कथा : बन्धक शरीर



साँझ ढल्दै थियो। बागबजारको पुरानो क्याफेको माथिल्लो तलास्थित सानो कोठाको झ्यालबाट बाहिर हेर्दा सडकमा बत्तीहरू विस्तारै बल्न थालेका देखिन्थे। मानिसहरू आ–आफ्ना गन्तव्यतिर दौडिरहेका थिए। कसैलाई घर पुग्ने हतार थियो, कोही आफन्त भेट्न कुदिरहेका थिए, त कोही व्यापारको काममा व्यस्त थिए।
क्याफेभित्र एकातिरको कुर्सीमा मिरा थिइन्, अर्कोतिर अर्जुन। दुवै चुपचाप एकअर्कालाई हेरिरहेका थिए। कफी चिसिँदै थियो, तर उनीहरू पिउनुभन्दा त्यसलाई हेरिरहेका थिए। सायद आजको भेटमा मौनता कसले तोड्ने भन्ने प्रतीक्षामा थिए।
केही बेरपछि अर्जुनले सोध्यो, “तिमी मसँग किन यति रिसाएकी छौ?”
“म रिसाएकी छैनँ।”
“त्यसो भए आज किन यति लामो मौनता?”
“म थाकेकी छु।”
“मदेखि?”
मिराले कफीको कप उठाएर एक घुट्की पिइन्। “तिमीबाट होइन, अर्जुन। मानिसभित्र बसेका ती सोचबाट, जसले प्रेम गर्नुअघि स्वामित्व खोज्छन्।”
मिराको कुरा सुनेर अर्जुन मुस्कुरायो। “तिम्रो फेरि त्यही दर्शन शुरू भयो?”
“हो, फेरि त्यही दर्शन।”
“तिमीलाई लाग्छ, संसार यति सरल छ?”
“संसार सरल छ, तर मानिसले यसलाई जटिल बनाएका छन्।”
“जस्तै?”
“शरीर।”
मिराको उत्तरले अर्जुनलाई केही बेर मौन बनायो।
“शरीर?”
“हो, शरीर। भन त अर्जुन, मानिसको शरीर कसको हो?”
“जसको शरीर हो, उसैको।”
“त्यसो भए पुरुष र स्त्रीबीच शरीरको स्वामित्वको नियम किन फरक छ?”
“कसरी फरक?”
“तिमीले साँच्चै बुझेका छैनौ?”
“तिमीले भन्न खोजेको कुरा बुझ्न खोजिरहेको छु।”
मिरा मुस्कुराइन्। “हामीले यौनसम्बन्धलाई यस्तो सामाजिक कारोबार बनाएका छौँ, जहाँ शरीरभन्दा पहिले मूल्य तय हुन्छ, इच्छाभन्दा पहिले अधिकार र प्रेमभन्दा पहिले स्वामित्वको प्रमाण खोजिन्छ।”
“यो आरोप अलि अतिशयोक्ति भएन र?”
“भएन। अलि विस्तारमा सुन।”
मिराले केही क्षण अर्जुनको अनुहार हेरिन्।
“पुरुषले कुनै स्त्रीसँग यौनसम्बन्ध राख्दा कतिपय अवस्थामा पैसा तिर्छ। समाजले त्यसलाई व्यापार भन्छ। त्यहाँ पैसा किन तिरिन्छ?”
“त्यहाँ सम्बन्धलाई सेवाका रूपमा लिइएको हुन्छ,” अर्जुनले भन्यो।
“अर्थात्, एक पक्षले आफ्नो शरीर वा यौन श्रम दिन्छ र अर्को पक्षले त्यसको मूल्य तिर्छ। त्यसपछि दुवै आ–आफ्नो बाटो लाग्छन्। तर यही समाजले विवाहको नाममा के गर्छ?”
अर्जुन मौन रह्यो।
मिरा अघि बढिन्, “विवाहपछि पुरुषले स्त्रीको शरीरमाथि सम्बन्धको अधिकार दाबी गर्न सक्छ। स्त्री पनि पुरुषसँग सम्बन्ध राख्छे। त्यहाँ पैसा सिधै हातमा दिइँदैन, तर विवाहसँगै एउटा अदृश्य दाबी आउँछ—‘अब तिमी मेरी हौ।’”
“तर विवाह प्रेम र जिम्मेवारीको सम्बन्ध हो,” अर्जुनले भन्यो।
“मैले त्यसलाई अस्वीकार गरेकी छैनँ। विवाहमा परिवार, सन्तान, सामाजिक सुरक्षा र अन्य धेरै मान्यता पनि जोडिएका हुन्छन्। मेरो प्रश्न यति मात्र हो—यी सबै कुरा हुँदै गर्दा शरीरको स्वतन्त्रता कहाँ जान्छ? विवाहले प्रेम दिन सक्छ, तर के त्यसले स्वामित्व दिन मिल्छ?”
“कस्तो अधिकार?”
अर्जुन केही बेर चुप रह्यो।
“यौनसम्बन्धको अधिकार?” मिराले सोधिन्।
“सम्बन्धभित्र त्यो स्वाभाविक हो,” अर्जुनले भन्यो।
“यदि एक दिन स्त्रीले भनिन्, ‘आज म चाहन्नँ’ भने?”
“त्यो पनि उनको अधिकार हो।”
“अनि पुरुषको?”
“उसको पनि।”
“त्यसो भए विवाहले कसैको शरीरमाथि स्थायी अधिकार दिँदैन?”
“दिँदैन।”
“त्यसो भए हामी किन विवाहपछि शरीर पनि साझा सम्पत्ति भएझैँ व्यवहार गर्छौँ?”
अर्जुनको स्वर केही कमजोर भयो। “यो समाजको पुरानो सोच हो। पुरुषले महिलाको सुरक्षाको जिम्मेवारी लिएको हुन्छ। महिलाले पनि घरको जिम्मेवारी लिएकी हुन्छिन्। यहाँ प्रश्न यौनको मात्र होइन।”
“ठीक हो। तर त्यही पुरानो सोचले अर्को प्रश्न जन्माउँछ। यदि विवाहको नाममा स्त्रीको शरीर पुरुषको अधिकारमा राख्न मिल्छ भने पुरुषको शरीर पनि स्त्रीको अधिकारमा राख्न मिल्नुपर्छ।”
“होइन, मैले ऐना देखाएँ।”
कोठामा केही बेर मौनता छायो। बाहिरबाट गाडी र मोटरसाइकलका आवाज आइरहेका थिए।
मिरा फेरि बोलिन्, “हामीले पुरुषलाई सिकायौँ—‘तिमी पुरुष हौ, तिमीले चाहनुपर्छ।’ स्त्रीलाई सिकायौँ—‘तिमी स्त्री हौ, तिमीले दिनुपर्छ।’”
“तर स्त्रीले पनि त चाहन्छे,” अर्जुनले बीचमै भन्यो।
“त्यही त मेरो प्रश्न हो। पुरुषले स्त्रीसँग यौनसम्बन्ध राख्दा समाजले किन यस्तो चित्र बनाउँछ, मानौँ पुरुषले केही प्राप्त गर्यो र स्त्रीले केही गुमाई?”
मिराले लगातार प्रश्न गरिन्, “यौनसम्बन्ध पुरुषले मात्र राख्छ? पुरुषले मात्र सुख पाउँछ? पुरुषले मात्र चाहना राख्छ? स्त्रीको शरीरले केही महसुस गर्दैन? स्त्रीको इच्छा हुँदैन?”
“त्यस्तो होइन,” अर्जुनले भन्यो।
“त्यसो भए इतिहासभरि स्त्रीलाई किन यस्तो व्यवहार गरियो, मानौँ उसको शरीर कुनै वस्तु हो, जसलाई पुरुषले प्राप्त गर्छ?”
“किनकि समाज पुरुषप्रधान थियो,” अर्जुनले भन्यो।
“पुरुषप्रधान मात्र होइन। समाजले स्त्रीको शरीरलाई सामाजिक मुद्रासमेत बनायो। छोरीको विवाहमा परिवारले प्रतिष्ठा खोज्यो। स्त्रीको यौनिकतासँग परिवारको इज्जत जोडियो। उसको प्रेममाथि निगरानी गरियो, लुगालाई चरित्रसँग जोडियो र विवाहअघि शरीरलाई सुरक्षित राख्नुपर्ने सम्पत्तिका रूपमा हेरियो। विवाहपछि त्यही शरीर पतिलाई सुम्पिएको मानियो।”
मिरा केही बेर रोकिइन्।
“अनि पुरुषको शरीरलाई कसले बन्धक राख्यो?”
अर्जुन बोल्न सकेन।
“पुरुषलाई पनि बाँधियो, तर फरक तरिकाले। उसलाई भनियो—तिमी पुरुष हौ, कमजोर नहुनू, आँसु नझार, कमाऊ, परिवार पाल, स्त्रीलाई सुरक्षा देऊ र आफ्नो पुरुषत्व प्रमाणित गर।”
“यो पनि गलत हो,” अर्जुनले भन्यो।
“त्यसैले मेरो लडाइँ पुरुषसँग होइन, पुरुषत्वको त्यो बनावटी अवधारणासँग हो।”
अर्जुनले पहिलोपटक ध्यानपूर्वक मिरालाई हेर्यो।
“तिमी के चाहन्छ्यौ?”
“स्वतन्त्रता।”
“कस्तो स्वतन्त्रता?”
“जसमा मेरो शरीर मेरो हो।”
“त्यो त अहिले पनि तिम्रै हो।”
मिरा मुस्कुराइन्। “कागजमा मात्र होइन, व्यवहारमा पनि। म कसरी हिँडूँ, के लगाऊँ, कसलाई भेटूँ, कसलाई प्रेम गरूँ, कहिले विवाह गरूँ र कहिले बच्चा जन्माऊँ भन्ने निर्णयमा समाजको आवाज किन मेरो आवाजभन्दा ठूलो हुन्छ?”
“समाजले नियम नबनाए अराजकता आउन सक्छ,” अर्जुनले भन्यो।
“नियम चाहिन्छ, तर स्वामित्वको नियम होइन। मेरो स्वतन्त्रताको सीमा त्यहाँसम्म हो, जहाँबाट अर्को मानिसको स्वतन्त्रता हनन हुन्छ।”
अर्जुनले सहमति जनायो।
“सबै प्रेम त्यस्तो हुँदैन।”
“मलाई थाहा छ। तर साँचो प्रेममा ‘तिमी मेरो हौ’ भन्ने वाक्यको अर्थ बदलिनुपर्छ।”
“कसरी?”
“‘तिमी मेरो हौ’ होइन, ‘तिमी आफ्नै हौ र म तिम्रो स्वतन्त्र अस्तित्वलाई प्रेम गर्छु।’”
अर्जुन केही बेर हाँस्यो। “सुन्दा सुन्दर लाग्छ।”
“सुन्दर मात्र होइन, कठिन पनि। मानिसलाई प्रेमभन्दा स्वामित्व सजिलो लाग्छ। प्रेममा अर्को मानिस स्वतन्त्र छ र ऊ आफूसँग रहन पनि सक्छ, नरहन पनि सक्छ भन्ने सत्य स्वीकार गर्नुपर्छ। स्वामित्वमा भने मानिसलाई आफूले अर्को व्यक्तिलाई आफ्नो बनाइसकेको भ्रम हुन्छ।”
“तर मानिस वस्तु होइन,” अर्जुनले भन्यो।
“त्यसैले त प्रेममा पनि कहिलेकाहीँ हामी मानिसलाई वस्तु बनाउँछौँ।”
अर्जुनले सोध्यो, “तिमीलाई लाग्छ, यौनसम्बन्धले यो समस्या बढाउँछ?”
“यौनसम्बन्ध आफैँमा समस्या होइन। समस्या त्यो सोच हो, जसले यौनसम्बन्धलाई स्वामित्वको प्रमाण बनाउँछ।”
“अलि स्पष्ट भन।”
“पुरुषले स्त्रीसँग शारीरिक सम्बन्ध राखेपछि कहिलेकाहीँ गर्व गर्छ—‘ऊ मेरी भई।’ यही शब्द गलत छ। कसैसँग शारीरिक सम्बन्ध हुनु भनेको कसैलाई आफ्नो बनाउनु होइन। शरीर छोइयो भन्दैमा आत्मा प्राप्त हुँदैन। एक रातको निकटताले मानिसको सम्पूर्ण अस्तित्वमाथि अधिकार दिँदैन। विवाहले पनि दिँदैन, प्रेमले पनि दिँदैन।”
“त्यसो भए सम्बन्धको अर्थ के हो?”
“दुई स्वतन्त्र मानिसको स्वेच्छिक भेट।”
“त्यो भेट टुट्यो भने?”
“दुःख हुन्छ। त्यसैले त मानिस स्वामित्व खोज्छ।”
“के स्वामित्वले दुःख कम गर्छ?”
मिरा हाँसिन्। “स्वामित्वले दुःख कम गर्दैन, केवल अर्को मानिसको स्वतन्त्रता कम गर्छ।”
अर्जुनले चिसिएको कफी उठायो, तर पिएन।
“तिमीले पहिले पुरुषले यौनसम्बन्धका लागि पैसा तिर्ने र विवाहमा पनि कुनै किसिमको लेनदेन हुने कुरा गरेकी थियौ। तर ती दुई कुरा एउटै होइनन्।”
“मलाई पनि थाहा छ। मैले समान भन्न खोजेकी होइन, प्रश्न गर्न खोजेकी हुँ। जब पुरुषले यौनसम्बन्धका लागि पैसा तिर्छ, उसले के किनेको ठान्छ? यदि उसले शरीर किनेको ठान्छ भने त्यो सोच गलत हो। उसले सहमति भएको सेवा वा समयका लागि पैसा तिरेको हुन सक्छ, तर मानिसको सम्पूर्ण अस्तित्व किन्न सक्दैन।”
“विवाहमा दाइजो, सम्पत्ति, आर्थिक सुरक्षा, सामाजिक प्रतिष्ठा र पारिवारिक गठबन्धन मिसिन्छन्। यस्तो अवस्थामा के हामी कहिलेकाहीँ शरीर र सम्बन्धलाई पनि अदृश्य कारोबारमा बदल्दैनौँ?”
“त्यो सम्भव छ।”
“त्यसैले मेरो प्रश्न पुरुषलाई मात्र होइन, स्त्रीलाई पनि हो। यदि स्त्रीले पुरुषलाई केवल कमाउने मेसिन ठान्छे भने त्यो पनि स्वामित्व नै हो।”
“त्यसो भए स्वतन्त्रता दुवैतर्फबाट शुरू हुनुपर्छ?”
“हो। स्त्रीले पुरुषलाई केवल कमाउने शरीर नबनाओस् र पुरुषले स्त्रीलाई केवल भोग्ने शरीर नबनाओस्। हामी दुवैले एकअर्कालाई शरीरभन्दा ठूलो अस्तित्वका रूपमा देख्न सिकौँ।”
अर्जुनको आँखामा पहिलोपटक नरमपन देखियो।
“तिमीले यो कुरा धेरै पहिलेदेखि सोचिरहेकी थियौ?”
“धेरै वर्षदेखि।”
“किन?”
मिराले लामो सास फेरिन्।
“किनकि मैले आफ्नै जीवनबाट एउटा कुरा बुझेँ—मानिसले मेरो शरीरलाई मेरो जीवनभन्दा बढी महत्त्व दिएका रहेछन्।”
अर्जुन चुपचाप सुनिरह्यो।
“म सानी हुँदा मेरो शरीरबारे अरूले सिकाए। ठूलो भएपछि पनि मेरो शरीरबारे अरूले नै निर्णय गर्न खोजे। विवाहको बेला परिवारले भन्यो, ‘अब तिमी फलानो घरकी हुनेछौ।’ समाजले भन्यो, ‘अब तिम्रो व्यवहारले घरको इज्जत राख्नुपर्छ।’ तर मलाई कसैले सोधेन—तिमी के चाहन्छ्यौ?”
“तिमीले कहिल्यै विरोध गरिनौ?”
“गरेँ।”
“अनि?”

“मलाई भनियो, ‘यस्तो बोल्ने स्त्री राम्रो हुँदिन।’ परिवार र समाज दुवैले मलाई रोक्न खोजे। केही पुरुषले नियन्त्रण गर्न खोजे, केहीले मेरो कुरा सुने। केही स्त्रीले पनि मलाई रोक्न खोजे। त्यसैले मैले बुझें, समस्या पुरुषको शरीरमा होइन, सोचको संरचनामा रहेछ।”
“अनि तिमीले के गर्यौ?” अर्जुनले सोध्यो।
“एक दिन ऐनामा आफूलाई हेरेँ र आफैँलाई सोधेँ—यो शरीर कसको हो?”
“अनि उत्तर?”
“पहिलोपटक आफैँलाई भनेँ—मेरो।”
कोठामा मौनता छायो। वेटरले पानी थप्ने कि भनेर सोध्दा उनीहरूको मौनता टुट्यो। तर त्यो मौनता भारी थिएन।
अर्जुनले बिस्तारै भन्यो, “तर स्वतन्त्रताको अर्थ आफूले चाहेअनुसार जे पनि गर्नु हो?”
“होइन। स्वतन्त्रता भनेको आफ्नो निर्णयको जिम्मेवारी आफैँ लिनु हो। मेरो शरीर मेरो हो भने मेरो निर्णयको परिणाम स्वीकार्ने जिम्मेवारी पनि मेरो हो। तिम्रो शरीर तिम्रो हो भने तिम्रो निर्णयको जिम्मेवारी पनि तिम्रै हो।”
“त्यसो भए सहमति?”
“स्वतन्त्रताको पहिलो ढोका।”
“सम्मान?”
“दोस्रो।”
“प्रेम?”
“त्यसपछि।”
“अनि विवाह?”
मिरा हाँसिन्। “विवाह एउटा सम्भावना हो, गन्तव्य होइन।”
“अनि यौनसम्बन्ध?”
“दुई स्वतन्त्र चेतनाबीचको सहमतिमा आधारित सम्बन्धको एउटा रूप।”
“त्यसमा पवित्रता हुन्छ?”
“पवित्रता शरीरमा खोज्ने कुरा होइन। सहमतिको सत्यता, विश्वास, सम्मान र जिम्मेवारीमा खोज्ने कुरा हो।”
अर्जुनले सोध्यो, “त्यसो भए शरीरलाई बन्धक राखेर प्रेम कसरी गर्न सकिन्छ?”
मिराले तुरुन्तै उत्तर दिइनन्। झ्यालबाट बाहिर हेरिन्। सडकमा मानिसहरूको भीड उस्तै थियो। केही जोडी हात समातेर हिँडिरहेका थिए, कसैको हातमा फूल थियो, कसैको हातमा बच्चा। कसैको अनुहारमा थकान थियो, कसैको अनुहारमा हाँसो।
“सकिँदैन,” उनले बिस्तारै भनिन्।

“किन?”
“किनकि बन्धक बनाइएको शरीरबाट जन्मिएको सम्बन्ध प्रेम होइन, सम्झौता हुन सक्छ।”
“तर सबै विवाह बन्धक हुँदैनन्।”
“हुँदैनन्।”
“सबै यौनसम्बन्ध स्वामित्व होइनन्।”
“होइनन्।”
“त्यसो भए समस्या कहाँ छ?”
“हामीले भित्र बोकेको धारणामा।”
“कस्तो धारणा?”
“‘तिमी मेरो हौ।’ सामान्य हुनु र सत्य हुनु एउटै कुरा होइन।”
अर्जुन मुस्कुरायो। “त्यसो भए प्रेमीले के भन्नुपर्छ?”
“‘तिमी मेरो हौ’ को सट्टा ‘तिमी आफ्नै हौ, तर तिमीसँग हिँड्न मलाई मन पर्छ’ भन्नुपर्छ।”
“अनि विवाहमा?”
“‘तिमी मेरी श्रीमती हौ’ मात्र होइन, ‘तिमी आफ्नै अस्तित्व भएकी मेरी सहयात्री हौ’ भन्नुपर्छ।”
“अनि पुरुषलाई?”
“उही कुरा लागू हुन्छ।”
अर्जुनले गहिरो सास फेर्यो।
“यसरी प्रेम गर्न त झन् कठिन लाग्यो।”
“हो, किनकि स्वामित्व सजिलो छ। स्वतन्त्र प्रेममा तिमीले प्रत्येक दिन अर्को मानिसलाई फेरि रोज्नुपर्छ। स्वामित्वमा भने एकपटक कागजमा लेखेपछि मनले आराम गर्छ।”
“तर त्यो आराम?”
“कहिलेकाहीँ अर्को मानिसको घुटन हुन्छ।”
अर्जुन चुप भयो। मिरा उठेर झ्यालछेउमा उभिइन्।
“अर्जुन, तिमीले कहिल्यै सोचेका छौ—पुरुषले यौनसम्बन्धपछि किन ‘मैले उसलाई पाएँ’ भन्छ?”
“अहङ्कार?”
“त्यसभन्दा गहिरो—स्वामित्व। तर ‘उसले मलाई पाई’ पनि भन्न सकिन्छ। हामी त्यो कम भन्छौँ। किनकि हाम्रो भाषामै सत्ता लुकेको छ।”
उनले थपिन्, “उसलाई पायो, उसलाई जित्यो, उसलाई आफ्नो बनायो, उसको इज्जत गयो—यी शब्दमा प्रेम कहाँ छ? यौनसम्बन्धलाई युद्धको भाषा दिइएको छ। पुरुष विजेता, स्त्री प्राप्त वस्तु; पुरुषले जित्यो, स्त्रीले हारिन्; पुरुषले लियो, स्त्रीले दिई।”
“तर वास्तविकता?”
“वास्तविकता यो हो—दुई शरीर, दुई इच्छा र दुई चेतना –sahityapost








प्रतिकृया दिनुहोस्