वडा विकासका रोलमोडल
भैरहवा– २०७४ अघि तुलनात्मक विकास मात्रै थियो । भित्री सडक कच्ची थिए । सरसफाई थिएन । वडा उजाड जस्तै थियो । सार्वजनिक जमिन संरक्षण थिएन । जमिनको सोधखोज कसैले गर्दैनथ्यो ।
अहिले भने वडाका अधिकांश सडक कालोपत्रे भएका छन् । मुख्य सडकहरु हरियाली छन् । सार्वजनिक जमिनको खोजी मात्रै भएको छैन, संरक्षण भएको छ । सार्वजनिक जमिनमा बहुउद्देश्यीय खेलमैदान बनिरहेको छ । नदी किनारमा आकर्षक पार्क बनेको छ । वडामा बन्ने हरेक पूर्वाधारलाई गुणीतरीयता बनाउन प्रत्यक्ष निगरानी रहने गरेको छ ।
यो सबै परिवर्तन सक्षम नेतृत्वकै कारण सम्भव भएको हो । स्थानीय तह निर्वाचन–२०७४ मा एमालेबाट उम्ेमदवार बनेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ को वडाध्यक्षमा थानेश्वर पौडेल निर्वाचित भए । त्यसपछि वडाले मुहारै फेरेको छ ।
पौडेल वडाध्यक्ष भएपछि वडामा संघीय सरकारको मात्रै होइन्, प्रदेश सरकारले पनि बजेट उपलब्ध गरायो । सरल स्वभाव, हसिलो र मिजासिलो बोलीका धनी पौडेलले नगर प्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशसकीय अधिकृतलाई सहजै प्रभावित पार्थे । जसका कारण नगरले धेरै बजेट वडा नम्बर तीनमा छुट्याउँथ्यो ।
‘थानेश्वरजीले राम्रा, जनजीविकासँग सरोकार राख्ने र स्पष्ट योजना ल्याउनुहुन्थ्यो, त्यही कारण पनि नगरपालिका वडामा बजेट छुट्याउन कन्जुस्याइँ गर्दैनथ्यो’, सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी भन्छन्, ‘उहाँको इमान्दारिता, कामप्रतिको जवाफदेहिता र लगनशीलताले वडाबासी मात्रै होइन्, नगरबासी नै खुशी हुने गर्छन् ।’
वडाध्यक्ष भए पछि पौडेलले वडा सरसफाइको अभियान चलाए । सरसफाई अभियानमा वडाबासी स्वतःस्फूर्त सहभागी हुने गर्थे । विस्तारै वडाबासीमा सरसफाईप्रति बानीको विकास भयो । जहाँपायो त्यही फोहोर फ्याँक्न छाडे । जसका कारण नगरमा अन्य ठाउँमा भन्दा वडा नम्बर तीन सफा छ ।
प्रत्येक वडाबासीको घरघरमा पुग्ने, सुखदुःखका कुरा साटासाट गर्ने । वडाबाट हुने काम गरिदिने, नगरबाट हुने काममा आफै गएर भए पनि सकार्न सहयोग गर्ने उनले गर्दै आए । प्रदेश र संघ सरकारबाट हुने काममा समन्वय गरिरहे । ‘उहाँले कहिल्यै यो पार्टी, त्यो पार्टी भनेर, कुनै जातजाति, धर्मसंस्कृति भनेर विभेद गर्नुभएन’, सिद्धार्थनगर–३ का स्थानीय गणेश बेल्बासे भन्छन्, ‘यही कारण थानेश्वरजी सबै वडाबासी र नगरबासीको मन–मस्तिष्कमा बस्नु भएको छ ।’
पौडेलकै नेतृत्वमा वडामा सार्वजनिक जमिनको खोजी सुरु भयो । डण्डा नदी छेवैमा सार्वजनिक जमिन पाइयो । तर, खाडल र वर्षा याममा डुवान हुने ठाउँमा जमिन भेटियो । पौडेलले योजना बनाए । आफू पर्यटन व्यवसायी समेत रहेका कारण पर्यटन प्रबद्र्धनको योजना बनाए । यो बारे नगर प्रमुख र उपप्रमुखलाई सुनाए ।
उनले योजना बनाएका थिए, दरखसवामा पार्क निर्माणको । नगरबाट स्वीकृत भयो । अहिले आकर्षक पार्क निर्माण अन्तिम चरणमा छ । ‘यो पार्कले आन्तरिक मात्रै होइन्, बाह्य पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ’, पौडेलले भने, ‘यो भैरहवाको पर्यटन विकासको आधार हो ।’ भैरहवामा कुनै किसिमको पार्क छैन । पार्क नहुँदा समय व्यतित गर्न भैरहवाबासी अन्यत्र जार्ने गर्छन् । तर, यो पार्क निर्माण पछि यहाँ भुल्न सहज हुने पौडेलले बताए ।
यस्तै, पौडेलकै पहलमा वडा नम्बर तीनमा बहुउद्देश्यीय दरखसवा खेलमैदान निर्माण भइरहेको छ । शैक्षिक क्षेत्रमा पनि उनको पाँच वर्षे कार्यकालमा धेरै पहल गरे । उनको पहलमा विद्यालयका भवन निर्माण भएका छन् । फर्निचर, कम्प्युटर, कुर्सी, डेक्सबेन्च विद्यालयलाई उपलब्ध गराइएको छ । खजना आधारभूत विद्यालयमा दुई तल्लाको भवन निर्माण भएको छ । तेस्रो तल्ला निर्माण प्रक्रियामा छ । यो विद्यालयलाई ल्यावसहितको नमूना आधारभूत विद्यालय बनाउने योजना रहेको पौडेल बताउँछन् ।
गरिबी, भोक, रोग र अशिक्षाको मुक्तिका लागि आफ्नो कार्यकालमा प्रयास गरेको पौडेलले जनाए । वडाका हुने हरेक विकासका काममा उनले निगरानी गरिरहे । जसले गुणस्तरीयता कायम गर्न सफलता मिलेको छ । ‘वडामा विभिन्न जातजाति, धर्म र संस्कृतिको साझा बसोबास छ । यहाँका मानिसमा परम्परागत ज्ञान, सीप र कलाहरु छन् । तर, आधुनिकताका नाममा ति लोप हुने क्रममा छन । आफ्नो मौलिक पहिचान गुमाएर विकास हुन सक्दैन । कला र संस्कृतिको संरक्षण गर्न राज्य तहबाटै प्रयासको खाँचो छ । त्यसका लागि मैले निरन्तर प्रयास गर्दै आएको छु’, पौडेलले भने । नगरपालिकाको विकास र समृद्धिको आधार भनेको पर्यटन नै हो । त्यसको सुरुवात आफ्नो वडाबाट गरेको पौडेल बताउँछन् ।
सोमबार साँझ आफ्नै निवासमा भेटिएका पौडेलले भने, ‘धेरै कामको सुरुवात गरेँ, केही सम्पन्न भए, केही बाँकी छन् । ती कामलाई पूर्णता दिन र नयाँ योजनासहित वडाको विकास गर्न म चाहन्छु ।’ उनको पहलमा नगरमै पहिलो ब्लड बैंक यही वडा निर्माण भइरहेको छ । यस्तै, वडाको भवनमा तल्ला थपेर प्रशासनिक कामलाई थप सहज बनाइएको छ । काँटागाउँमा कर्वस्थानलाई ब्लक विछ्याएर व्यवस्थित गरिएको छ ।
विपन्न ६ घरपरिवारलाई मेयर आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिदिएको उनले बताए । मैत्तीपथमा नगरकै पहिलो खुल्ला ब्यायमशाला निर्माण प्रक्रिया अघि बढेको छ । वडाका अधिकांश घरमा स्वच्छ खानेपानी पुर्याइएको छ । सडक फराकिला र ढल निकासलाई व्यवस्थित गरिएको छ । वडामा आधारभूत स्वास्थ्य सेवा सुरु भएको छ ।
कोरोना महामारीका बेला पौडेलले कयौं गरिब तथा विपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका थिए । सबैजसो नागरिकको घरघरमा पुगेर आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पालना गराउन पहल गरे । जसले गर्दा महामारीको विकराल अवस्थामा पनि वडाबासीमा बनोबल बढ्यो र स्वास्थ्य मापदण्ड पालना स्वतःस्फूर्तरुपमा भयो । पौडेलले लक्षित समुदायको विकासमा विभिन्न तालिम, सीपमूलक कार्यक्रम संचालनमा पहल गरे । कयौंलाई स्वरोजगार हुन प्रेरित गरे । तालिम लिएका र सीप सिकेकाहरु धेरै जना विभिन्न पेसा तथा व्यवसायमा आबद्ध छन् ।
नेकपा एमालेबाट पुनः सिद्धार्थनगर–३ को वडाध्यक्षको उम्मेदवार बनेका ५० वर्षीया पौडेल सफल व्यवसायी पनि हुन् । उनले होटल क्यासल संचालन गरिरहेका छन् । राजनीतिकर्मीले जीविकोपार्जनका लागि व्यवसाय गरे सुशासन कायम हुने उनी बताउँछन् । ‘राजनीतिलाई पेसा होइन्, सेवा बनाउनुपर्छ’, उनले भने । वडाका अधुरा योजना पूरा गर्न एकपटक फेरि नेतृत्वमा आउन चाहेको उनले बताए । ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कलासंस्कृतिका क्षेत्रमा वडालाई अग्रस्थानमा ल्याउन एकपटक वडाबासीले मलाई सेवा गर्ने मौका दिनुहुन्छ भन्ने विश्वास लिएको छु’, उनले भने ।
लेखकको सम्वन्धमा