October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

काँग्रेस सिद्धार्थनगर सभापति पदका उम्मेदवार सञ्जिव रेग्मीले भने, ‘मलाई जिताउनुस्, कांग्रेस सबल बनाउँछु’

Advertisement

भैरहवा – पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत नेपाली काँग्रेस सिद्धार्थनगर नगर सभापति पदका उम्मेदवार सञ्जीव शर्मा रेग्मीले आफूलाई जिताउन आव्हान गरेका छन् । काँग्रेसलाई सबल बनाउन पनि आफूलाई जिताउन उनले आग्रह गरेका हुन् । लामो समयदेखि पार्टी राजनीतिमा रहेर विभिन्न पदको जिम्मेवारी सम्हालेको अनुभव आत्मसात गरेर काँग्रेस बलियो बनाउने उनको भनाई थियो ।

Advertisement

महाधिवेशन अन्तर्गत बुधबार गाउँ–नगर अधिवेशन रहेको छ । अधिवेशनको पूर्व सन्ध्यामा नव निर्वाचित वडा सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिको सम्मानमा आयोजित कार्यक्रममा रेग्मीले काँग्रेस पार्टी र कार्यकर्ताको सेवाका लागि अवसर दिन अनुरोध गरेका हुन् । सम्मान कार्यक्रममार्फत रेग्मीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा पार्टीका वडा, नगर, क्षेत्रीय, प्रदेश, जिल्ला पदाधिकारीसँगैं केन्द्रिय सदस्यहरु सहभागी थिए ।

पूर्व केन्द्रीय मन्त्री एवं काँग्रेस नेता भरतकुमार शाह तथा संविधानसभा सदस्य इस्तियाक अहमद खान लगायतको उपस्थितिमा रेग्मीले आफ्नो प्यानल सार्वजनिक गरेका हुन् । कार्यक्रममा काँग्रेस नेतृ अनिता शाह ढुंगाना, नेताहरू सुशील गुरुङ, दीपक क्षेत्री न्यौपानेलगायत स्थानीय तथा प्रदेश तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

उम्मेदवारी घोषणा गर्दै रेग्मीले पद प्राप्तिभन्दा कार्यकर्ताको विश्वास जित्ने र सङ्गठनलाई तल्लो तहदेखि बलियो बनाउने आफ्नो प्राथमिकता रहेको बताए । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका रेग्मीले वडा सचिव, नगर कोषाध्यक्ष तथा नगर सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

आफू विगतको अनुभव, स्पष्ट कार्य योजना र प्रतिबद्धतासहित नगर सभापतिको प्रतिस्पर्धामा आएको बताए । ‘हामी व्यक्ति वा गुटको राजनीति होइन, विचार र संगठनको राजनीति गर्न चाहन्छौँ । वर्षका ३६५ दिन नै कार्यकर्ता र जनताको सुख–दुःखमा साथ दिने नेतृत्व आजको आवश्यकता हो,’ रेग्मीले भने । ‘व्यक्ति होइन, विचार रोजौँ गुट होइन, संगठन रोजौँ’ भन्ने नारासहित सिद्धार्थनगरका प्रत्येक वडा तथा टोलमा काँग्रेसको सङ्गठनात्मक उपस्थिति थप सशक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । रेग्मीको नेतृत्वमा सार्वजनिक गरिएको प्यानलमा उपसभापतिमा अनिल केसी र लक्ष्मी अर्याल, सचिवमा पंकज उदास तथा सहसचिवमा राममिलन यादव रहेका छन् ।

प्यानलले अग्रजको अनुभव र युवाको ऊर्जालाई संयोजन गर्दै समावेशी, पारदर्शी र उत्तरदायी नगर समिति निर्माण गर्ने जनाएको छ । साथै स्थानीय तहदेखि आगामी निर्वाचनसम्म पार्टीको सङ्गठनलाई थप सक्रिय र प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले पार्टीको आन्तरिक निर्वाचनमा समुह बनाएर प्रतिस्पर्धा गर्नुभन्दा सहमतिका लागि प्रयास गर्न सुझाव दिए । अहिले पार्टीमा ‘नजर’ लागेको उल्लेख गर्दै उनले आगामी दिनमा गुटबन्दी बिना एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । रुपन्देही–३, का क्षेत्रीय सभापति सुशील गुरुङले पार्टीभित्र सहमती कायम गर्न हदैसम्मको पहल गर्ने बताए । केही गरि सहमति कायम नभएमा प्रजातान्त्रिक प्रक्रियामा जाने उनले बताए ।

रुपन्देहीका अग्रज नेता दीपक क्षेत्री न्यौपानेले राजनीति गर्ने व्यक्तिले आत्तिन, मात्तिन र बत्तिन नहुने बताए । आफू कुनै पदको आकांक्षी नभएकाले सबै कार्यकर्ताबीच सहमतिमा नेतृत्व चयनलाई जोड दिन उनले आग्रह गरे ।