March 22, 2025, Saturday
२०८१ चैत्र १०

बढ्दै लागूऔषधको कारोबार र प्रयोग

भैरहवा– पाँच वर्ष अघि इलाका प्रहरी कार्यालय बेलहिया, भारतीय नागरिक समाज, बेलहियाका स्थानीयले लागूऔषध नियन्त्रण अभियान चलाए । त्यसपछि ओसारपसार र प्रयोग ९५ प्रतिशत घट्यो । प्रहरीको सक्रियता बढेपछि कति प्रयोगकर्ता र कारोबारीले रुट परिवर्तन गरे । बेलहिया नाकाबाट ओसारपसार गर्ने छिमेकी जिल्ला कपिलवस्तु र नवलपरासीतर्फ लागे ।

उसबेला प्रहरीले करिब २ हजारलाई कारबाहीको दायरामा ल्याएको थियो । इलाका बेलहियाका तत्कालीन प्रहरी निरीक्षक बीरबहादुर थापाले लागूऔषध नियन्त्रणमा विशेष भूमिका खेलेका थिए । उनको सरुवा भए पछि अभियान रोकियो । त्यसपछि फेरि भारतीय बजारमा छ्यापछ्याप्ती पाइने लागूऔषध खरिद गर्ने र कारोबार गर्ने सलबलाउन थाले ।

Advertisement

सीमा क्षेत्रमा प्रहरी सक्रियता बढेपछि व्यवसायिक कारोबारीहरुले खाद्यान्न, कपडा तथा फलफूल लगायत विभिन्न दैनिक उपभोग्य सामानहरुको कार्टुनमा प्याक गरी लागूऔषधको कारोबार गर्न सुरु गरे । अभियान रोकिएको केही समयपछि ठूलो परिणामको लागूऔषध कार्टुनमा राखी माथिबाट स्याउ राखेर लैजाँदै गर्दा एकजनालाई प्रहरीले पक्राउ गर्यो ।

पछिल्लो समय फेरि रुपन्देहीसहित लुम्बिनी प्रदेश राजधानी दाङ, पश्चिम नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तुमा लागुऔषध कारोबार बढ्दै गएको छ । भारतसँग सीमा जोडिएका शहरमा बढी मात्रामा कारोबार हुँदै आएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा कारोबारमा संलग्न कम पक्राउ परे पनि उल्लेख्य रुपमा सुधार हुन सकेको छैन् । प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न करिब ३ हजार कारोबारी पक्राउ परेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७५–७६ देखि हालसम्म लागुऔषध कारोबारमा संलग्न २ हजार ९ सय ९८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेशी नागरिक समेत छन् । चार वर्षको अवधिमा १ सय ११ विदेशी नागरिक लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका विदेशीहरु सबै पुरुष रहेका छन् ।

प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेका करिब ३ हजार कारोबारी पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एसएसपी केदार घिमिरेले बताए । चालु वर्षको करिब सात महिनाको अवधिमा मात्रै ३ सय ८२ पुरुष र २५ जना महिला लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा आर्थिक वर्ष २०७५–७६ मा १ हजार २ सय ११ जना पक्राउ परेका छन् भने आर्थिक वर्ष २०७६–७७ मा ८ सय २ जना कोरोबारी पक्राउ परेका छन् । यसैगरी आर्थिक २०७७–०७८ मा ५ सय ७९ जना र चालु आर्थिक वर्षको माघ अन्तिमसम्म ४ सय ७ जना पक्राउ परेका छन् । प्रदेशमा चार वर्षको अवधिमा २ हजार ८ सय ५ जना पुरुष रहेका छन् भने १९३ जना महिला पक्राउ परेको प्रवक्ता घिमिरेले बताए ।