लुम्बिनीका पाँच जिल्लामा १८ सडकखण्ड अवरुद्ध



लगातार भइरहेको वर्षाका कारण आएको बाढी र पहिरोले लुम्बिनी प्रदेशका पाँच जिल्लामा १८ वटा सडकखण्ड अवरुद्ध भएका छन् । सडकमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेपछि यातायात प्रभावित भएको हो ।
केही स्थानमा अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ भने कतिपय सडक खुलाउन थप समय लाग्ने देखिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले असोज आइतवार बिहान सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै सडकखण्ड गुल्मीमा अवरुद्ध छन् । गुल्मीमा सात, पाल्पामा पाँच, प्युठानमा तीन, रोल्पामा दुई र अर्घाखाँचीमा एउटा सडकखण्डमा यातायात रोकिएको प्रहरी उपरीक्षक निशान थापाले जनाएका छन् ।
गुल्मीमा कालीगण्डकी करिडोरका विभिन्न तीन स्थानमा सडक अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका–२ अन्तर्गत राक्से, हर्मीचौर र पुर्तिघाट क्षेत्रमा पहिरोका कारण सडकमा समस्या आएको हो । कालीगण्डकी करिडोरकै पाल्पा खण्डमा एक र बाग्लुङ खण्डमा दुई स्थानमा पनि सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
गुल्मीका अन्य सडकमा पनि पहिरोले यातायात प्रभावित बनाएको छ । रुद्रबेनी–वामीटक्सार सडकखण्डको चन्द्रकोट गाउँपालिका–७ स्थित सिस्नेभिर, मदन भण्डारी सहायक राजमार्गअन्तर्गत छत्रकोट गाउँपालिका–३ को शृङ्गा देउराली, तम्घास–रिडी सडकखण्डको रेसुङ्गा नगरपालिका–१० सिमिचौर तथा रिडी–वामीटक्सार सडकखण्डको चन्द्रकोट गाउँपालिका–८ सोतामा सडक अवरुद्ध भएको हो ।
पाल्पामा रामपुर–आर्यभञ्ज्याङ सडकखण्ड, कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका–१, सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–५ तथा बुटवल–पोखरा सडकखण्डअन्तर्गत तानसेन क्षेत्रमा सडक अवरुद्ध छ । त्यस्तै रामपुरबाट पिपलडाँडा हुँदै जाने सडकको रम्भा गाउँपालिका–१ असर्दीमा पनि यातायात रोकिएकोे छ ।
प्युठानमा बाग्दुला–बाहाने सडकखण्डको नौबहिनी गाउँपालिका–६ बाग्दुला, बाहाने–खवाङ सडकखण्डको सोही गाउँपालिका–६ लाखाचौर र भालुवाङ–प्युठान सडकखण्डको माण्डवी गाउँपालिका–१ कुडुलेमा सडक अवरुद्ध भएको छ ।
रोल्पामा सहिदमार्गअन्तर्गत रोल्पा नगरपालिका–६ लामडाँडा र घोराही–होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका–१३ बाहुनकुनेमा सडक बन्द रहेको छ । यस्तै अर्घाखाँचीको गोरुसिङ्गे–अर्घाखाँची सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–४ ठाडामा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ ।
अवरुद्धमध्ये केही सडकखण्डमा पहिरो हटाएर यातायात सञ्चालन गराउने प्रयास भइरहे छ । वर्षा नरोकिएका कारण माथिबाट पुनः पहिरो खस्ने र सडकमा थप क्षति हुने जोखिम रहेकाले कतिपय स्थानमा तत्कालै यातायात सञ्चालन गर्न कठिनाइ भएको छ ।








प्रतिकृया दिनुहोस्