September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

‘स्क्रब टाइफस’का विरामी बढ्दै, पाल्पा र गुल्मीका ९ जनाको मृत्यु

भैरहवा – पछिल्लो समय नेपालमा स्क्रब टाइफसका विरामी बढीरहेका छन् । यो रोगका कारण नेपालमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुमा सबैभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै पाल्पामा आठ जनाको मृत्यु भएको छ ।

Advertisement

कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएर कोभिडको रिपोर्ट नेगेटिभ आएमा ‘स्क्रब टाइफस’ को परीक्षण गराउन विज्ञहरुले सुझाव दिएका छन् । सरकारी तथ्यांकअनुसार रोक तीव्र फैलिरहेको छ । रोग फैलिएसँगै मृतकसमेत बढेका छन् । ‘स्क्रब टाइफस’ बिरामी गुल्मीका एक जनाको पनि मृत्यु भएको छ । लुम्बिनीका पहाडी जिल्लाहरु पाल्पा र गुल्मी गरी ९ जनाले ज्यान गुमाइसकेका छन् ।

Advertisement

त्यस्तै काभ्रेमा चार तथा रामेछाप, सिन्धुली र पर्वतमा एक–एक जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । प्रत्येक वर्ष यो रोग देखिने गरेको छ । पछिल्लोपल्ट विरामी भएसँगै मृत्यु हुनेक्रम बढेपछि चिन्ता थपिएको छ । स्क्रब टाइफसको संक्रमण साउनयता नेपालमा ह्वात्तै बढेको छ । साउन यतामात्रै १६ जनाले ज्यान गुमाएका छन् ।

के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस मुसा खरायो लगायतका रौँ भएका जीवजन्तुमा पाइने एक प्रकारको संक्रमित किर्नाको टोकाइबाट मानिसमा सर्ने संक्रमण हो । यस्ता, जीवजन्तुमा पाइने किर्ना ‘ओरिएन्सिया सुत्सुगामुसी’ नामक जीवाणुबाट संक्रमित छ भने उक्त किर्नाले मानिसलाई टोकेमा यो संक्रमण सर्दछ ।

नेपालमा सन् २०१३ मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक सर्वेक्षणमा प्रत्येक १० मध्ये ७ वटा मुसामा यस्तो किर्ना भेटिएको थियो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअनुसार यो किर्नाको टोकाइको असर २४ देखि ४८ घण्टाभित्र देखापर्छ ।

घरमै मुसा बस्नै वातावरण भए टाइफस सर्ने सम्भावना बढी हुन्छ । यसबाहेक झाडी, बाक्लो घाँस भएको ठाउँ आदिमा मुसा बस्ने हुँदा खेतबारीको काम गर्ने क्रममा समेत यो रोग सर्ने गर्दछ ।

लक्षणहरू
स्क्रब टाइफसको संक्रमण भएमा सुुरुमा छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखा पर्छन् । विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने श्वासप्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छन् र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।

उपचार विधि
स्क्रब टाइफस आफैँमा खतरनाक रोग होइन । तर, समयमै रोग पत्ता नलाग्दा र औषधिको उचित प्रयोग नगरेमा बिरामीको ज्यान जाने खतरा हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यसको समयमै उपचार नभए फोक्सो, कलेजो, मस्तिष्क आदिमा असर पु¥याएर धेरैवटा अंगमा एकैपटक असर पर्ने (मल्टी अर्गान डिस्फङसन) समेत हुनसक्छ ।

डा.पुनकाअनुसार यसको उपचारमा ‘डक्सिसाइक्लिन’ नामक औषधिको प्रयोग गरिन्छ । उल्लेखित लक्षण देखिए चिकित्सकको सल्लाहअनुसार औषधि खानुपर्छ । टाइफाइडसँग मिल्दोजुलदो लक्षण देखिने हुँदा नेपालमा स्क्रब टाइफसको पहिचानमा अझैपनि ढिलाइ हुने गरेको डा. पुनको अनुभव छ । जसकारण बिरामीको उपचार प्रक्रियासमेत लम्बिने गरेको छ ।

रगत परीक्षणको माध्यमबाट स्क्रब टाइफस पत्ता लगाउन सकिन्छ । सरकारीस्तरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्क्रब टाइफसको परीक्षण गरिन्छ । समयमै पत्ता लागे औषधि सेवन सुरु गरेको १ देखि २ दिनमा स्क्रब टाइफस निको हुन्छ ।