September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

पुतलीबाट आँखाको संक्रमण बढ्दै (भिडियो रिपोर्ट)

भैरहवा– सेतो पुतलीबाट आँखामा लाग्ने ‘सापू’ रोगका विरामी बढ्दै गएको छन् । पछिल्लो एकहप्ता यता रुपन्देहीका आँखा अस्पतालहरुमा उपचारका लागि पहाडी जिल्लाबाट सापू रोग लागेका विरामी आउने क्रम बढ्दो छ । ग्याजालिना जेनस अन्तर्गतको क्राइसोलोफा प्रजातिको निसाचर पुतलीबाट यो रोग लाग्छ । समयमै उपचार नपाए सापूले आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ ।

Advertisement

चार दिन अघि छोराले विदेशबाट पठाएको पैसा लिन बाग्लुङको निसिखोला गाउँपालिका–७, राजपुतकी निरमाया शाही बुर्तिवाङ पुगेर पैसा लिएर घर फर्किइन् । साँझ बलिरहेको बत्तिको वरिपरी सेतो पुतली घुमिरहेको थियो । प्लास्टिकले पुतली समातेर फ्याँकिन् । ‘भोलिपल्ट विहान उठ्दा आँखा रातो भयो, डिल सुन्निएको थियो’, उनले भनिन्, ‘मेडिकल पुगेँ आइड्रप ल्याएर आँखामा राखेँ, सबैले आँखा पाक्ने रोग लागेको बताए । विस्तारै आँखाको नानीमा सेतो टल्किने जस्ता लक्षण देखिए । त्यसपछि सापू लागेको आशंका भयो र अस्पताल आएँ ।’

Advertisement

बिहीबार उनी रुपन्देही भैरहवास्थित आँखा अस्पताल आएकी छन् । उनको आँखाको शल्यक्रिया भएको छ । चिकित्सकले शाही ढिलो गरी अस्पताल आएकाले आँखाको ज्योति बचाउन कठिन रहेको जनाएका छन् ।

सेतो पुतलीबाट लाग्ने सापू आँखाका लागि खतरानाक रोग हो । चिकित्सकहरुका अनुसार सापूको शल्यक्रिया गरेपछि सुधार आउन ३–४ दिन लाग्नसक्छ तर, आँखा नदेख्ने सम्भावना प्रबल हुन्छ । सेतो पुतलीको झुस आँखामा परेमा रोग लाग्छ । सापूले आँखामा कचरा जम्ने, रातो हुने, सुन्निने र विस्तारै आँखा सेतो बन्दै जान्छ ।

‘उपचार नपाए आँखा सुक्दै जान्छ र ज्योति गुम्छ’, लुम्बिनी रण अम्बिका आँखा अस्पतालका रेटिना रोग विशेषज्ञ प्रा.डा. ज्ञानेन्द्र लामिछानेले भने । खासगरी बच्चाहरुमा यो रोग बढी देखिने गरेको छ । रातिमा बढी मात्रामा सेतो पुतली सक्रिए हुने गर्छ । यस्तो अवस्थामा घरको बत्ति निभाउने, झुल लगाएर सुत्ने, घर वरिपरीको झाडी सफा गर्नुपर्छ ।

‘सापू देखिएको २४ देखि ४८ घण्टाभित्रै उपचार नपाएमा आँखा गुम्ने सम्भावना हुन्छ । समयमै उपचार गर्नसके आँखा बचाउन सकिन्छ’, प्रा.डा. लामिछानेले भने । एक हप्ताको अन्तरालमा लुम्बिनी आँखा अस्पताल भैरहवामा ७ जना सापू रोगीको उपचार भएको छ । एक जनाबाहेक अन्य सबै १० वर्ष मुनीका बालबालिका छन् ।

केहीको आँखा बच्ने सम्भावना निकै न्यून छ । सन् १९७५ मा नेपालमा पहिलोपल्ट देखिएको सापू रोग प्रत्येक दुई–दुई वर्षमा देखिने गरेको छ । खासगरी अहिलेको सिजनमा सेतो पुतली बढी सक्रिय हुने भएकाले सापू रोगी बढीरहेका छन् । लुम्बिनी प्रदेशका प्यूठान, गुल्मी, अर्घाखाँचीमा यो रोग बढी देखिएको चिकित्सकले बताएका छन् ।

भिडियो रिपोर्ट : एनन् पाण्डे