April 18, 2025, Friday
२०८२ बैशाख ५

नारी शक्ति चिनाउँदै ‘मोम्चो’

मोम्चो (२०७८) कथाकार वसन्त पराजुलीको दोस्रो कथाकृति हो । ‘कुमाता’ कथासंग्रहबाट चर्चा कमाइसकेका पराजुलीको ‘मोम्चो’ले निकै उत्साहजनक बजार तताएको छ ।

कृतिका कथामा सामाजिक विषयवस्तुको बाहुल्यता पाइन्छ । कुनै पनि कथाले धरातल छाडेका छैनन् । प्रायः घटनावस्तु हाम्रै आँखावरिपरिबाट टिपेका जस्ता लाग्छन् ।

Advertisement

त्यसो त कथाकार स्वयम् पत्रकार भएकाले पनि कथाका फसल टिप्न त्यति असहज भएको जस्तो लाग्दैन । जम्माजम्मी एघारवटा कथाहरूको संकलन रहेको यस संग्रहका कथाहरूलाई यसरी पर्गेल्ने प्रयास गरिएको छ ।

‘वक्ररेखा’ सामाजिक विकृति एवम् अत्यन्त निन्दनीय कार्य हाडनाता करणीको विषयमाथि लेखिएको कथा हो । मान्छे कामवासनामा अन्धो भएपछि आफ्नो पराया छुट्ट्याउन सक्दो रहेनछ भन्ने यथार्थ कथाको श्रव्य नामक पात्रका माध्यमबाट प्रस्ट पारिएको छ ।

‘कुटी नंं. २००’ पतिबाट बिछोडिएर देवघाटमा जीवन व्यतीत गर्न विवश एक महिलाको कारुणिक जीवन कहानीले भिजेको कथा हो । यसमा पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिलाले भोग्नुपरेको उपेक्षित जीवन भोगाइको दृश्य शकुन्तला नामकी पात्रको माध्यमबाट देखाइएको छ ।

‘शङ्का’ कथाले पुरुष प्रवृत्तिको प्रतिनिधित्व गरेको छ । वास्तविकता नै नबुझी निर्दोष पत्नीलाई शङ्काको घेरामा राख्ने ‘म’पात्र अर्थात् पुरुष वास्तविकता थाहा पाएपछि पश्चात्तापको ज्वालामा पर्छ ।

यस कथामा श्रुति अर्थात् नारी पात्रको आत्मविश्वासको पक्ष भने कमजोर देखिन्छ ।

‘मोम्चो’ संग्रहको शीर्ष कथा हो । सिमान्तकृत समुदाय चेपाङ जातिको जीवनशैली, संस्कृति, रहनसहन, भाषा आदि चित्रण गरिएको हुँदा कथा विशेष रोचक र नौलो बनेको छ ।

वास्तवमा साहित्यका माध्यमबाट समाजमा उठान हुन नसकेका विषयलाई उठाउन सक्नु लेखकको प्राप्ति हो । छोरीलाई दाइजोमा चिउरीको बोट दिने प्रचलन पृथक किसिमको देखिन्छ । परिपक्व उमेर नपुगी बिहे गर्दा देखिने समस्यालाई कथामा उतारिएको छ । ‘आधुनिक प्रेमोपहार’ कथामा आरतीको चरित्रलाई अलि फरक ढंगबाट उतारिएको छ ।

पुरुषहरू उत्ताउला हुन्छन्, उनीहरूले महिलालाई सधँै गिद्घेदृष्टिले हेर्छन् । उनीहरू महिलाको यौनशोषण गर्ने र जे–जस्तो गरे पनि पानीमाथिको ओभानो देखिने हाम्रो सामाजिक संरचना भए पनि आधुनिकताको आगमनसँगै महिलामा आएको छाडा प्रवृत्ति (रक्सी पिउने, चुरोट तान्ने, लोग्नेमान्छेसँग बसेर जुवातास खेल्ने) जस्ता कुराहरूले महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने विषय कथामा फरक किसिमबाट प्रस्तुत गरिएको छ । पुरुष वेश्या प्रवृत्ति हावी भएको छ ।

‘हठ’ स्वास्थ्य विषयक कथा हो । हरेक नारी गर्भवती हुनु र आमा बन्नु उसका नैसर्गिक अधिकार हुन् । संसारको सर्वश्रेष्ठ शक्ति भनेकै नारी शक्ति हो । किनकि, उसले आफूजस्तै मानवलाई जन्म दिन सक्छे । 
तथापि, यस कथाकी पात्र दिया भने गर्भवती बनेदेखि नै मानसिक रूपमा विचलित भएकी छ । सन्तान जन्मेपछि स्तनपान गराउन अस्वीकार गर्दै आफ्नो फिगर बिग्रन्छ भन्ने सोच राख्ने तर पछि स्तनपान नगराएकै कारण क्यान्सरजस्तो घातक रोगको सिकार बन्न पुगेकी छ ।

स्त्रीहठ प्रस्तुत गर्न सफल बने पनि अन्त्यमा पश्चात्तापको ज्वालामा हुर्हुर्ती जलेकी छ, तर त्यति बेला समय धेरै घर्किसकेको हुन्छ । 
‘नबिर्सेको प्रेम’ मार्मिक कथा हो । अन्तर्जातीय प्रेमविवाह र त्यसका लागि गर्नुपरेका संघर्ष र झेल्नुपरेका तमाम तनावहरूलाई पैतालाले कुल्चेर सफल दाम्पत्य जीवन बिताए पनि कालान्तरमा छोरी मात्र जन्माएको निहुँमा रोशनीले हुनसम्मको पीडा सहनुपरेको छ ।

कथाको अन्त्यमा नारी प्रेम र धैर्यकी प्रतिमूर्ति हुन् भन्ने कुरा रोशन बिरामी हुँदा अस्पताल पुगेर दर्शाएको सान्त्वना र प्रेमभावका शब्दहरूले स्पष्ट हुन्छ ।

‘बेइमानी’ जनयुद्घको यथार्थ प्रस्तुत गर्ने कथा हो । व्यवस्था बदलिए पनि परिवर्तनका खातिर लड्ने योद्घा र आमनागरिकको जीवनमा अपेक्षित परिवर्तन भएन । दशवर्षे जनयुद्घमा लाग्नेहरूको जीवन त्यत्ति नै दुर्दान्त र कष्टकर थियो । युद्घको नेतृत्व गर्नेहरूले सोझासाझा जनतालाई युद्घको अग्निमा होमेका थिए ।

सुन्दर भविष्यको सपना बोकेर छापामार बनेकाहरूको जीवन जस्ताको तस्तै रहेको यथार्थ कथामा सुन्दर चित्रण गरिएको छ । ‘दोधार’ त्यस्तै कारुणिक कथा हो ।

आफूलाई पाठेघरको क्यान्सरजस्तो घातक रोग लागेको थाहा पाएपछि कथाकी पात्र प्रेमामा आएको मानसिक विचलनलाई निकै मार्मिक रूपमा चित्रण गरिएको छ ।

यसमा एकातिर नारीको कमजोर र पुरुषविना जीवन नै नदेख्ने निरीह मनोवृत्तिलाई देखाइएको छ भने अर्कोतिर म पात्रको अरू केटीसँग बिहे गरेर घरजम बसाउने वा आफ्ना कारणले प्रेमाले मृत्युवरण गरेको हुनाले उसका बुवाआमालाई हेरविचार गरी प्रायश्चित्तको भाव देखाउने भन्ने द्वैध मनस्थिति देखिएको छ ।

‘बेचिएको मातृत्व’ सुन्दर कथा हो । यसमा एउटा नारी मिर्गौलाका रोगबाट पीडित श्रीमान्को जीवनरक्षाका लागि आफ्नो अस्मिता बेच्न विवश भएकी छ । गरिबीका कारण लोग्नेको उपचारका लागि पैसा जुटाउन नसक्दा ऊ आफ्नो कोख भाडामा लगाउन विवश भएकी छ ।

विदेश जान्छु भनी झुटो बहाना बनाएर उसले नौ महिनासम्म अरूको गर्भ बोकी छोरो जन्माइदिएर पुनः घर फर्केकी छ । यसमा नारीमा हुने त्याग र समपर्णको उत्कर्ष प्रस्तुत गरिएको छ ।

‘जिजीविषा’ एकातिर विदेश भन्नेबित्तिकै के–के नै हुन्छ भन्ने ठानेर बत्तीमा पुतली होमिएझैँ होमिने अनि आफू नमरी स्वर्ग देखिन्न भनेझैँ आफूले भोगेपछि मात्र यथार्थ थाहा पाउने युवायुवतीको कथा हो ।

अर्कोतिर, नेपालभित्र निकुञ्जको आसपासका बासिन्दालाई निकुञ्जभित्रका जनावर निस्केर दुःख दिने र कतिपयले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको प्रतिनिधित्व गरेको घटनाको यथार्थ चित्रण हो ।

यसरी वसन्त पराजुलीको ‘मोम्चो’का हरेक कथाले एक–एक घटनावस्तुलाई निकै मिहिन रूपमा केलाएर देखाएको छ । एकै बसाइमा पढ्न सकिने कथाहरू भएकाले पाठकको लामो समयको अपेक्षा राख्दैन कृतिले ।

कताकति भाषागत शुद्घता र निखारताको अपेक्षा राखे पनि समग्रमा संग्रहका सबै कथाहरू पठनीय छ ।