October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

पहिरोले पाल्पामा दुईजनाको मृत्यु

Advertisement

पाल्पा–अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा आएको पहिरोले पाल्पा जिल्ला प्रभावित हुन पुगेको छ पहिरोमा पुरिएर जिल्लामा  दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

Advertisement

माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ठिमुरेमा घरमाथि पहिरो खसेपछि बेपत्ता भएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । अन्य बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुलसमेत बगाएको छ । कालीगण्डकी जलविद्युत् आयोजनाको ड्यामनजिक रहेको उक्त पुल बाढीका कारण क्षतिग्रस्त भएपछि बगेको हो ।

लगातारको वर्षाले पाल्पाको माडी फाँट डुबानमा परेको छ । माथागढी गाउँपालिका–२, झडेवाको देउगिर क्षेत्रमा जमिन चिरिएपछि त्यहाँका एक दर्जनभन्दा बढी घरपरिवार जोखिममा परेका छन् । रामपुर नगरपालिका–१० होस्दीमा पनि पहिरो खसेर बस्ती प्रभावित भएको छ ।