July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

तीजको धार्मिक र सांस्कृतिक महत्व

भैरहवा– खास गरी हिन्दू नारीहरू विवाहित वा अविवाहित सबैले तीज पर्वलाई मनाउने र धारण गर्न सक्छन् । भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रूपमा पनि लिइन्छ । विशेषतः भगवान शिवकै पुजा र आरधाना गरी मनाइने हरितालिका तीजको व्रतले पतिको आयु, आरोग्य, ऐश्वर्य तथा स्वस्थ्य राम्रो र सम्मुनत हुने विश्वास परापूर्वकालदेखि नै रहिआएको छ ।

Advertisement

स्वयं माता पार्वतीले पति शिवलाई पति पाउँ र शिवको स्वास्थ्य, आयु एबम ऐश्वर्यमा कुनै बाधा नपुगोस् भन्ने दृढ चाहना राखेर व्रत उपासमा गरिएकाले सोही प्रसंगले निरन्तरता पाइरहेको विश्वास व्रतालु एवं धर्मालम्बिहरूमा रहनु स्वभाविक हो । यस्तो पवित्र उद्देश्य र संकल्प रहेको हरितालिका तीजको नामले प्रख्यात पर्व हो ।
विशेषतः यस पर्वलाई चेलिबेटी तथा दिदीबहिनी पुनर्मिलनको आनन्दमय उत्सबको रूपमा मनाउने गर्छन् ।

Advertisement

लामो समयसम्म भेटघाट नभएका चेलिबेटि माइतीमा भेला भएर सुख दुःख, उन्नति प्रगति आदिका बारेमा चर्चा परिचर्चा गर्दै दाजु–भाई, माता पिता सबैको सामूहिक उल्लासलाई उल्लासमय रूपमा माइतीको गाउँ, ठाउँ र देशमा मनाउनु पर्ने पर्वको रूपमा तीज छ । हरितालिका तीज संकल्पको पर्व हो । उपबास र उपासनाको पर्व हो । संस्कृतिलाई विकृती होइन सुसंस्कृत बनाउने संकल्प सहितको पर्व हो । हरितालिका तीजको प्रथम दिन अर्थात् भाद्र शुक्ल द्वितीयमा दर खाने दिन हो ।

शरीरलाई पोषकयुक्त, गुणस्तरीय एवं स्वास्थवर्धक वस्तु खाएर मनाउनु राम्रो हुन्छ । दोस्रो दिन हरितालिका तीज भाद्र तृतीय, मुख्य व्रत र उपासनाको दिन हो । उप र वास, उप अर्थात् नजिक र वास भनेको बस्नु हो । कसका नजिक बस्नु ? भगवानका नजिक बस्नु सत्यको निकट बस्नु असत्य, अहङ्कार विकृती र विसंगतिबाट टाढा रहनु नै उपबासको सहि अर्थ र व्रतको सार्थकता हुने भएकाले शान्त, प्रसन्न एवम दृढ संकल्पका साथ हरितालिकाको व्रत बस्नाले सबैका लागि हितकार हुन्छ ।

शरीर, मन र वचनले शुद्ध भएर दियो, कलश गणेश स्थापित गरी उमामहेश्वरको पूजा गरी आफ्नो संकल्पलाई सार्थक पार्न गरिने व्रत नै हरितालिका तीजको प्रमुख व्रत मानिन्छ । ‘उमामहेश्वरसामुज्य सिद्धेये हरितालिका व्रतमहं करिस्ये’ भन्ने संकल्पका साथ शिव पार्वतीको प्रतिमामा पूजा गर्नाले नै पतिको अतिरिक्त सम्पूर्ण परिवारको नै आयु, आरोग्य, सौभाग्य एबम श्रीबृद्धि हुने विश्वास यस व्रतको हो ।

हरितालिका व्रत कथा सुन्ने चलन पनि छ । शिवजीले पार्वतीलाई पूर्व जन्मको स्मरण गराएको महात्म्य नै हरितालिका व्रत कथा हो । एवं रितले तेश्रो दिन गणेश चौथी पर्दछ । व्रतको उद्यापन गरि सामान्य शुद्ध भोजन गरि पंञ्चमी पुजा गरेपछि हरितालिका तीज समाप्त हुन्छ । यस बर्ष तीजको अर्को दिन ऋषी पञ्चमी परेको छ ।

तीजको पहिरन र शृंगार तीजका दिन महिलाहरूले विशेष गरी रातो साडी वा पहिरन, चुरा, पोते, रातो धागो, विभिन्न गरगहना आदि लगाएर सजिने प्रचलन रहिआएको छ । यस बेला महिलाले लगाउने पहिरन र शृंगारको छुट्टै सांस्कृतिक महत्व रहेको छ । तीजको आगमनसँगै बजारमा नयाँ नयाँ पहिरन तथा सौभाग्यका सामग्री किन्नेहरूको घुइँचो लाग्ने गरेको छ । सांस्कृतिक अर्थमा नेपाली महिलाले प्रयोग गर्ने सिन्दूर, पोते, धागो तथा चुरालाई सौभाग्यको प्रतीक मानिन्छ । सिन्दुर सिन्दुर विवाहित महिलाको प्रमुख शृंगार प्रसाधन हो ।

प्राचीन कालदेखि नै विवाहित महिलाहरूले आफ्नो सिउँदो सिन्दुरले सजाउने र अविवाहित महिलाहरूले पनि शुभ प्रतीकका रूपमा सिन्दुरको टीका लगाउने चलन रहिआएको छ । हाम्रोे संस्कृतिमा रातो रंगलाई अटल सौभाग्य, क्रान्ति, साहस, वीरता आदिको प्रतीक मानिन्छ । यसले महिलामा भगवती, पार्वती र सतीको शक्ति पैदा गर्ने र श्रीमान्प्रतिको समर्पण र विश्वास झल्काउने समेत सांस्कृतिक धारणा रहिआएको छ ।

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमानका रूपमा प्राप्त गर्न १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा शास्त्रमा उल्लेख छ । यही मान्यता अनुसरण गर्दै विवाहित महिलाले श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाउने कामनाका साथ तीजको व्रत बस्ने चलन चलेको हो ।

धार्मिक कथनहरूलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता पार्वतीमा थियो । सोही कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् । उनी जंगलमा गएर कठोेर तपस्या गर्न थालिन् । एकसय वर्ष तपस्या गर्दा पनि तपस्याको फल प्रप्त नभएपछि पार्वतीले शिवलिङ्ग स्थापना गरि तपस्यालाई थप उचाईमा पुर्याउन थालिन् ।

कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस भनि आशिर्वाद दिए र पार्वतीले शिवलाई पति प्राप्त भएको दिनलाई तीजका रूपमा मनाउने प्रचलन रहेको किबदन्ती छ । विशेष संकल्प दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्रप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस हरितालिका तीज पर्वको महत्व आफैमा विशिष्ट छ । पार्वतीले यो व्रत प्रारम्भ गरेको मुख्य दिन यहि भाद्र शुक्ल द्वितियाबाट हो । चार दिन सम्म चल्ने यस पर्वको आफ्नै विशेषता र महत्व रहेको पाइन्छ ।

सिउँदोमा सिन्दूर भरेका महिला देख्दा उनीहरू विवाहित हुन् भन्ने अनुमान लगाउन गाह्रो पर्दैन । यसले विवाहित महिलाको परिचय दिन्छ । श्रीमान्को दीर्घायूका साथै सौन्दर्य प्रवद्र्धनका लागि लगाइने सिन्दूरले भाग्य रक्षा गर्ने आम धारणा छ । सामान्य रूपमा सिन्दूरले हरेक किसिमको कुदृष्टिबाट घरपरिवारलाई सुरक्षा दिने धारणा नेपाली समाजमा छ । यसदिन टीका समेत लगाइन्छ । सौभाग्यको प्रतीक टीकाले नारी सौन्दर्यलाई उजागर गर्छ ।

दुई आँखीभौँका बीचमा लगाइने टीकालाई महिलाको तेस्रो आँखा मानिन्छ । यसले घरपरिवारको सुख–शान्ति एवं समृद्धि बढ्ने संकेत दिन्छ । प्राचीन समयमा यसलाई सिन्दूर भनिन्थ्यो । यसलाई शक्तिको प्रतीक पनि मानिन्छ । सिन्दूरलाई मायाको प्रतीकका रूपमा पनि लिइन्छ । यसले श्रीमान्लाई आफूतिर आकर्षित गर्ने विश्वास गरिन्छ । यसलाई बिन्दी पनि भनिन्छ । परम्परागत रूपमा टीका रातो अथवा कलेजी रंगमा प्रयोग गरिन्थो । यो रंगलाई विवाहित महिलाको प्रतीकका रूपमा लिइन्छ ।

टीका विवाहित महिलाले मात्र नभएर स–साना बालबालिका अथवा युवतीले पनि प्रयोग गर्ने गरेका छन् । उनीहरूले प्रयोग गर्ने टीकाको रंग कालो हुन्छ । कालोले नराम्रो दृष्टिबाट बचाउनुका साथै प्रगति पथमा डो¥याउने विश्वास गरिन्छ । अहिले टीका लगाउनु आधुनिक समाजको फेसनका रूपमा विकास हुँदै गएकोे छ ।

आफ्नो अनुहार सुहाउँदो टीका लगाउन विवाहित महिला मात्र नभएर अविवाहित किशोरीहरू पनि पछि पर्दैनन् । तीजमा पोतेलाई विवाहित महिलाको मौलिक पहिचान मानिन्छ । यसले शुभमंगल, सौभाग्य र दीर्घायूको बोध गराउने सांस्कृतिक विश्वास रहेको छ । अझ रातो मोटो पोतेले त अनुहार नै उज्यालो बनाउँछ । रातो रंगलाई शक्ति तथा ऊर्जाको प्रतीक मानिन्छ । यसले व्रत बसेका बेला शरीरमा एक किसिमको ऊर्जा दिन्छ । तीजलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न डिजाइनका पोते उपलब्ध छन् ।

रातो, पहेँलो, हरियो तथा गुलाबी रंगमा उपलब्ध पोतेले वातावरणलाई नै तीजमय बनाएका छन् । अहिले बजारमा साधारण एक लुङदेखि लिएर अंगुर आकार, चक्रमाला, माछीकाँडा एवं क्रिस्टलका पोते भित्रिएका छन् । अहिले आफूले लगाएको साडीसँग मेल खाने पोते लगाउने चलन समेत बढ्दो छ । छड्के तिलहरी समयको गतिसँगै हरेक कुरामा परिवर्तन हुँदैछ । पुराना पहिरन अहिले परिवर्तन भएका छन् । पुराना डिजाइनका सामग्री अहिले सोकेसमा सजाइएका छन् । दैनिकजसो फेरिने डिजाइनले मानिस प्रभावित हुन्छन् ।

गहनापे्रमीहरू पनि यो कुराबाट अछुतो छैनन् । उनीहरू लेटेस्ट डिजाइनका गहना छाडेर पुराना डिजाइनका गहना रूचाउँदैनन् । यस्तो अवस्थामा पनि छड्के तिलहरीले आफूलाई सुरक्षित राखेको छ । आस्थाका हिसाबले तीज नजिकिदै जाँदा हरेक महिलाको मन छड्के तिलहरीमा पुगेर अडिन्छ । छड्के तिलहरी पुरानै डिजाइनमा आधारित छ । यसले नेपाली परम्परा र सभ्यताको परिचय दिन्छ । तिलहरीलाई विवाहित महिलाको सौभाग्यको प्रतीक मानिन्छ ।

पुरूषहरूले जनै लगाएजस्तै महिलाहरूले यसलाई बायाँ साइडबाट दायाँ छड्के गरी लगाउँछन् । यो तिलहरी नेपाली महिलाको परिचायक हो । यस्तो तिलहरी धेरैजसो हरियो र रातो रंगको पोतेमा उनिन्छ । प्रायः महिलाले हरियो मन पराउँछन् । हरियो रंगमा उनिएको पोते लगाउँदा सुख–शान्ति एवं समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । यस्तो तिलहरी बनाउन कम्तीमा पौने एक तोला सुन चाहिन्छ । आफ्नो इच्छा तथा बजेटअनुसार यसलाई ठूलो बनाउन सकिन्छ ।

यसमा कम्तीमा ७२ लुङ पोते चाहिन्छ । पोते राख्दा छड्के तिलहरीको ग्याप हेरेर राखिन्छ । ठूलो छ भने त्यसमा ९० र १ सय ५ लुङ पोते राखिन्छ । यसैगरी अहिले छड्के तिलहरीमा रंगी–बिरंगी पोते उन्ने चलन पनि बढ्दो क्रममा छ । छड्के तिलहरी लिँदा यसमा भएको काँडा हेरिन्छ । छड्के तिलहरीमा भएको काँडा जति राम्रो हुन्छ त्यसैअनुरूप तिलहरीको मूल्यांकन हुन्छ । सबै छड्के तिलहरीमा ३ वटा काँडा हुन्छन् भने गोलो आकारमा ४ वटा फूलका चित्र कूदिएको हुन्छ ।

यही गोलो आकारमा कूदिएको डिजाइन तथा चुच्चो भएको काँडाले नै छड्के तिलहरीलाई अरू तिलहरीभन्दा पृथक देखाउँछ । सुनको मूल्य आकासिँदै जाँदा अहिले सुनका जलप लगाइएका गहनाले धेरैको ध्यान खिचेको छ । अहिले बजारमा सुनजस्तै देखिने नक्कली सुनका गहनाका विभिन्न डिजाइन भित्रिएका छन् । त्यसमा नेपाली छड्के तिलहरी पनि पर्छ ।

तामा तथा पित्तलमा सुनको जलप लगाइएका यस्ता गहना वारेन्टीसहित आउँछन् । तीजमा भुरा समेत अधिक विक्री हुने गरेको छ । चुरालाई नेपाली नारीको मौलिक पहिचान र शुभमंगलका साथै नारी सौन्दर्य प्रवद्र्धनको सुन्दर प्रतीक मानिन्छ । अझ तीजले त चुराको महत्वलाई विशिष्ट पारेको पाइन्छ । तीजले विशेषतः रातो चुरा, सिउँदोभरि सिन्दूर, रातो साडी, धागोले बाँधेको केश र चुराको सम्झना गराउँछ । महिना दिनअघिदेखि दर खाने र एक–अर्कामा उपहारका साथै सुख–दुःख साटासाट गर्ने तीज एउटा रमाइलो उत्सव पनि हो ।

तीजका बेला दर खान जाने ठाउँमा र दर खान बोलाउँदा एक–अर्कालाई उपहार दिने चलन बढ्दो छ । यसका लागि पोते, टीका र चुरा जस्ता सौभाग्यका सामग्री सबैको रोजाइमा पर्ने गरेका छन् । उपहारमा अरू कुरा छुटे पनि तीजका बेला चुरा सबैको रोजाइमा पर्छ । नेपाली बजारमा भएका चुरा भारत, पाकिस्तान, बंगलादेश आदि ठाउँबाट भित्रिन्छन् ।

पहिले बढी मात्रामा काँचको चुरा किन्ने चलन थियो तर अहिले बढ्दो आधुनिकीकरणसँगै लाख, मेटल, रबर, सीप, प्लास्टिक, टेराकोटा, माटो आदिका चुरा बजारमा उपलब्ध छन् । पहिले रेसमका सादा चुरा सबैको रोजाइमा पर्थे तर अहिले वर्क गरिएका चुरा रूचिमा पर्छन् । अहिले फेसनेबल चुराको माग पनि बढ्दो छ । हरियो र रातो रंगमा उपलब्ध बेस मेटलका चुरा हेर्दा निकै आकर्षक देखिन्छन् । बजारमा मोती भरिएका चुरा पनि किन्न सकिन्छ ।

तीजको रमझमसँगै धागोको महत्व पनि बढ्छ । अरू बेला बिरलै देख्न पाइने धागोले तीजका दिन भने प्रायः महिलाको केशको शोभा बढाएको हुन्छ । लामो अथवा छोटो जस्तोसुकै केशमा प्रयोग हुने धागोले पूर्णरूपमा नेपाली परम्परा तथा संस्कृतिको आभास गराउँछ । केशको शोभा बनेको धागो लगाएर नाच्दा पूर्ण नेपालीपन झल्कन्छ । रातो साडी, रातो चुरा, रातो टीका र सिउँदोभरि लगाइएको सिन्दूरका साथमा धागो पनि महत्वपूण आभूण बनेको हुन्छ । केशअनुसार ठूलो, सानो र मध्यम आकारमा पाइने धागोमा पोते, सलमा, मोती, सितारा जडिएको हुन्छ । नेपालमै बनाइने यो धागो प्रायः कालो र रातो रंगमा पाइन्छ ।

पवित्र उद्देश्य र दृढ संकल्पका साथ सम्पन्न गरिने अनुष्ठानमा दरका नाममा अभक्ष, अखाद्य एवम आफ्नो स्वास्थ्यलाई प्रतिकुल असर गर्ने भोजन नगर्ने । हामीले सुन्दै र पढ्दै आइरहेका छौं कि कहीँ अखाद्य भोजनका कारण गाउँ नै बिरामी प¥यो । कहीँ इनारको पानी प्रयोग गरि दर पकाएका कारण वडाका सबै महिला बिरामी परे । कहीँ दर खाएर घर फर्कदै गरेकी युवती दुर्घटनामा परिन्न ।

यी र यस्ता समामचार थुप्रै छन् । अतः आफ्नो इष्टमित्र, अत्यन्त निकट छिमेकी तथा साथीभाइबीच सम्बन्ध सुमधुर बनाउनु सुखद् विषय हो । सम्बन्ध दर खाएर र खुवाएर मात्र सुदृढ हुने होइन । यो त व्यवहार, आदर्श र भावनाले हुने विषय हो । यो वर्ष जे ग¥यौं ग¥यौं आगामी दिनमा अनुत्पादक दर र अनुत्पादक तीजलाई टाढैबाट नमस्कार गरौं । मौलिक संस्कृति अनुरूप हरितालिका पर्व मनाउने संकल्प यही तीजबाट लिन सक्यौं भने मात्र व्रतको र हरितालिकाको मुख्य फल प्राप्त होला ।

हामी व्रतालुहरू व्रतको दिन मन्दिर जन्छौं, गहना तीजको संस्कृति नै हो । हामी तीजमा विशेष श्रृंगार गर्छाैं, गच्छे अनुसारको पहिरन लगाउँछौं । सोचौं गहना दुर्घटनाको कारण नबनोस । भड्किलो श्रृंगार र पोशाक बलात्कारको समाचार नबनोस । तसर्थ ठीक गरगहना र मन्दिर जाँदाको होसियारीप्रति सबैको ध्यान पुग्नु जरूरी छ । श्रृंगार तथा गरगहना उत्ताउलो होइन शालिन र भद्र होस । तीज संस्कार र संस्कृतिले पूर्ण बन्नु सक्नु पर्दछ ।

यसैमा छ तीजको महत्व । निर्जल वा निराहार व्रत बस्ने प्रचलन छ तीजमा । तर आफ्नो शरीर र स्वास्थ्यलाई ख्यालमा राखी पानी, जुस, फलफूल र दूध खाने चलन छ । कठोर व्रतले शरीर अनुसार हानी पनि गर्छ अतः आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी निराहार वा फलाहार रोज्ने त्यो व्रतालुको विचार इच्छा र स्वास्थ्यमा भर पर्ने विषय हो । धर्मका नाममा जबर्जस्ती व्रत पनि बस्नु हुँदैन् । जबर्जस्ती व्रत स्वयंमा खतरनाक हुन्छ ।

तीजमा गीत–संगीतको विशेष महत्व हुन्छ । महिलाहरू विद्युतीय उपकरण तथा साधन नहुँदा समूहमा भेला भै गीत गाउँथे भने अहिले रेडियो–टेलिभिजनहरूमा आधुनिक शैलीका गीत गुञ्जिन थालेका छन् । तीजका गीतमा पहिले छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुस्ख, ईष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् ।

सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुन्जाउँछन् । चुल्हो–चौका एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन । नेपाली महिलाहरू पनि धेरै अर्थमा सशक्त भैसकेका छन् ।

ऋषिपञ्चमी हिन्दु संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्व भएको पर्व मानिन्छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यसको ब्रत बसिन्छ । यस बर्ष तीजको अर्को दिन यो पर्ब परेको छ । श्रीमद्भागवत, गरूड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रक्तमा प्रवेश गराएकोले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन् ।

यसै रजस्वलाबाट नै नारीहरूमा सन्तानोत्पादन गर्नसक्ने शक्ति उत्पन्न भएको मानिन्छ । सम्पूर्ण मानवीय चक्रको सुरूआत नै नारीको मासिक रजस्वलाबाट सुरू हुन्छ । पश्चात्कालीन प्रबन्ध ग्रन्थ व्रतार्क, व्रतराजृ आदिले भविष्योत्तर पुराणबाट उद्धृत गरी विविध विषयवस्तु प्रस्तुत गरेका छन्, यी पुस्तकमा भगवान श्रीकृष्णले युधिष्ठिरलाई सुनाउनु भएको एउटा कथा पनि प्रस्तुत गरिएको छ । पौराणिक प्रसङ्गअनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड ब्यहोर्नु परयो ।

स्त्री रजस्वला अर्थात मासिक धर्ममा अत मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूद्वारा लिनुपर्ने सनातन हिन्दू धर्मका शास्त्रमा उल्लेख गरिएको छ ।

एकपटक विदर्भ देशमा उत्तङ्क नामका ब्राह्मण आफ्नी पतिव्रता पत्नीका साथमा निवास गर्दथे । उनको परिवारमा एउटा पुत्र र एउटी पुत्री थिए । पुत्रको नाम सुविभूषण थियो, नामजस्तै ऊ बुद्धिद्वारा विभूषित थियो । ब्राह्मणले आफ्नी छोरीको विवाह एकजना असल ब्राह्मणसँग गरिदिएका थिए तर भाग्यवश उनकी पुत्री विधवा हुन पुगेकी थिइन् ।

उनी आफ्नो वैधव्य माइतमैं बसेर गुजार्दै थिइन् । उत्तङ्क ब्राह्मण आफ्नो आउँदो वृद्धावस्था र दुःखी कन्यालाईसमेत लक्षित गरी पुत्रलाई घरव्यवहार जिम्मा लगाएर आफ्नी स्त्री र पुत्रीका साथमा गङ्गाका तटमा आश्रम बनाएर बस्न थाले । कन्याले पनि आफ्ना वृद्ध मातापिताको सेवाका साथै आफूलाई ईश्वर आराधनामा लगाउन थालिन् ।

एक दिन दिनभरि काम गरेर थाकेकी ती ब्राह्मणपुत्री आश्रम नजीकै एउटा ढुङ्गोमा अडेस लागेर आराम गर्ने उद्देश्यले पल्टिइन् । आधा रातमा ती कन्या निदाएकै बेला उसको शरीरमा किरा उत्पन्न भए । बिहान बिउझँदा आफ्नी छोरीको शरीरमा किरा परेको देखेर ब्राह्मणी असाध्यै विलाप गरी रून थालिन र रूँदारूँदै बेहोस भइन् । होश फर्किएपछि कन्यालाई बोकेर आफ्ना पति ब्राह्मण उत्तङ्क ऋषि भए ठाउँमा लिएर गइन् अनि पुत्रीको अवस्था किन त्यस्तो हुन गयो भनी अनुरोध गरिन् । ब्राह्मणीका कुरा सुनेर उत्तङ्कले आफ्ना आँखा थुनी ध्यानदृष्टिले विचार गरी भने– ‘हाम्री छोरी पूर्वजन्ममा कुनै एउटी ब्राह्मणी थिइन् ।

यिनले एक पटक रजस्वला हुँदा घरका समस्त भाँडाकुँडा चलाउनुका साथै स्पृश्यास्पृश्यको ख्यालै राखिनन् । यत्ति दोषका कारण यस जन्ममा यिनको शरीरमा किरा परेका हुन् । शास्त्रअनुसार रजस्वला भएर बिटुलिएका स्त्रीहरू पहिलो दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघाती, तेस्रो दिन पवित्र धोबिनीसमान हुने गर्दछन् र चौथो दिन स्नानपश्चात शुद्ध हुने गर्दछन् । घरव्यवहारमा शुद्ध मानिए पनि पाँचौं दिनमा मात्र देवकार्यका निम्ति र सातौ दिनमा पितृकार्यका निमित्त योग्य हुने गर्दछन् ।

पछि जब ऋषिपञ्चमीको व्रतको अवसर प्राप्त भयो र आफ्ना सँगीसाथीले व्रत लिन सुझाव दिँदा समेत वास्ता गरिनन् । व्रत र पूजाआजाको दर्शन मात्रले गर्दा यिनले ब्राह्मण कुल प्राप्त गरिन् । तर यिनले व्रत लिन तिरस्कार गरेकी हुनाले यिनको शरीरमा किरा परे । ब्राह्मणीले पतिका कुरा सुनेपछि यस्तो आश्चर्यमय व्रतका बारेमा, जुन लिनासाथ पाप नष्ट हुने गर्दछ, हजुरले कृपा गरी मलाई बताउनुहोस् । त्यसपछि श्री कृष्णले युधिष्ठरलाई सुनाउनुभएको कथा ब्राह्मणले पत्नी र पुत्रीलाई सुनाए ।
ऋषीपञ्चमी पर्वमा व्रतालु महिलाहरूले नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दात माँझेर, चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धती सहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने र कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन् ।

ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरून्धतीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख गरीएको छ । ऋषिपूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ ।

तीजमा खानपान बढी हुने गर्छ । आवश्यकताभन्दा बढी खानपानले स्वास्थ्यमा असर गर्छ । डाक्टरहरुका अनुसार नियमित औषधी प्रयोग गर्ने महिलाको लागि तीजको निरहार व्रत उपयुक्त हुँदैन । पानी पनि नखाइ व्रत बस्दा उनीहरुको ज्यान पनि जान सक्छ । यदि व्रत बस्नै पर्ने अवस्था भए पानी तथा फलफुल खानुपर्छ र औषधी त छुटाउनै हुँदैन । शरीर कमजोर हुनेहरुले व्रत बस्दा शरीर झन कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरुले व्रत नबस्दा ठिक हुन्छ । तीजमा व्रत बसेका महिलाहरु मन्दिरमा पुजा गर्न धेरै भीडभाड भएको ठाउँमा लाईनमा बस्छन् । यसले भोको शरीर झनै थाक्छ ।

त्यसैले पानी पिउनुपर्छ । तीज भन्ने वित्तिकै व्रत मात्र होइन रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा पनि ख्याल गर्नुपर्छ । आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्र नाच्नुपर्छ । धेरै नाच्दा रिंगटा लागेर वेहोस हुने सम्भावना हुन्छ । जसका कारण स्वास्थ्यलाई ख्याल गरेर मात्र मनोरञ्जन गर्दा फाइदा पुग्छ ।

डाक्टरहरुका अनुसार दर खान बनाइने मिठा परिकारहरूमा धेरै चिल्लो हाल्नु हुँदैन । चिल्लो पर्दाथमा कोलष्ट्रलको मात्रा धेरै हुन्छ, जसले शरीरलाई राम्रो गर्दैन । दर खाने भन्ने बित्तिकै दैनिक भन्दा बढी नै खाइन्छ । तर यसरी मात्रा नमिलाई खाँदा शरीरले एकैपटक पचाउन सक्दैन त्यसैले शरीरलाई चाहिने मात्र खानुपर्छ । दरमा खीर, अचार, विभिन्न किसिमका तरकारीहरूको परिकार, सलाद र मासुको पनि प्रयोग गरिन्छ । धेरै किसिमका परिकार बनाउदा स्वास्थ्यलाई फाइदा हुने गरी बनाउनु पर्छ । परिकारमा अन्य खानेकुरा भन्दा सलादको मात्रा धेरै हुनुपर्छ ।

आजभोलि विभिन्न ठाउँमा सामुहिक रूपमा दर खाने कार्यक्रमहरू नै आयोजना गरिएको हुन्छ । यसरी सामूहिक रूपमा खाने दरमा ‘फुड पोइजन’ हुने सम्भावना हुन्छ । त्यसैले सकेसम्म घरमै बनाएको दर खाँदा राम्रो हुन्छ । दर खाने नाममा आजभोलि महिलाहरू रक्सी (अल्कोेहल) पनि खान्छन् । अल्कोहल पिउँदा शरीरलाई फाइदा गर्दैन । र, दुर्घटनामा समेत पर्न सकिन्छ ।