July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

कथाः मुस्तफा हुसेनको साइकल

मुस्तफा हुसेनको साइकल केही छिनअघि पङ्चर भएको थियो । पङ्चर भएको केही बेरसम्म त उसले त्यो साइकल घिच्याइरह्यो । जब ऊ साह्रै थाक्यो, रिसले चार वर्षको आफ्नो प्रिय छोरालाई साइकलबाट ओराल्यो । 

Advertisement

निकै पर पछिपछि आइरहेकी पत्नीलाई ‘अलि छिटोछिटो हिँडेर यो साइकल घचेट्न सक्दिनस् ?’ भनेर हकार्यो ।छोरोलाई साइकलबाट ओराल्दा पनि उसले गाली गरेको थियो, ‘के म एउटा गधा हुँ, तिमीहरूका सबथोक बोक्न सक्ने ?’

Advertisement

साँच्चै मुस्तफाले डोर्याइरहेको त्यो साइकलमा के मात्र थिएन– जसोतसो तीनजनालाई सुत्न पुग्ने ओछ्यान, खाना पकाउने एकसरा भाँडाहरू, लगाउनका निम्ति केही लुगाफाटाहरू, पानी राख्ने दुईवटा भाँडा– एउटा सिलेबरको क्यान र एउटा बाल्टी । केही दिन खान पुग्ने खानेकुरा, एउटा ठूलो पिउने पानी भरिएको जर्किन । मट्टीतेल भरिएको एउटा स्टोभ… अर्थात्, एउटा जिन्दगी थियो साइकलमा । सिंगो एउटा परिवारको जिन्दगी ।

अनि, साइकल स्वयम् एउटा जिन्दगीको रफ्तारको पर्याय, जसले बोकिरहेको थियो– एउटा परिवारको आधारभूत आवश्यकताका सामग्री । बस्, मुस्तफा हुसेनको त्यो साइकलमा थिएन– महत्वाकांक्षा ।

कुनै बेला त्यही साइकलले महत्वाकांक्षा पनि बोक्थ्यो, पिउन मुस्तफा हुसेनको । घरबाट साइकलमा सरर अफिस जाँदा मुस्तफा मनभरि सुन्दर भविष्यको तानाबाना बुन्दै जान्थ्यो । साइकलको पांग्राजस्तै उसको जीवनका उज्याला र अँध्यारा पाटाहरू परिवर्तित भइरहन्थे– घुमिरहन्थे निरन्तर । जीवनको स्थापना ऊ साइकल चढेर खोज्थ्यो । तर, यतिखेर ऊ त्यही साइकलको साथमा विस्थापित जीवनलाई कहीँ लगेर थपक्क राख्न एकोहोरो हिँडिरहेको छ । ऊ किन र के गल्तीका कारण आफूले विस्थापित हुनु परेको छ भन्नेबारे केही पनि जान्दैन ।

मुस्तफा एउटा सोझो मुसलमान । श्रम बेचेर परिवार चलाउने एक इमानदार मानिस । साहुको घरमा काम गर्दागर्दा बल्लतल्ल त्यही साहुले आफ्नो अफिसमा पिउनको जागिर मिलाइदिएको थियो । काला अक्षर उसले चिनेको थिएन । अफिसमा अरूका कुरा भने खुबै सुन्थ्यो ऊ । अमेरिका सुन्थ्यो, जर्ज बुस सुन्थ्यो, बिन लादेन सुन्थ्यो । आतंक, आक्रमण, गोली, मृत्यु, यस्तैयस्तै धेरै सुन्थ्यो । तर, खासै केही बुझ्दैनथ्यो ।

नबुझ्दा नबुझ्दै उसको साहुले अफिस बन्द गरेर अन्तै गएको सुन्यो उसले । पछि त्यो अफिस पनि बम हमलामा नष्ट भएको सुन्यो उसले । र, सुन्यो आफ्नै वरिपरिको बस्तीमा बम र बन्दुकका आवाजहरू । हवाईजहाज र हेलिकोप्टरका अटुट झर्को लाग्दा आवाजहरू । उसले नजिकबाट जहाज त्यतिखेरै देख्न पाएको थियो ।

केही दिन त उसले जहाजको आवाज सुन्नासाथ घरबाहिर निस्केर नियालेर त्यो वस्तुलाई हेरेको थियो । तर, केही दिनपछि उसलाई ती जहाजहरू आफ्नो बस्तीछेउ उडिरहेको पटक्कै मन परेन ।

जहाजहरू आउन थालेको केही दिनपछि नै उसको बस्तीका सबैले त्यो ठाउँ छाड्नुपर्ने सूचना आयो । मुस्तफा रनभुल्लमा पर्यो । किन छाड्ने यो ठाउँ ? हामीले के गरेका थियौँ र यो सजाय भोग्नुपर्ने ? अब यो ठाउँ छाडेर कता जाने ?

बस्तीमा घर छाड्ने क्रम सुरु जसरी भयो, अन्त्य पनि उसै गरी भयो । सबैभन्दा अन्तिममा मुस्तफाले घर छाड्यो । घर छाड्न उसलाई निकै गाह्रो पर्यो । उसले सम्झ्यो, त्यो घर बनाउँदा आफू र पत्नीले गरेको दुःख । जीवनको ठूलो र महत्वपूर्ण लगानी थियो उसको त्यो घरमा ।

बाह्रै महिना फुल्ने फूलहरू लगाएको थियो उसले घरको सानो आँगनमा । उसलाई फूल खुबै मन पथ्र्यो । हरेक दिन बिहान फूलमा पानी हाल्दै तिनलाई स्पर्श गथ्र्यो ऊ ।

उसले घर छाड्ने बेलासम्म बम, बारुद र धुवाँले ती फूलहरू केही काला हुन थालिसकेका थिए । ती फूलहरू यदि आफ्नै रङमा हुँदा हुन् त मुस्तफाले त्यो घर छाड्न सक्ने थिएन । फूलहरू बाध्यतामा रङ बदलिरहेका थिए । उसले सोच्यो– फूलहरू पनि घर छाड्न आदेश दिइरहेका छन् आफूलाई !

महत्वाकांक्षा बोक्ने एउटा अर्को वार्षिक बेला थियो, जुन बेला मुस्तफा साइकल चढेरै मस्जिद जान्थ्यो । मस्जिदबाहिर साइकल ठड्याउँथ्यो र हरेक वर्ष ‘सबेबरात’ मनाउँथ्यो । रातभरि जाग्राम बस्थ्यो अरूजस्तै । र, भोलिपल्ट बिहानको मिर्मिरेमा सबेबरातको क्रम सकिएपछि ऊ निर्धक्कसँग अल्लाहसँग वरदान माग्थ्यो– एउटा सुन्दर र शान्त भविष्यको ।

यसपटकको सबेबरात ऊ पङ्चर भएको साइकल घिच्याउँदै मनाउँदैथ्यो । मनभरि ‘रमजान’को आगमन छताछुल्ल थियो । गएको साल रमजानमा उसले एक दिन झुक्किएर दुवै छाक खानेकुरा खाएको थियो । त्यो भुलको पश्चात्ताप गर्दै उसले भोलिपल्ट दुवै छाक केही नखाई निर्जल बसेको थियो । अल्लाहलाई जसरी हुन्छ धेरै खुसी पार्नुपर्छ भन्ने मत राख्थ्यो मुस्तफा । रमजानभरि ऊ पत्नीको अनुहार पनि हेर्दैनथ्यो । बुर्का राम्ररी लगाउन सम्झाइरहन्थ्यो ।

उसकी पत्नीले बुर्का त यतिखेर पनि छाडेकी थिइन । वातावरणको उष्णता र लामो हिँडाइको तापले ऊ लफ्रक्कै भिजिसकेकी थिई । तर पनि बुर्काले सारा शरीर ढाक्ने क्रम जारी नै थियो । मुस्तफा बेलाबेला आज सबेबरात हो भन्दै बुर्का राम्रोसँग लगाउन पत्नीलाई अह्राइरहन्थ्यो । अरू मुसलमानका पत्नीहरूले कुन्नि के गर्छन्, मुस्तफालाई त्यसको मतलब थिएन । ऊ आफ्नै ढंगमा अल्लाहलाई पुज्न चाहन्थ्यो, खुसी पार्न चाहन्थ्यो, नजिक राख्न चाहन्थ्यो । अल्लाहप्रति उसको विश्वास सायद अलि अधिक नै थियो ।

‘यसपटकको रमजानको महिना कसरी कटाउने होला… कहाँ पुगिने हो… उपयुक्त ठाउँ भेटिएन भने त जे पायो त्यही खानुपर्ने अवस्था आउन सक्छ ।’ मुस्तफाले एक छिन सुस्ताएर छोरालाई खानेकुरा खुवाउँदै पत्नीलाई सुनायो । पत्नी चुप थिइन् । बतासले उडाउन खोजिरहेको बुर्का सम्हाल्दै कहिले पतितर्फ, कहिले छोरोतर्फ त कहिले पङ्चर भएर पांग्रा बांगो भइसकेको साइकलतर्फ हेरिरहेकी थिइन् ।

यतिखेर मुस्तफालाई पङ्चर भएको साइकलको ट्युब टाल्ने कुराले सताइरहेको थियो । ‘यति टाल्न पाए त म पत्नीलाई पनि राखेर साइकल कुदाउन सक्थेँ,’ मुस्तफा बोल्यो । तर, साइकल बनाउने ठाउँ कसरी पाउनु ? त्यो मानवविहीन प्रदेशमा ट्युब टाल्ने ठाउँ पाउनु अकल्पनीय कुरा थियो । असम्भव कुरा थियो । मानवबस्तीको संकेत देखिएका ठाउँमा पनि एकजना मानिस भेटिँदैनथ्यो भने साइकल पसल पाउनु कसरी सम्भव होला र ! यो कुरा त सोच्नु पनि व्यर्थ थियो त्यहाँ ।

हातमा बाँधेको थोत्रो घडी नियाल्यो मुस्तफाले । रातको बाह्र बज्नै लागेको थियो । उसले एउटा सुरक्षित बास मिलाइदिन अल्लाहसँग अनुरोध गर्यो । यदि, बास मिल्यो भने सबेबरात त्यहीँ मान्ने कसम पनि खायो उसले ।

छोरोचाहिँ साइकलमा मस्त निदाइरहेको थियो । पङ्चर भएको साइकल ऊ घिच्याइरहेको थियो, पत्नीचाहिँले पछाडिबाट सकेको घचेट्दै थिई ।

विशाल मैदान हरियालीहीन थियो । हिँड्दा खुट्टा धुलोमा पूरै गाडिन्थ्यो । साइकलको पांग्रा भास्सिएर तान्न निकै कठिन भइरहेको थियो उसलाई । पत्नीचाहिँले बल लगाएर घचेटेको बेला भने साइकल तान्न सहज हुन्थ्यो ।

त्यस भेगमा घरका भग्नावशेष भने देखिन्थे कतैकतै । तर, सिंगो घर एउटै बाँकी थिएन । चार भित्ता र छानो भएको घर पाउँदो हो त मुस्तफा त्यहीँ थुचुक्क बस्थ्यो र अल्लाहलाई धन्यवाद भन्थ्यो होला । घरका इँटाहरू, झ्यालढोकाका भाँच्चिएका काठहरू यत्रतत्र देखिन्थे । अनौठो र हृदयविदारक दृश्य थियो त्यो । मुस्तफा त्यो रात पीडाको गहिरो सागरभित्र पौडी खेलिरह्यो ।

खै कताकताबाट बन्दुक पड्केको आवाज बेलाबेला आइरहेको थियो । त्यो आवाजले मुस्तफा झस्किरहेको थियो । पत्नीचाहिँ डरले काप्थी कहिले त कहिले कहालिन्थी, छोरो चिच्याएर रुन्थ्यो । ऊ निद्राबाट बिउँझन्थ्यो बन्दुकको आवाज सुनेपछि । आमाचाहिँले उसलाई च्याप्प पार्थी र पुनः त्यो बच्चा निदाउँथ्यो ।

यो अवस्थाले मुस्तफाको घाँटी अवरुद्ध पाथ्र्यो । उसलाई आफैँलाई सम्हाल्न गाह्रो पथ्र्यो । ऊ विपरीत दिशातिर फर्कन्थ्यो र आँसु खसाल्थ्यो । अनि, सराप्थ्यो तिनलाई, जसले यो आपत् सिर्जन गर्याे ।

ऊ कुनैकुनै बेला चिच्याउँथ्यो पनि, ‘अल्लाह ! मेरो अल्लाह ! यो रात तिमीले आफ्ना बन्धुहरूलाई विभिन्न दुःख–यातनाबाट मुक्त गरिदिने रात हो… तर, मलाई यो यातना किन अल्लाह ? कयौँ वर्ष सबेबरातमा मैले तिम्रो प्रार्थना गरेको छु । किन तिमीले मेरो प्रार्थना कबुल गरेनौ अल्लाह ? के तिमीले म जन्मिएको बेलामा मैले भोग्नुपर्ने दुःख यस्तै लेखेको थियौ ? मेरो भाग्य के यति र यस्तै हो अल्लाह ?’

साइकल टक्क रोकेर मुस्तफा एक छिन घोप्टो पर्यो । पत्नीचाहिँले साइकल समाती । थकित शरीर विश्राम मागिरहेको थियो । तर, त्यो असम्भव थियो ।

ऊ पुनः साइकल घिच्याउन थाल्यो । साइकल त मुस्तफाले डोर्याउँदा हिँडिदिन्थ्यो । तर, मुस्तफा हिँड्न सकिरहेको थिएन । ऊ आफूलाई हिँडाउने कुनै आकांक्षा, प्रेरणा, योजना र उद्देश्य खोजिरहेको थियो सायद । यी केही पनि थिएनन् त्यतिखेर उसको साथमा ।

वातावरणमा अँध्यारो त थियो नै । उसको मनभित्र पनि एउटा डरलाग्दो अन्धकार प्रवेश गरेको थियो त्यतिखेर । भोलि सम्झेर हुने पीडाले उत्पन्न गरेको भयानक अन्धकार ! थाहा छैन, त्यो अँध्यारोले उसलाई कुन मोडमा लगेर गलत बाटोतर्फ डोर्याइदिने हो ! कति गहिरो खाल्डोमा उसलाई जाकिदिने हो ! त्यतिखेर यी प्रश्नजस्ता लाग्ने आश्चर्यका कुनै पनि जवाफ थिएनन् मुस्तफासँग । यदि, मुस्तफाले कुनै जानिफकारलाई त्यो प्रश्न सोध्यो भने ती पनि मुस्तफाकै पर्याय हुनेछन् । अर्थात्, निरुत्तर अनि अन्धकारमा रुमल्लिन विवश !

मुस्तफा त्यो रात मुस्किलले एक घण्टा निदायो होला त्यो धुले मैदानमा । उसकी पत्नी अझै निदाइरहेकी थिई । छोरो हल्का घुर्दै थियो । सुत्न अप्ठेरो भएको थियो सायद । उसले छोरोलाई यस्सो हल्लाएर कोल्टे फर्काइदियो । मन मानेन उसको, काखमा लियो छोरोलाई । घुराइको आवाज बन्द भइहाल्यो ।

बिहानको चारजति बजेको थियो । बेतोडले चलेको बतासले बिहानको प्रथम उज्यालो पनि त्यति मिठो प्रतीत थिएन । बिस्तारै उदाउन खोजेको सूर्यलाई धुलाम्मे बनाएको थियो हुरीले ।

मुस्तफा एकटकले सूर्यतिर हेरिरहेको थियो । सूर्य त्यसबखत नरम थियो । नझिम्किएका उसका आँखालाई धुलोले बिथोलिरहेको थियो । ऊ स्वयम्लाई थाहा थिएन, हातहरू अचेतनमा आँखामा परेको धुलो पन्छाइरहेका थिए । मधुर उज्यालोमा मुस्तफाले एकपटक आफ्नी पत्नीको अनुहार नियाल्यो । हावाले बुर्का उडाउन खोजिरहेको थियो, त्यसैले अनुहार खोलिएको थियो ।

मुस्तफाले त्यतिखेर सम्झ्यो– आफ्ना केही छिमेकी, समवयका । ती अधिकांशले तीनवटी विवाह गरेका थिए । तर, मुस्तफाले यही एक स्त्रीमाथि विश्वास गर्यो, भर पर्यो र जीवनगति चलाइरह्यो । उसले यीबाहेक कुनै एक स्त्रीतर्फ पनि आँखा लगाएन । ऊ पहिल्यैदेखि सोच्थ्यो– एक पत्नी र एक बच्चाका बारेमा । उसले आफूले सोचेको कुरा पूरा गर्यो । जे सोच्यो त्यही पुग्यो, अल्लाहलाई धेरैपटक धन्यवाद भन्यो । उसका कतिपय साथी उसलाई नामर्द भन्थे, एउटी मात्र पत्नी ल्याएकोमा । निरन्तरजसो व्यंग्य गर्थे साथीहरू मुस्तफालाई । तर, ऊ आफूले सोचेजसरी नै चल्न पाएकोमा खुसी थियो, गर्व गथ्र्यो आफैँप्रति । ऊ व्यंग्य गर्ने साथीहरूसँग प्रतिवाद कहिल्यै गर्दैनथ्यो । आफैँभित्र ऊ सन्तुष्ट थियो, आफू सफल भएको ठान्थ्यो ।

पत्नीचाहिँ बिउँझिन् । हत्तपत्त बुर्का मिलाउँदै अनुहार छोपिन् उनले । छोरो चलमलाउँदै थियो । मुस्तफाले छोरोलाई ‘अब उठ’ भन्यो । बाँकी यात्राका निम्ति उसले पाइला चाल्ने निधो गर्यो, बिहानको पाँच बज्दा नबज्दै ।

केहीबेर हिँड्दा सूर्य पूरै रापिलो भइसकेको थियो । उज्यालो तिरमिराउने अवस्थामा पुगिसकेको थियो । तर, त्यो उज्यालोले मुस्तफालाई बाटो देखाउन सकिरहेको थिएन । उसको मनभित्र अनिश्चितता यति गहिरो बनिसकेको थियो कि अन्धकार जताततै व्याप्त थियो । त्यो उज्यालोले अन्धकारको जन्म गराइदिएको थियो मुस्तफाको हकमा । 

हिँड्दै, बस्दै, पुनः उठ्दै उसले थुप्रै उज्यालाहरू पार गर्यो, मनभित्र अन्धकार भएर पनि । हरेक दिन बिहानै उसको यात्रा सुरु हुन्थ्यो । तर, पुग्नुपर्ने कुनै ठाउँ थिएन । पुगेर गर्नुपर्ने कुनै काम थिएन । कहीँ पुगेर कसैलाई भेट्नुपर्ने पनि थिएन । निर्वासनको पीडा र छटपटी सुनाउनुपर्ने थिएन । त्यो निर्जन ठाउँमा कसले सुन्ने पीडा, कसलाई सुनाउने कष्ट ? कसले सुनिदिने मुस्तफाको कहर ?

यात्राभरि मुस्तफाले आफूसँग निकै कुरा गर्यो । बोलिरह्यो आफैँसँग, पीडा साट्ने प्रयत्न गरिरह्यो ।

छोरो एक अबोध बालक…! पत्नी… ऊजस्तै अर्थात्, अनपढ । पतिले केही सोध्दा आवाजमा होइन, टाउको हल्लाएर जवाफ दिन्छे । त्यसलाई जवाफ पनि के भन्नु ! पतिको हरेक कुरामा उनी सहमति जनाउँछिन् । ठिक–बेठिक वा राम्रो–नराम्रो सबैमा सहमति !

मध्याह्नमा पानी अलिअलि पर्न थाल्यो । उखरमाउलो गर्मी भगाउन ‘अल्लाहले मेहरबानी’ गरेको सोच्यो मुस्तफाले । बिस्तारै पानी घनघोर हुन थाल्यो । मुस्तफा कतै ओत पाइन्छ कि भनी आँखा डुलाउन थाल्यो । तर, कहाँ पाउनु त्यहाँ ओत ! उसले साइकलमा भएको सानो प्लास्टिक सम्झ्यो । त्यसलाई निकालेर छोरोलाई ओढाइदियो । मुस्तफा र उसकी पत्नी पानीमा निथु्रक्क भिजे । हरेकपटक बिजुली चम्कँदा छोरो तर्सन्थ्यो र कहालिएर रुन्थ्यो । पत्नीचाहिँ पनि उसैगरी डराउँथिन् ।

करिब चार घण्टा यसरी नै बिते मुस्तफाका । त्यो अवधिमा मुस्तफाले ४० पटक अल्लाहलाई पानी रोकिदिन अनुरोध गर्यो, प्रार्थना गर्यो । सायद, अल्लाह निकै दूर थिए, मुस्तफाको चित्कार सुन्न सकेनन् । तर पनि मुस्तफा अल्लाहको नाममा चिच्याउन छाडेन । जब पानी रोकियो, उसले अल्लाहलाई धन्यवाद भन्यो । पानी रोकिदिएकोमा कृतज्ञ भयो ऊ अल्लाहप्रति !

अलि पर गएर मुस्तफाले भिजेको कपडा फेर्यो । त्यसैगरी कपडा फेर्ने चाहना उसकी पत्नीलाई पनि थियो । तर, उनले त्यसो गर्न पाइनन् । अल्लाहको लाज राख्न त्यहाँ कुनै गोप्य ठाउँ थिएन, जहाँ उनी आफ्नो कपडा फेर्न सकून् ! उनी चिसै कपडामा हिँड्न थालिन् ।

फेरि, सदाझैँ रात पर्यो । रात पर्नुअघि त्यस दिनको गोधूलिमा मुस्तफा एकपटक रमाएको थियो । केही टाढा एउटा सिंगो घर देख्यो उसले । तर, पत्याउन सकिरहेको थिएन । उसले पुनः एकपटक आँखा मिचेर हेर्यो । साइकल अलि छिटोछिटो चलाएर त्यो घरनजिक पुग्न खोज्यो ।

घर त सिंगै थियो । तर, त्यो अर्कैले ओगटिसकेको थियो । घर ओगट्ने मानिस उसको चिनजानकै थियो । त्यो परिवार मुस्तफाभन्दा केही दिनअघि नै घर छाडेर हिँडेको थियो ।

घरमा अर्कै परिवार बसिसकेको देखेपछि मुस्तफा निराश भयो । अब त्यहाँबाट पुनः हिँड्नुको विकल्प ऊसँग थिएन । फेरि थाल्यो मुस्तफा साइकल घिच्याउन । त्यो रात पनि ऊ पूर्ववत् हिँडी नै रह्यो ।

कतै दूर क्षितिजबाट सूर्योदयको झल्को देखियो । मिर्मिरे हुँदैथियो, ऊ हिँडेको ठाउँमा । तर, त्यो बिहानले पनि उसमा कुनै स्फूर्ति ल्याउन सकिरहेको थिएन ।

मिर्मिरेमै उसले आफ्नी पत्नीलाई भन्यो, ‘अब आज यहीँ बास बसूँ ।’

पत्नीचाहिँ छक्क परिन् । सधैँ मिर्मिरेमा उत्साही हुँदै अब हिँडौँ भन्ने मुस्तफा आज किन बास बसूँ भनिरहेको छ ? उनले पतिको अनुहारतिर हेरिन्, मुस्तफाको अनुहार आराम खोजिरहेको थियो । उनी केही बोलिनन्, थुचुक्क धुले भुइँमा बसिन् । उनीहरूको छोरो मस्त निदाइरहेको थियो ।

मुस्तफाले एकपटक मिर्मिरेमा देखिन लागेको सूर्यतिर हेर्यो । आफूले पार गर्नुपर्ने सीमातीत बाटोतिर पनि हेर्यो । छोरोलाई हेर्‍यो, पत्नीलाई हेर्यो अनि आफू बसिरहेको धुलौटे भूमितिर हेर्यो ।

भुइँमा प्याच्च थुक्यो, दुई थोपा आँसु चुहायो, पसिना त उसै पनि आफैँ चुहिरहेकै थियो । -baahrakhari