March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

मर्चवारका ५० परिवारलाई रोटरीद्वारा न्यानो कपडा वितरण

भैरहवा– साढे दुई दशकदेखि रुपन्देहीमा सामाजिक क्षेत्रमा क्रियाशील संस्था रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले जिल्लाको मर्चवारस्थित एक गाउँका जेष्ठ नागरिक एवं गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको समन्वयमा क्लबले बुधबार मर्चवारी गाउँपालिका–२, पेडरहवामा उक्त सामाग्री वितरण गरेको क्लबका पूर्वअध्यक्ष किशोर जोशीले जानकारी दिए ।

Advertisement

क्लबले पेडरहवाका ५० घरपरिवारलाई सामान उपलब्ध गराएको हो । क्लबका अनुसार प्रत्येक घरपरिवारलाई एक थान ब्ल्यांकेट, म्याट्रेस, टोपी, भुजा, बिष्कुट वितरण गरिएको छ । क्लबमा आबद्ध सदस्यहरुको सहकार्यमा करिब एक लाख रुपैयाँ बराबरको उक्त सामान वितरण गरेको जोशीले बताए ।

Advertisement

उक्त सामान वितरण कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रशासनको अनुरोधलाई आत्मसाथ गरेर क्लबले महत्वपूर्ण सामाजिक कार्य गरेको भन्दै प्रशंसा गरे । उनले पुसको कठ्यांग्रिँदो जाडोमा गरिब तथा विपन्न परिवारलाई निकै समस्या परिरहेको जनाउँदै रोटरी जस्ता धेरै संघसंस्थाको सहकार्यमा न्यानो कपडा उपलब्ध गराउन प्रशासन लागि परेको जनाए । प्रशासनले अहिले धेरै सामाजिक संस्थाहरुसँग सहकार्य गरेर चिसोका कारण कसैलाई समस्या नहोस् भन्ने हेतुले काम गरिरहेको उनले जनाए ।

‘चिसोले कुनै पनि नागरिकको ज्यान नजाओस्, कस्टकर जीवन यापन गर्न नपरोस् भनेर लागिरहेका छौं’, पाण्डेले भने, ‘जिल्ला धेरै सामाजिक संस्था र सहयोगी हातहरु छन्, हामीले समन्वय र सहकार्य गरेर सबै नागरिकलाई सुरक्षित गराउन लागिपरेका छौं ।’ मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले चिसोका कारण कष्टकर जीवन विताइरहेका वडाका गरिब तथा जेष्ठ नागरिकलाई सहयोग गरेर रोटरी क्लबले पुण्यको काम गरेको बताए । ‘पालिकामा चिसोको समस्या भोगेका धेरै नागरिक हुनुहुन्छ’, उनले भने, ‘यस्ता सामाजिक संघसंस्थाको सहयोग ठूलो राहत मिलेको छ । केहीलाई पालिकाले पनि सहयोग गरिरहेको छ भने केहीलाई हामीले विभिन्न संस्थाहरुसँग सहकार्य गरेर न्यानो कपडा वितरण गरिरहेका छौं ।’

रोटरीका एसिस्टेन गभर्नर राजु खरेलले क्लबले स्थापनादेखि नै सामाजिक क्षेत्रमा धेरै काम गरेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे । ‘जुन सामाजिक भावले क्लब स्थापना भएको हो, यहाँहरुले त्योअनुसार काम गर्नुभएको छ’, उनले भने, ‘यस्ता सामाजिक कार्यलाई अझ गाउँगाउँ र विपन्न बस्तीहरुमा पुर्याउन जरुरी छ ।’ क्लबका पूर्व अध्यक्ष डा.शान्तकुमार शर्माले सधै सेवाभाव राखेर क्लबले काम गरिरहेको जनाए । ‘जुनसुकै परिस्थितिमा पनि क्लबले केही न केही सामाजिक कार्य गर्दै आएको छ’, उनले भने, ‘पुस यस्तो चिसोमा जेष्ठ नागरिक र विपन्न परिवारलाई गरेको सहयोग अतुलनीय छ ।’

क्लबका अध्यक्ष भोजबहादुर खत्रीले यस क्षेत्रकै पूरानो मध्येको रोटरी क्लबले विगतदेखि नै सामाजिक कार्य गर्दै आएको जनाउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले सेवा भावले स्थापना गरिएको क्लब भएकाले जहाँ–जहाँ समस्या हुन्छ, त्यहाँ–त्यहाँ आफूहरुले सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि गर्ने बताए । चिसो मौसममा धेरै विपन्न परिवारलाई समस्या भएको बताउँदै उनले आउँदा दिनमा प्रशासन र स्थानीय सरकारसँग समन्वय गरेर सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताए ।

‘गरिबीकै कारण कसैले ज्यान गुमाउन नपरोस्, चिसोमा कठ्यांग्रिँदै बस्न नपरोस्, एक छाक खानाका लागि भौतारिन नपरोस् भन्नेमा क्लब सधै सचेत छ’, उनले भने, ‘जहाँ दुख्छ, त्यहाँ हामी पुग्छौं, सकेको सहयोग गर्छौं ।’ मर्चवारी वडा नम्बर २ का वडाध्यक्ष शशि दयाल चौधरीले क्लबले अत्यन्तै गरिब तथा जेष्ठ नागरिकलाई सहयोग गरेको बताए । ‘यो गाउँमा निम्न वर्गीय नागरिकको बसोबास छ, त्यसैले मैले यहाँ सहयोग गर्न सिफारिस गरेको हुँ’, उनले भने, ‘तपाईंहरुको सहयोगले गाउँबासीलाई ठूलो राहत मिलेको मैले महसुस गरेको छु ।’

कार्यक्रम संयोजक हरिबहादुर थापा क्लबका सचिव प्रकाश पोखरेल लगायतले बोल्दै समाजिक उत्तरदायित्व अन्तर्गत क्लबले विभिन्न ठाउँमा यस्ता किसिमका सहयोग गर्दै आएको बताए । उनीहरुले गाउँपालिकाको समन्वयमा आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । उक्त कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मी, सशस्त्र प्रहरी प्रमुख गगनकुमार श्रेष्ठ, क्लबका पूर्वअध्यक्ष सावित्री गुरुङ, अध्यक्ष मनोनित ओम जोशी, सदस्यहरु मधु गौतम, मोहनसिंह गुरुङ, दुर्गा भुसाल, मिनिता क्षेत्री, गंगासागर अग्रहरी लगायतको सहभागिता थियो ।