June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

रुपन्देहीमा ६२–६४ उमेर समूहकालाई खोप लगाउन सुरु, ३,४४५ बञ्चित

भैरहवा– मुलुकभर आजबाट चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु भएको छ । यसका लागि सकारले सबै स्थानीय तहमामा खोप उपलब्ध गराइसकेको छ ।

रुपन्देहीका ६२–६४ वर्ष उमेर समूहका १४ हजार ५ सय ५५ जना नागरिकलाई खोप लगाइँदै छ । जिल्लामा यो उमेर समूहका नागरिकको संख्या १८ हजार छ । तर, यो उमेरका सबै नागरिकलाई पुग्ने खोप उपलब्ध नभएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले जानकारी दिए ।

Advertisement

सबैलाई पुग्ने खोप नआएपछि ३ हजार ४ सय ४५ जना यो उमेर समूहका नागरिक भने खोप लगाउनबाट बञ्चित भएका छन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदह, लुम्बिनी सांस्कृति नगरपालिका, रोहिणी, ओमसतिया, मायादेवी, कोटहीमाई, मर्चवारी, सम्मरीमाई, सियारी, शुद्धोधन, गैडहवा, कंचन गाउँपालिका गरी १६ स्थानीय तह रहेको रुपन्देहीमा ६९ स्थानमा खोप लगाउन सुरु भएको छ ।

साहका अनुसार सिद्धार्थनगरका दुई वटा विद्यालयमा खोपकेन्द्र तोकिएको छ भने बाँकी सबै सम्बन्धित स्थानीय तहमा रहेका स्वास्थ्य चौकीबाट खोप लगाउन सुरु भएको हो । तिलोत्तमाले शंकरनगर स्वास्थ्य चौकी, आनन्दवन स्वास्थ्य चौकी, करहिया स्वास्थ्य चौकी, सेमरा स्वास्थ्य चौकी, टिकुलीगढ स्वास्थ्य चौकी, मधवलिया स्वास्थ्य चौकी, गंगोलिया स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र ५ मा गएर खोप लगाउन सकिने व्यवस्था गरेको छ ।

सिद्धार्थनगरले बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्मको समय तोकेर युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस), नगर स्वास्थ्य केन्द्र वडा नं.–१०, भानु माध्यमिक विद्यालय, भैरहवा नमुना माविमा खोप लगाउने व्यवस्था मिलाएको नगर उपप्रमुख उमा काफ्लेले जानकारी दिइन् । नगरमा प्राप्त खोपले १ हजार ४५ जनालाई खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ ।