November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

रोटरी क्लवको मर्चवारमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिनमै एक हजारभन्दा बढीले लिए सेवा

Advertisement

भैरहवा–स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा आर्थिक रूपमा विपन्न समुदायलाई लक्षित गर्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको मर्चवार क्षेत्रमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

Advertisement

कोटहीमाई गाउँपालिका–५, मझगवास्थित आदर्श बहुमुखी क्याम्पस परिसरमा सञ्चालित शिविरको बुधबार रोटरी डिष्ट्रिकका निवर्तमान डिष्ट्रिक गभर्नर विमल कोइरालाले उद्घाटन गरेका हुन् ।

कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका करिब दुई हजार सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित आयोजना गरिएको शिविरको पहिलो दिनमै बिरामीको उल्लेख्य भीड लागेको थियो । आयोजक क्लबका पूर्वअध्यक्ष तथा रोटरी डिष्ट्रिक लिडर कृष्णप्रसाद पाण्डेले पहिलो दिन करिब एक हजार बिरामी उपचारका लागि शिविरमा पुगेको जानकारी दिए ।

शिविरमा आँखा उपचार, क्यान्सर पहिचान, महिला स्वास्थ्य, नाक, कान तथा घाँटीको परीक्षणसँगै विभिन्न रोगको सामान्य स्वास्थ्य परीक्षण र उपचारलाई प्राथमिकता दिइएको छ । करिब ६० जना विशेषज्ञ चिकित्सक सहभागी गराउने योजनाअनुसार पहिलो दिन करिब ३० जना चिकित्सकले सेवा दिएका थिए ।

आयोजक क्लबका अध्यक्ष गंगाधर भण्डारीका अनुसार शिविरमा आँखाको परीक्षण, मोतियाबिन्दुको पहिचान तथा आवश्यकताअनुसार निःशुल्क शल्यक्रिया, महिला स्वास्थ्य परीक्षण, सामान्य स्वास्थ्य जाँच र परामर्श सेवा उपलब्ध गराइएको छ ।

महिलामा देखिने पाठेघर तथा स्तन क्यान्सरको पहिचानका लागि परीक्षण गर्नुका साथै पाठेघरसम्बन्धी समस्याको उपचार र आवश्यकताअनुसार निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । शिविरको पहिलो दिन ५६ जना महिलाको प्रसूति तथा महिला स्वास्थ्यसम्बन्धी परीक्षण गर्दा १६ जनामा पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको छ भने दुई जनामा पाठेघरको क्यान्सरको आशंका गरिएको छ ।

थप उपचार तथा अनुसन्धान आवश्यक पर्ने महिलाका लागि बुटवलस्थित आम्दा अस्पतालमा उपचारको व्यवस्था मिलाइएको पाण्डेले जानकारी दिए । क्यान्सर पुष्टि भएमा उपचारका लागि चितवनस्थित क्यान्सर अस्पतालमा प्रबन्ध मिलाइएको उनले बताए ।

बुधबार पाँच सयभन्दा बढीको आँखाको स्क्रिनिङ गरिएकोमा १४९ जनामा मोतियाबिन्दु देखिएको छ । बिरामीको संख्या अनुमानभन्दा बढी देखिएकाले बिहीबार पनि करिब पाँच सय जनाको आँखाको परीक्षण गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

शिविरको पहिलो दिन दुई सयभन्दा बढी नाक, कान तथा घाँटीसम्बन्धी समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । अपांगता भएका तथा आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले १५ जनालाई ह्विलचेयर वितरण गरिएको छ । बिहीबार थप १४ जनालाई ह्विलचेयर वितरण गर्ने तयारी छ । यसैगरी महिलालाई चार सय थान पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड वितरण गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

शिविरमा चितवनस्थित क्यान्सर अस्पताल, बुटवलको आम्दा अस्पताल, भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल तथा सिटी अस्पताल, मातृका आँखा अस्पताल र रोटरी क्लबमा आबद्ध चिकित्सकहरूको सहभागिता रहेको छ ।

आयोजकका अनुसार शिविर सञ्चालनका लागि करिब एक करोडदेखि सवा करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।

ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई घरआँगनमै विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै रोगको समयमै पहिचान, उपचार र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।