गरिएको संस्थाले जनाएको छ । समाजका अध्यक्ष पारखले आज जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त सहीदहरुको सम्झनामा राष्ट्रिय विदा समेत रहेकाले आफूहरुले आयोजना गरेको रक्तदान ती सबै सहीदहरुप्रति समर्पण गरिएको जनाए ।
‘हाम्रो रक्त, हाम्रो लागि’ भन्ने नारासाथ आयोजित रक्तदानले रगत अभावमा समस्या भोगिरहेका नेपालीहरुको ज्यान बचाउन सहयोग पुग्ने कार्यक्रम संयोजक रवि पारिखले बताए । उनले समाज सेवामा तेरापंथले खेलेको भूमिका स्मरणीय रहेको जनाए । रक्तदानमा स्थानीय युवाहरु, उद्योगी–व्यवसायीहरुले रक्तदान गरेका थिए ।
आयोजकले आज नेपालभरि महोत्सवको रूपमा रक्तदान गरिएको जनाएका छन् । आउँदा दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने अध्यक्ष पराखले बताए ।
प्रतिकृया दिनुहोस्