मुख्य राजमार्ग अवरुद्ध भएपछि भैरहवामै थन्किए लामो दूरीका गाडी



भैरहवा–लगातारको वर्षा र त्यसपछि खसेको पहिरोले मुलुकका धेरै स्थानमा सडक अवरुद्ध भएपछि भैरहवास्थित सिद्धार्थ बसपार्कबाट छुट्ने लामो दूरीका सवारीसाधनहरू बसपार्कमै थन्किएका छन् ।
विशेष गरी बिहीबारदेखि परेको झरीका कारण काठमाडौँ, पोखरा, बाग्लुङ, बेनी र जनकपुर लगायतका विभिन्न गन्तव्यका लागि छुट्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । अविरल वर्षाले पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा बिपी राजमार्ग लगायतका मुख्य सडक खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो ।
सामान्य अवस्थामा सिद्धार्थ बसपार्कबाट काठमाडौँका लागि मात्रै दैनिक ४० भन्दा बढी बसहरू छुट्ने गर्दथे । तर, प्रतिकूल मौसम र सडक अवरोधका कारण हाल यात्रुहरूको उपस्थिति पनि शून्य प्रायः छ । जसले गर्दा विगत तीन दिनदेखि बसपार्क परिसर पूर्ण रूपमा सुनसान बनेको छ ।
स्याङ्जा तथा पोखरा रुटका बस व्यवसायी रामकृष्ण थपलियाका अनुसार असोज ८ गतेपछिको वर्षातले गर्दा गाडी ग्यारेजबाट बाहिर निकाल्न सक्ने अवस्था छैन । विगतमा भोटेकोसी बाढीको समयमा जस्तै अहिले पनि यातायात क्षेत्रले ठूलो कष्ट भोग्नुपरेको उनले बताए ।
‘सवारीसाधन पूर्ण रूपमा ठप्प छन्, आम्दानी शून्य छ तर कर्मचारीलाई तलब दिनैपर्छ’ उनले भने, ‘अर्कोतर्फ बैंकले किस्ताका लागि बारम्बार फोन गरेर ताकेता गर्ने गर्छ ।’ सडक अवरुद्ध हुँदा १ सय भन्दा धेरै लामो दुरीका बस भैरहवास्थित सिद्धार्थ बसपार्कमा थन्किएका छन् ।
चाडपर्व नजिकिँदै गर्दा सडकको यस्तो दुर्दशा र मौसमको प्रतिकूलताले गर्दा व्यवसायी र सर्वसाधारण दुवैमा निराशा छाएको छ । चाडपर्वको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध हुँदा यसवर्षको पर्व नै खल्लो हुने हो कि भन्ने चिन्ता र अन्योल बढेको छ ।
यात्रुबाहक बसमात्रै नभएर सडकहरु अवरुद्ध हुँदा सुनौली नाका हुँदै नेपालको विभिन्न स्थानका लागि सामान लिएर भित्रिएका सयौं भारतीय मालवाहक गाडी समेत सिमानाकामैं थन्किएका छन् ।








लेखकको सम्वन्धमा