कक्षाकोठाको मौनता तोड्दै ‘गुनासो पेटिका’



कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका लौहरौलास्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत सानी थारू (नाम परिवर्तन) लाई केही समयअघिसम्म एउटा नमिठो समस्याले सताइरहन्थ्यो । कक्षाकोठामा पढाउने क्रममा एक जना शिक्षकले उनी र साथीहरूप्रति देखाउने अस्वभाविक र अनावश्यक शारीरिक स्पर्शले उनलाई असहज बनाउँथ्यो । तर, शिक्षकलाई सिधै गएर ‘सर, यसो नगर्नुस्’ भन्ने हिम्मत उनीसँग थिएन ।
विद्यालयको भित्तामा झुण्ड्याइएको एउटा काठको बाकस– ‘गुनासो पेटिका’ ले सानीजस्ता धेरै विद्यार्थीका लागि समस्या समाधान गर्ने दरिलो माध्यम बन्यो । उनले आफ्नो समस्या निर्धक्क कागजमा लेखेर पेटिकामा खसालिन् ।
गुनासो सुनुवाइ समितिले पेटिका खोल्यो, छलफल भयो र समस्याको समाधान भयो । ‘पहिले सरलाई सिधै भन्न सकिँदैनथ्यो, डर लाग्थ्यो,’ सानी खुसी हुँदै भन्छिन्, ‘अहिले गुनासो पेटिकाले गर्दा कक्षाकोठाको वातावरण नै फेरिएको छ ।’
यस्तै अनुभव छ, शिवराज नगरपालिका चन्द्रौटास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी बाल क्लब अध्यक्ष करुणा विकको पनि । ‘विद्यार्थीका मनमा शिक्षक वा विद्यालयप्रशासनप्रति अनेकौँ गुनासा हुन्छन् । पहिले ती कुरा गुम्सिएर बस्थे,’ करुणा भन्छिन्, ‘अहिले विद्यार्थीले आफूलाई नराम्रो लागेका कुरा निर्धक्क पेटिकामा टिपोट गरी खसाल्छन् । समस्याको समाधान विद्यालयभित्रैबाट हुन थालेपछि अहिले शैक्षिक वातावरण निकै सौहार्दपूर्ण बनेको छ ।’

कसरी सुरु भयो अभियान ?
कपिलवस्तुका शिवराज र महाराजगञ्ज नगरपालिका तथा विजयनगर गाउँपालिकाका विद्यालयहरूमा अहिले गुनासो पेटिका अनिवार्यजस्तै बनेको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, बालबालिकामाथि हुने दुर्व्यवहार तथा लैंगिक हिंसा न्यूनीकरण गर्न र सुरक्षित सिकाइ वातावरण तयार पार्न स्थानीय तहहरूसँगको समन्वयमा यो अभियान चलाइएको हो । यो अभियान एकुकेशनल पेजेजले लुम्बिनी प्रदेशका सात जिल्लाका २७ वटा स्थानीय तहमा संचालन गरिएको छ । यो काममा शिक्षा विभाग, स्थानीय तह र युनिसेफ पनि सँगसँगै छन् ।
यसलाई संस्थागत र कानुनी रूप दिन ‘गुनासो सुनुवाइ कार्यविधि’ नै लागू गरिएको छ । कार्यविधि अनुसारः
७ सदस्यीय समितिः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा उनले तोकेको महिला सदस्यको संयोजकत्वमा ७ सदस्यीय गुनासो सुनुवाइ समिति गठन गरिन्छ ।
फोकल शिक्षकः विद्यालयकै एक जना महिला–पुरुष शिक्षकलाई सदस्य–सचिव तथा ‘गुनासो सुन्ने शिक्षक’ का रूपमा जिम्मेवारी दिइएको छ ।
नियमित पेटिका खोलिनेः विद्यालयको व्यवस्थापन अनुसार हप्ता एक पटक पेटिका खोलिन्छ ।
यस कार्यविधिले केवल कक्षाकोठाको समस्या मात्र होइन, विद्यालय आउँदा–जाँदा वा घर–समुदायमा बालबालिकामाथि हुन सक्ने विभेद, शोषण, शारीरिक तथा मानसिक सजाय, र हेलचेक्र्याइँविरुद्ध पनि लिखित वा मौखिक रूपमा गुनासो गर्ने बाटो खुला गरिदिएको छ ।
गुनासो सनुवाइ प्रक्रिया
१. विद्यार्थीद्वारा पेटिकामा पत्र–सुझाव खसाल्ने
२. निश्चित समय –हप्ता–महिना) मा समितिद्वारा पेटिका खोलिने
३. सात सदस्यीय सुनुवाइ समितिमा छलफल र गोपनीयता कायम
४. समस्या समाधान, परामर्श र सुधारात्मक कदम
गुनासो मात्रै होइन, प्रशंसा पनि
जनजागृति माविकी गुनासो सुनुवाइ फोकल शिक्षकका अनुसार गुनासो पेटिकामा संवेदनशील र व्यावहारिक दुवै खालका विषयहरू आउने गरेका छन् ।

‘केटा साथीहरूले जिस्काउने, किशोरीहरूलाई महिनावारी हुँदा एउटा मात्र प्याडले नपुगेर दुई वटा दिनुपर्ने, शौचालयमा केटीहरूको नाम लेखेर जिस्काउने जस्ता समस्या पेटिकामार्फत हामीकहाँ आइपुग्छन्,’ उनले भनिन्, ‘समितिमा बसेर छलफल गर्छौँ र कसैको पहिचान नखुलाई समाधान खोज्छौं ।’
चाखलाग्दो कुरा त के छ भने, पेटिकाभित्र गुनासो मात्रै होइन, शिक्षकहरूको प्रशंसा र धन्यवाद ज्ञापन गरिएका चिठीहरू पनि भेटिन थालेका छन् । ‘फलानो सर वा म्यामले नामै लेखेर राम्ररी बुझाएर पढाउनुहुन्छ, पढाएको निकै आनन्द आउँछ भनेर प्रशंसा पत्र पनि आउने गरेका छन्,’ फोकल शिक्षकले बताइन् ।
शैक्षिक वातावरण र व्यवस्थापनमा सुधार
गुनासो पेटिकाले विद्यार्थीको सुरक्षा मात्र होइन, विद्यालयको समग्र व्यवस्थापनमा पनि सकारात्मक परिवर्तन ल्याएको छ । नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक प्रकाश अधिकारीका अनुसार विद्यार्थीले सिधै भन्न नसकेका साना–तिना कुरा पेटिकामार्फत थाहा पाउँदा विद्यालयको पठनपाठन र भौतिक सुधारका काम गर्न निकै सहज भएको छ ।

त्यस्तै, शिवराज नगरपालिका खरेन्द्रपुरस्थित समयथान माविकी बाल क्लब अध्यक्ष आयुषा गैरे र महाराजगञ्ज नगरपालिका पडरियास्थित भद्र माविकी फोकल शिक्षक मनकला गैरे पनि गुनासो पेटिकाले शिक्षण सिकाइलाई बालमैत्री र लैङ्गिक मैत्री बनाउन ठूलो सहयोग पुर्याएको अनुभव सुनाउँछन् । नदी छेउमा रहेको भद्र माविमा त विपद् र महामारीको जोखिमबाट बच्नसमेत बालबालिकालाई यही संयन्त्रमार्फत परामर्श दिने गरिएको छ ।
सानो काठको बाकसका रूपमा कक्षाकोठाको भित्तामा टाँगिएको ‘गुनासो पेटिका’ ले अहिले कपिलवस्तुका विद्यालयहरूमा बालबालिकाको आवाजलाई मुखरित मात्र बनाएको महारागंंज गरपालिकाका शिक्षा शाखा प्रमुख जगत गाहले बताए । ‘समग्र शैक्षिक वातावरणलाई सुरक्षित, जवाफदेही र बालमैत्री बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ, शिक्षा प्रमुख गाहाले भने ।








लेखकको सम्वन्धमा