लुम्बिनीमा उद्धारका लागि सशस्त्र प्रहरी उच्च सतर्कतामा



भैरहवा–लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना देखिएसँगै बाढी तथा डुबानबाट हुन सक्ने जोखिम न्यूनीकरण र तत्काल उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल तयारी अवस्थामा रहेको छ ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बलले उद्धार टोलीसँगै र्याफ्ट बोट, मोटरबोट तथा आवश्यक उपकरणहरू जोखिमयुक्त क्षेत्रमा तयारी अवस्थामा राखिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले प्रदेशका विभिन्न जिल्लामा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको हो ।
बाढी तथा डुबानको उच्च जोखिममा रहेका पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा १५ वटा र्याफ्ट बोट र ५ वटा मोटरबोट तयारी अवस्थामा राखिएको छ । नदी तथा जलमग्न क्षेत्रमा आवश्यक परे तत्काल उद्धार गर्न सकिने गरी ती साधन सम्बन्धित जिल्लामा परिचालनका लागि तयार पारिएको बाहिनीले जनाएको छ ।
बाहिनीका अनुसार, बाहिनीअन्तर्गत ४०४ जना विशेष तालिमप्राप्त जनशक्ति परिचालनका लागि तयारी अवस्थामा छन् । उनीहरूमध्ये विपद् व्यवस्थापनतर्फ ३१३, शव व्यवस्थापनतर्फ १५, रोप रेस्क्युमा २४, गोताखोर ११, हाइ अल्टिच्युड उद्धारतर्फ पाँच, मेडिकलतर्फ १४, सीएसएसआरतर्फ २० तथा ड्रोन र के–९ तर्फ एक–एक जना रहेका छन् ।
आवश्यकता अनुरुप लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कुल १ हजार ६३२ जना सशस्त्र प्रहरी परिचालन गर्न सकिने गरी तयारी अवस्थामा उक्त बाहिनीका प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले जानकारी दिएका छन् ।
मनसुनजन्य विपद्को प्रतिकार्यलाई थप प्रभावकारी बनाउन रुपन्देहीको सुरक्षा बेस बुटवल, दाङको नं. २९ गण परिसर, बाँकेको राप्तीसोनारी–६ कुण्डा र राप्तीसोनारी–२ कचनापुर, पाल्पाको तिनाउ–३ झुम्सा तथा गुल्मीको मुसिकोट–७ वामीटक्सारलगायत सात स्थानमा यस्ता बेस स्थापना गरिएको छ ।
बाहिनीका सूचना अधिकारी वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले अनुसार समुदायस्तरमा रहेका २४ हजार ६०५ जना विपद् सूचक तथा स्वयंसेवकलाई पनि आवश्यक पर्दा परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको जनाए ।








प्रतिकृया दिनुहोस्