असोजको दोस्रो सातातिर फेरि भारी वर्षाको संकेत



भैरहवा–असोजको दोस्रो सातातिर नेपालमा पुनः ठूलो वर्षाको जोखिम देखिएको छ । बंगालको खाडीबाट विकसित हुने मौसमी प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीच समाहित हुने सम्भावना रहेकाले देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसमविद्हरूले जनाएका छन् ।
आगामी दिनमा बंगालको खाडी र पश्चिमी वायुमण्डलीय प्रणालीको अवस्था, तिनको गतिले नेपालमा हुने वर्षाको मात्रा र अवधि निर्धारण गर्ने भएकाले मौसमविद्हरूले नियमित मौसम सूचना हेर्न र सम्भावित बाढी, पहिरो तथा डुबानप्रति सावधानी अपनाउन आग्रह गरेका छन् ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेको छ ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडलको विश्लेषण गर्दा आगामी साता उल्लेख्य वर्षाको संकेत देखिएको जनाएका छन् ।
उनले यस्तो वर्षा देशभर एकैपटक नभई केही निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने भए पनि सम्भावित असर वारे गम्भीर हुनसक्ने बताएका छन् ।
मौसमविद्हरूका अनुसार असोज ८ देखि १२ गतेसम्म बंगालको खाडीबाट विकसित हुने प्रणालीको प्रभाव नेपालमा बढ्न सक्छ । त्यस क्रममा पश्चिमी वायुमण्डलीय प्रणालीसँग समाहित तथा घर्षण भएमा नेपालमा ठूलो परिमाणमा जलवाष्प भित्रिने र त्यसले वर्षाको मात्रा बढाउने सम्भावना छ ।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार सुदूरपश्चिमदेखि मध्य नेपालसम्म विशेष गरी भारी वर्षाको सम्भावना देखाएको छ । उनले मौसमी सूचनालाई नियमित रूपमा पछ्याउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अन्डमन सागरमा विकसित भइरहेको प्रणाली चक्रवातमा परिणत भए पनि नभए पनि त्यसको अप्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्ने अधिकारीको भनाइ छ । पूर्वी बंगालको खाडीबाट आउने प्रणाली र पश्चिमतर्फको प्रणालीबीच समाहित तथा घर्षण हुने सम्भावनाले वर्षाको जोखिम थप बढाउन सक्ने उनको आकलन छ ।
उपप्राध्यापक पोखरेलका अनुसार आगामी साता चक्रवात नै बन्ने वा नबन्ने निश्चित नभएपनि नेपालमा भारी वर्षाको सम्भावना भने कायम छ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानमा लगातार वा पटक–पटक भारी वर्षा हुन सक्ने र मौसमी प्रणाली सुस्त गतिमा अघि बढे वर्षा लामो समयसम्म जारी रहन सक्ने उनले बताएका छन् ।








प्रतिकृया दिनुहोस्