July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

बाघ

सात पिँढी पल्टाएर गाली गर्छ ऊ । हामीले त लामो लडाइँ लड्नु छ । यो त सुरुवात हो ।

Advertisement

नेपाली राष्ट्रियता गाली गरेर मात्र आउँछ कि क्या ? एकाएक मलाई रिस उठ्छ ।

Advertisement

ऊ भन्छ, ‘मान्छे जस्तो देखिन छोडँे म ।’ साँचो कुरा म मान्छेजस्तो कहिले बाँचेको छु र ? कहिले घोडा, कहिले कुकुर, कहिले स्याल, कहिले बाघ … बचाइको अवस्था ।

मान्छे त आवरण मात्र ।

मेरो मस्तिष्क तातिन्छ । अनुहारले रूप बदल्छ । पसिना आएको छ शरीरमा । मन मुर्मुरिएको छ । म ढलेको छु ओछ्यानमा ।

मेरो मनको कुनामा बसेको हिंस्रकता जुरुक्क उठ्छ । मलाई हत्या गर्न उकास्छ । मलाई तिम्रो, उनको … हत्या गरूँगरूँ जस्तो लाग्छ । म हिंस्रक सोचमा घोत्लिएको छु । योजना बनाउँछु हत्याको । सोच्छु सालेलाई नमारी भएन ।

पढ्छु हाङम्बुले आफ्नै जेठो दाजु बाघलाई बलबुद्धि लगाई पासोमा पारेर मार्न खोजेपछि बाघ दाइसँगै भालु र चितुवा दाइ पनि जङगल पसेको किराती लोककथा ।

बाघ, भालु र चितुवा दाइ जङ्गल पसे पनि म हिंस्रकताको मीमांसा गर्दागर्दै निदाउँछु ।

राति सपनामा कराएँ रे । म तँलाई मार्छु मार्छु । रातभरि दाँत किटेर सुत्न दिइनँ रे । सवू सुनाउँथिन् र रिसाउँथिन् । भन्थिन्, ‘म त अब सहन्नँ रातभरि कराएको । रातभरि दाह्रा किटेको । दाँत टोकेको पनि अलिकति हो र ?’

निद्रामा कराउनु, रातमा दाँत किट्नु के असंवैधानिक हो र ?

सोध्नु छ भीमार्जुन आचार्यलाई । एकराज भण्डारीलाई ।

सानो छँदा आमा भन्नुहुन्थो, ‘रातभरि दाँत किट्यो । यो बिरामी हुन्छ क्यार ।’

म जति दाँत टोके पनि बिरामी भइनँ ।

एकाबिहानै ऐना हेर्छु । मभित्र हिंस्रक, धूर्त, पशुहरूको बिगबिगी देख्छु । म आफूलाई कहिले कुकुरजस्तो, कहिले भालुजस्तो, कहिले सर्पजस्तो, कहिले स्यालजस्तो, कहिले ब्वाँसोजस्तो, कहिले बाघजस्तो कहिले चितुवाजस्तो पो देख्छु । दाँत लामालामा, जिब्रो रातोरातो, नङ्ग्रा लामालामा । म झस्कन्छु र सोच्छु, ऐनाले मभित्रको वास्तविकता देखाएकै हो त आज ? मभित्रको बाघपनलाई छोप्न म मान्छेपन सुमसुम्याउँछु र ङिच्च हाँस्छु । म पनि मान्छे हुँ भनि देखाउन ।

छिमेकमा झगडा चलेको छ । एकले अर्कोलाई तथानाम गाली गर्दैछन् । आफूलाई राम्रो र असल देखाउन छिमेकीहरू प्रयासरत छन् । म बार्दलीमा बसेर मनोरञ्जन लिन्छु झगडाको । झगडा पनि त एक प्रकारको प्राकृतिक मनोरञ्जन हो । थप मनोरञ्जन खोज्न दूरदर्शन खोल्छु । दलहरू जनतालाई केही दिन नसके पनि मनोरञ्जन दिइरहेछन् । रिमोट चलाएर खोज्छु टुँडिखेल, सिंहदरवार, बालुवाटार, शीतलनिवास … को मनोरञ्जन । हाम्रो कत्रो अहोभाग्य ! यति छोटो समयमा यति धेरै मनोरञ्जन लिन पाउनु ।

च्यानल फेरेर रेसलिङ हेर्छु । एउटाले अर्कोलाई कुट्दा कति आनन्द आउँछ ।

म ताली बजाउँछु । चिच्याउँछु ठोक, अलि ठोक ।

एउटा मान्छेले अर्को मान्छेलाई कुट्दा यति बिघ्न आनन्द किन आउँछ हँ ?

मान्छेप्रति हुने सहानुभूति सकियो कि क्या हो मेरो ? म त अरूको दुःखमा पो रमाइरहेछु । अलिअलि आनन्द आउन थाले पनि म दूरदर्शन बन्द गर्छु र हेर्छु समाज । समाजमा विरोधाभासहरू मात्र छन् । आमालाई छोराको विश्वास छैन । श्रीमानलाई श्रीमतीको विश्वास छैन । दिदीलाई भाइको विश्वास छैन । छोरीलाई बाको विश्वास छैन । जनतालाई शासकको विश्वास छैन । कस्तो विश्वासको सङ्कट ।

विश्वास नहुनु उत्तरआधुनिक बन्नु हो र ?

पढ्छु छताछुल्ल विश्वास अनुहारमा । मान्छेहरू भन्छन्, जीवन विश्वासमा अडेको छ । त्यही विश्वासको पर्खाल ढलेपछि जीवन केमा अड्याउनु खै ?

विश्वासहरू गुम्दै गएपछि मानिस कसरी सामाजिक प्राणी हुन्छ ?

सोध्नु छ, सामाजशास्त्रीलाई/मानवशास्त्रीलाई ।

विश्वास खोज्न पल्टाउँछु अखवारका पानाहरू :

‘बुहारीको हत्यारा पक्राऊ  ।’ (गोरखापत्र २०६९ वैशाख १)

‘विवाहको प्रीति भोजका दिनमा आत्महत्या ।’ (गोरखापत्र २०६९ वैशाख १९)

‘दुई दाजुभाइले सात सन्तान मारे ।’ (गोरखापत्र २०६९ जेठ २१)

‘विष खुवाएर आमाद्वारा छोरीको हत्या आफू पनि सिकिस्त ।’ (मिसन टुडे २०६९ जेठ २१)

‘आफ्नै साथीद्वारा बसन्त शाहीलाई गोली प्रहार ।’ (गोरखापत्र २०६९ जेठ २९)

‘खुर्पा प्रहार गरेर श्रीमान्को हत्या ।’ (गोरखापत्र २०६९ असार ३)

मान्छेभित्र को पसेको छ र ? मान्छे भनेको विश्वास हो । विश्वासै भत्केपछि मान्छेको पहिचान पुरानो भएझैँ लाग्छ । सबै चीज उपभोग गरेर पनि मान्छे मान्छे हुन सकेको छैन । मान्छेको परिभाषा फेरियो । समय, स्थान फेरियो । मान्छेमा धर्म हरायो । रीतिरिवाज हरायो । नाता हरायो ।

यो कस्तो समय आयो । प्रत्येक मान्छे प्रत्येक मान्छेसँग लडिरहेछ । मान्छेहरूमा हिरोसिमा, नालापानी, बग्दात, कारगिल, जनयुद्ध सल्किरहेछ । सबै लड्नै पर्नै यो कस्तो समय हो ।

हेर्छु घरभित्रको महाभारत । दलभित्र र दलबाहिरको महाभारत । घरभित्र थुप्रै आरोपहरू छन् । प्रतिआरोपहरू छन् तपाईंका मेरा । एवं रीत मनभित्र र दलभित्र पनि ।

महाभारतका अवर्णित कुरुक्षेत्र छन्  मनभरि र देशभरि ।

हेर्नुहोस् त तपाईंभित्र र बाहिर महाभारत चलिरहेछ ।

तपाईं कुन्ती, धृतराष्ट्र भएको बहाना नगर्नुहोस् ।

म महाभारतको श्लोक पढिरहेछु ।

‘अखिल नेवि सङ्घ झडपमा गोली चल्यो ।’ (गोरखापत्र २०६९ वैशाख ८)

‘घर झगडा मिलाउन काँगे्रस सभापतिलाई दवाव ।’ (गोरखापत्र २०६९जेठ १८)

‘अन्ततः माओवादी विभाजित ।’ (गोरखापत्र २०६९असार  ५)

‘आदिवासी जनजाति मधेशी नेता एमाले छोड्ने मनस्थितिमा ।’  (नागरिक पश्चिमेली २०६९जेठ १७)

के गरेर घर निर्माण भएको बेला देश विनिर्माण हुन्छ ?

हेर्छु नङ्ग्रा भएका बाघ भन्दा नङ्ग्रा नभएका मान्छेहरू डरलाग्दो भएको यो समय । अलिपर होटेलको÷ पसलको साइनबोर्डमा हाम फाल्छन् मेरा आँखा । होटल÷ दोकानमा किन्नेको हूल छ । होटले÷ पसले अरूका छोराछोरीलाई रक्सी, चुरोट, चरेस, पुकार, नशालु पदार्थ बेचेर आफ्ना छोराछोरी महान् बनाउने ध्येयमा लागेका छन् ।

अरूका छोराछोरी बिगारेर आफ्ना छोराछोरी कसरी महान् बनाउने सोच्छ मान्छे ?

मान्छेभित्र कति निर्दयीपन छ । त्यो निर्दयीपन तपाईंसँग पनि होला । मसँग पनि छ ।

हेर्नुहोस् त भोट हालेर असल नेतालाई कुहाउन पो पठाइएछ । सबै कुहिए । संविधान सभाले कति राम्रा मान्छे पनि कुहायो हगि ? गन्ध पनि प्रकार प्रकारको । कतै राहदानी गन्ध, कतै हत्याको गन्ध, कतै भ्रष्टाचारको गन्ध, कतै किर्ते विद्यार्थीको गन्ध, कतै संविधान बन्न नदिएको गन्ध, कतै गद्धारको गन्ध । गन्ध सुङ्दै जाँदा आफूभित्र पनि अर्कै गन्ध उत्पति भएको महसुस गर्छु । मभित्र अर्कै उथलपुथल भएको देख्छु । मभित्र भोको बाघको लुछाचुँडी चलेको देख्छु । तिमी विश्वास गर या नगर म मान्छेदेखि निष्क्रिय हँुदैछु । यो समय आफूलाई मान्छे देख्न सकिनँ । म आफूभित्र पस्दै गएँ । एउटा प्रश्नमा घोत्लँदै गएँ ।

के मान्छे यो समय बाघ भएर बाँचेको छ त ?

हेर्छु मान्छेलाई, अनुहारभित्र भाटाहरू लुकाएको छ । हेर्छु आफूलाई, बाघ बाघजस्तो देख्छु । जङ्गल पसेका बाघदाइ कसरी पसे होलान् मभित्र ? हत्केला सुँघ्छु । बाघको बाक्लो गन्ध आएको छ । तपाईं पनि सुँघ्नुहोस् त ! कतै तपाईंभित्र पनि बाघ त प्रवेश गरेको छैन ?

(सल्यान) by nepalisahityaghar