October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

भोटेकोशी बाढी प्रभावित प्रहरीका सन्ततिलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा

Advertisement

काठमाडौँ–नेपाल प्रहरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ ।

Advertisement

बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना प्रहरी कर्मचारीका सन्ततिलाई यो सुविधा प्रदान गरिने जानकारी नेपाल प्रहरी प्रधान कार्यालयले मंगलवार सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले प्रभावित प्रहरी परिवारको शिक्षा, जीविकोपार्जन र दीर्घकालीन पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गत भदौ १० गते रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीका क्रममा कर्तव्यमा खटिएका तथा बाढीबाट प्रत्यक्ष प्रभावित प्रहरी कर्मचारीका परिवारलाई लक्षित गरी निर्णय गरिएको हो । निर्णयअनुसार प्रभावित २८ प्रहरी कर्मचारीका सन्ततिले प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्णरूपमा निःशुल्क पाउनेछन् ।

महानिरीक्षक कार्कीले राष्ट्र र नागरिकको सुरक्षाका लागि कर्तव्य निर्वाहका क्रममा प्रभावित प्रहरी कर्मचारी तथा उनीहरूका परिवारप्रति संगठन सदैव साथमा रहने बताएका छन् । प्रहरी कर्मचारीको त्याग र सेवाको सम्मान गर्दै उनीहरूका सन्ततिको शिक्षा तथा परिवारको पुनःस्थापनाका लागि आवश्यक सहयोग गरिने उनको भनाइ छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जोखिमपूर्ण अवस्थामा कर्तव्य निर्वाह गर्दा प्रभावित भएका प्रहरी कर्मचारी र परिवारको संरक्षण तथा कल्याण संगठनको जिम्मेवारी भएको र प्रभावित परिवारको शिक्षा र जीविकोपार्जनलाई दीर्घकालीनरूपमा सम्बोधन गर्ने उद्देश्यले निर्णय गरिएको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीका अनुसार प्रभावित परिवारका अन्य सदस्यको आवश्यकता र क्षमताका आधारमा सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गरिनेछ ।

नेपाल प्रहरीले विपद् तथा जोखिमपूर्ण अवस्थामा अग्रपङ्क्तिमा खटिने प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारको कल्याणलाई प्राथमिकता दिँदै शिक्षा, सीप विकास, रोजगारी र पुनःस्थापनाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।