बिन्द्रावतीको घर बनाउने सपना


परासी– पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाा–६, राजाबारीकी ३५ वर्षीया बिन्द्रावती गुप्ता एकल महिला हुन् । उनीमाथि जिम्मेवारीको भारी छ । अहिले दुई सन्तानको पठनपाठनका साथै घरायसी जिम्मेवारी छ । सानो जमिनको टुक्रामा झुप्रो छ । खपटाले छाएको त्यहीँ झुप्रो पनि चुहिन्छ । त्यसैले आधा पाखो पालले छोपिएको छ । ठूलो वर्षा भएका बेला घरभित्र पानी पस्छ । किरा र सर्पको जोखिम छ । तर, बिन्द्रावती दुःखजिलो गरेर जीवन बिताइरहेकी छन् ।
आठ वर्ष अघिसम्म घर बाहिर कमाउने जिम्मेवारी पतिको थियो । बिन्द्रावती घरायसी काममा व्यस्त हुन्थिन् । पतिको निमोनिया भएर मृत्यु पछि ठूलो समस्यामा परिन् । धेरै खर्च गरे पनि पतिको ज्यान बचाउन सकिनन् । त्यसपछि घर र सन्तानको जिम्मेवारी उठाउनु पर्यो । सीप केही थिएन । घरायसी काम जानेकी बिन्द्रवातीले नजिकै सिमापारी रहेको भारतीय गाउँमा पुगेर काम गर्न थालिन् । उनको दैनिकी यसरी नै चलिरहेको थियो ।
‘एकल महिला भएपछि समाजबाट धेरै कुरा खेप्न पर्यो,’ उनले भनिन्, ‘मानिसले बुढा खायो भन्थे ।’ यस्ता वचन सुने पनि उनले कहिल्यै हरेस खाइनन् । सन्तान पनि हुर्किंर्दै गए । मजदुरीको कमाईले खर्च चलाउन धौँ भयो । त्यसपछि व्यवसाय सञ्चालन गर्ने सोंच बनाइन् । सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताको सदुपयोग गरि खटियामा खुद्रा सामान राखेर बेच्न थालिन् । नजिकको बिद्यालयमा लगेर व्यापार सुरु गर्न थालिन् ।
त्यतिबेला ए.बी.सी. नेपालद्वारा संचालित संवाद केन्द्रमा बिन्द्रावतीकी छोरि गुन्जा आबद्ध थिइन् । संवाद केन्दैमा १३ देखि १९ वर्षका किशोर किशोरी आवद्ध हुन्छन् । उक्त समूहलाइ लक्षित गरि सञ्चालन गरिएको संवाद केन्द्रमा एउटै टोलका २२ देखि २५ जना सहभागी हुन्छन् । उक्त केन्द्रमा सहभागीलाई सहभागितामूलक ढंगले जीवनउपयोगीे सीपदेखि लिएर विभिन्न सामाजिक समस्या समाधान गर्ने क्षमता विकास, जीवनको लक्ष्य पुरा गर्नका लागि जीवनबृत्ति विकास योजना, परिवारको समस्या समाधान गर्न पारिवारिक विकास योजना, आर्थिक उन्नति गर्नका लागि आयआर्जनका श्रोतहरुबारे छलफल गर्ने गरिन्छ ।

संवाद समूहमा छलफल गर्ने क्रममा छोरि गुन्जाले आफ्नो घरायसी समस्याबारे जानकारी गराइन् । उक्त जानकारीपछि बिन्द्रावतीले एबीसी नेपालबाट ४० हजार रुपैयाँ रकम प्राप्त गरिन् । त्यस रकमबाट उनले खुला व्यापारलाई व्यवस्थित गरि एउटा टंकी (घुम्ती) बनाएर सुरु गरिन् । सामान थप गरिन् । पहिले विद्यालयमा गएर सामान विक्री गर्थिन् ।
आर्थिक सहयोग मिलेपछि घरमै घुम्ति पशलबाट व्यापार गर्न थालिन् । दैनिकी २ सय रुपैयाँ दरले बचत गरिरहेकी छन् । उक्त बचत गरेको रकमबाट बाख्रा पालन सुरु गरेकी छन् । छुट्टीका बेला छोरि गुन्जाले बाख्रा स्याहार गर्छिन् । बचत रकमबाट बच्चाको पढाई, खाना र आपतकालीन काममा सहयोग पुगेको छ ।
‘गास र बच्चाको जिम्मेवारीको निम्ति म लागिरहेको छु,’ बिन्द्रावतीले भनिन्, ‘मेरो सपना एउटा गतिले बास भएको भए मेरो जीवन सहज हुने थियो ।’ उनले थोरै थोरै रकम बचाएर घर बनाउने सपना बुनेकी छन् । ‘घर बनाउने सपना कहिले पूरा होला भन्नेमा छु’, उनले भनिन्, ‘त्यसका लागि सबै किसिमका परिश्रम गर्न तयार छु ।’

प्रतिकृया दिनुहोस्