April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एमालेका दुई हस्ती पौडेल र भुसालको निर्वाचन क्षेत्र जोखिममा

भैरहवा– नेकपा एमालेमा कहिले पार्टी अध्यक्ष केपी शर्मा ओली त कहिले तत्कालीन अध्यक्ष माधवकुमार नेपाल पक्षीय हुँदै लाभ उठाउँदै आएका नेता हुन्, विष्णुप्रसाद पौडेल । चतुर र राजनीतिक अंकगणितमा माहिर मानिने पौडेलले बलियो गुट समाउँदै हिँड्दा धेरै पटक मन्त्री भइसकेका छन् । उनी अहिले एमालेको केन्द्रिय उपाध्यक्ष छन् ।

Advertisement

बैचारिक तर सधै उनको नीति र सिद्धान्तमा पार्टीभित्रै आलोचना हुने अर्का नेता हुन्, घनश्याम भुसाल । पार्टीको उपाध्यक्षमा पराजित हुँदा उनी एमाले महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्य निर्वाचित भएका थिए । अहिले स्थायी कमिटी सदस्य छन् । पूर्वमन्त्रीसमेत रहेका भुसाल बौद्धिक नेता मानिन्छन् । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पौडेल रुपन्देही दुईबाट अत्यधिक मतसहित विजयी हुँदा भुसाल क्षेत्र नम्बर तीनबाट निर्वाचित भएका थिए ।

Advertisement

दुबै हस्तीको निर्वाचन क्षेत्र जोखिममा
एमाले नेता पौडेल र भुसालले स्थानीय निर्वाचन–२०७९ मा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कुनै पनि स्थानीय तहमा पार्टीका उम्मेदवारलाई जिताउनत सकेनन्, सकेनन् आफ्नै वडा समेत गुमाए । पौडेल मतदाता रहेको बुटवल उपमहानगरपालिका–८ मा नेपाली कांग्रेस विजयी भयो भने भुसाल मतदाता रहेको तिलोत्तमा नगरपालिका–९मा पनि काँग्रेस नै विजयी भएको छ ।

आफ्नै वडामा उम्मेदवार जिताउन नसकेका यी दुई नेता निर्वाचन क्षेत्रमा झनै कमजोर देखिएका छन् । विष्णु पौडेलको निर्वाचन क्षेत्र पर्ने क्षेत्र नम्बर दुईको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसले जित हात पारेको छ । यस्तै, भुसालको क्षेत्र पर्ने क्षेत्रनम्बर ३ को सिद्धार्थनगर नगरपालिका, मायादेवी, सियारी र शुद्धोधन गाउँपालिका तथा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका पनि काँग्रेसले जितेको छ ।

जनतासँग प्रत्येक्ष सरोकार राख्ने स्थानीय तहकै नेतृत्व गुमाएपछि यी दुई नेता आगामी प्रतिनिधि सभामा पनि पराजय हुन्छन् की भन्ने रुपन्देहीको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । विश्लेषक उमेशचन्द्र रिजाल भन्छन्, ‘राजनीतिक रुपमा पौडेल र भुसालजी राम्रा नेताहरु हुनुहुन्छ तर जनताको हरेक विषयमा सरोकार राख्ने स्थानीय तह गुमाउँदा उहाँहरुलाई पक्कै पनि जोखिम बढेको देखिन्छ ।’ निर्वाचनका बेला उम्मेदवारहरुसँग घरदैलोमा होमिएका पौडेलले र भुसाल यसपटकको चुनावमा नराम्रोसँग आफ्ना क्षेत्रमा पर्ने स्थानीय तह गुमाउँदा पार्टीभित्र पनि आलोचित भइरहेका छन् ।

किन पौडेललाई जोखिम ?
पछिल्ला वर्षहरुमा पौडेल राजनीतिकरुपमा निकै विवादित हुँदै आएका छन् । एमालेको गढ मानिने आफ्नै निर्वाचन क्षेत्रको स्थानीय तह निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्र र बाहिर उनी कमजोर हुँदै गएका छन् । वि.सं. ०५६ सालको संसदीय चुनावमा पौडेल पहिलो पटक बुटवल क्षेत्रबाट चुनाव लडेका थिए । त्यसबेला उनी कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भए ।

२०६४ सालको संविधान सभाको चुनावमा तत्कालीन रुपन्देही क्षेत्र नम्बर ४ बाट पौडेल संविधान सभा सदस्यमा निर्वाचित भए । उनी निर्वाचित भएपछि बुटवलमा एमालेको संगठन बलियो हुँदै गयो । २०७० सालको संविधान सभामा चुनावमा पनि बुटवलबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पराजित गर्दै पौडेल विजयी भए । २०७४ सालको प्रतिनिधि सभाको चुनावमा पनि पौडेल फराकिलो अन्तरले विजयी भए । त्यसपछि बुटवललाई एमालेकै गढ मानिन्थ्यो । पटकपटक मन्त्री भएका उनले लामो समयसम्म बुटवलको सुकुम्बासी समस्या समाधान गर्न नसकेको आरोपमा कमजोर हुँदै गएका थिए ।

निर्वाचनका बेला सधैं सुकुम्बासी समस्या समाधान गर्छु भन्ने उनले कहिल्यै त्यो बाचा पूरा गर्न नसकेको सुकुम्बासीमा बस्दै आएका स्थानीय बताउँछन् । यसपटक आफ्नै निर्वाचन क्षेत्रका स्थानीय तहमा पराजय भोग्दा उनी झनै कमजोर हुँदै गएका छन् । पौडेलको निर्वाचन क्षेत्र जोखिममा पर्नुको अर्को कारण हो । लुम्बिनी प्रदेश राजधानी बुटवलबाट दाङ सर्नु । सुरुमा राजधानी बुटवल तोकिँदा त्यसको जस लिँदै हिँडेका उनी राजधानी सर्दा समर्थन गरे । अर्थात् एमालेले त्यसमा साथ दियो ।

बालुवाटार जग्गा काण्डले पनि पौडेल निकै विवादित भए । बालुवाटार जग्गा काण्डका समाचार बाहिर आउँदा सबै भन्दा बढी चर्चा पौडेलकै भयो । बालुवाटारस्थित ललिता निवास परिसरमा पौडेलका छोराको नाममा चारआना जग्गा थियो । जग्गा भएकाले पौडेलको सर्वत्र आलोचना भयो । सरकारी जग्गा शक्तिको प्रयोग गरेर आफ्नो छोराको नाममा गराएको उनीमाथि आरोप छ । अर्को उनको नम्बरी जग्गा हुँदाहुँदै विगतमा बुटवलमा सुकुम्बासीका नाममा जग्गा लिएको भन्दै उनीमाथि आलोचना छ । २०७७ फागुनमा अर्थमन्त्री हुँदा उद्योग मन्त्री लेखराज भट्टलाई लिएर पौडेल मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका थिए । तर, शिलान्यास समारोह नसकिँदै उनी लखेटिनुपरेको थियो । आफूहरुले भोगचलन गरेको जग्गा मोतीपुर औद्योगिक क्षेत्रलाई दिइएको र आफूहरुलाई विस्थापित गर्न खोजेको भन्दै स्थानीय आक्रोशित थिए । शिलान्यास कार्यक्रममा ढुंगा प्रहार तनावको अवस्था उत्पन्न भयो । यसले उनलाई झनै कमजोर बनायो । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको धुलाम्मे सडक र खाल्डाखुल्डीले पनि नागरिकहरु निराश थिए । एमालेका तत्कालीन मेयर शिव सुवेदीको कार्यशैलीप्रति पनि पार्टीभित्रकै कार्यकर्ता रुष्ट थिए । यससँग पौडेल पनि जोडिए ।

भुसालको झनै जोखिम
क्षेत्र नम्बर एकमा पर्ने तिलोत्तमा नगरपालिका निवासी भुसाल २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर तीनबाट उम्मेदवार भएर निर्वाचित भए । २०७० मा काँग्रेस नेता एवं हालका गृहमन्त्री बालकृष्ण खाँणसँग पराजित भएका थिए । २०५६ को उपनिर्वाचनमा भैरहवाबाट भुसाल निर्वाचित भएका थिए ।

यसपटक आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै पालिकामा एमालेले पराजय भोग्यो । जसले गर्दा उनी कमजोर हुँदै गएका छन् । असल व्यक्तित्व र बौद्धिक नेता भए पनि उनले आफ्नो क्षेत्रको विकासमा ध्यान नदिएको उनीमाथि आरोप छ । पूर्वमन्त्री समेत रहेका भुसाललाई सबैभन्दा डर अन्तरघातको छ । एमालेभित्र उनी खरो आलोचक हुन् । जसले गर्दा पार्टी अध्यक्ष ओली पक्षका कार्यकर्ताले उनलाई घात गर्ने जोखिम छ । पार्टी उपाध्यक्षमा पराजित भएपछि उनी क्षेत्रदेखि स्वयं पार्टीभित्रै कमजोर हुँदै गएका छन् । स्थानीय तहमा पराजय भोग्नु र पार्टीभित्रको अन्तरघातको जोखिम तथा क्षेत्र विकासमा ध्यान नदिएका कारण भुसालको क्षेत्र उनका लागि झनै जोखिम बनेको छ ।