अव्यवस्थित पार्किङले बेलहिया नाकामा यात्रुलाई सकस



भैरहवा–अव्यवस्थित पार्किङले रुपन्देहीको बेलहियास्थित नाका हुँदै ओहोरदोहोर सकसपूर्ण बनेको छ । प्रमुख पर्यटकीय नाका बाह्रैमास भद्रगोल हुन थालेपछि पर्यटन व्यवसायी र सर्वसाधरणले सुधारका लागि ध्यानाकर्षण गराएका छन् ।
नाकाको जाम, धुलो–धुँवा र अस्तव्यस्त अवस्था देख्ने वित्तिकै नेपालप्रति पर्यटकको मनमा नाकारात्मक धारणा सिर्जन भइरहेको व्यवसायीले बताएका छन् । वर्षैभरि सर्वसाधरण र पर्यटकको ओहोरदोहोर हुने नाका हाटबजारभन्दा अव्यवस्थित छ । नाका व्यवस्थापन गर्ने जिम्मेवारी प्राप्त निकायले बेवास्ता गर्दै आएका छन् । सार्वजनिक कार्यक्रममा नाका व्यवस्थित बनाउनु पर्ने भाषण गर्दै आएका जनप्रतिनिधिले व्यवस्थापनमा चासो दिएका छैनन् ।
बेलहियाको दशगजादेखि सिद्धार्थनगर–१ को डण्डापुलसम्म हलुकादेखि मालबाहक गाडी पार्किङ हुँदै आएका छन् । बेलहिया–डण्डा खण्ड अन्तर्गत वाइपास सडक जोडिने ठाउँदेखि नाकासम्म सहज तरिकाले हिंड्ने स्थानसम्म पाउन मुश्किल हुन थालेको छ । यस खण्डमा भारतबाट भित्रिएका र बाहिरन लागेका ट्रक पार्किङ गरिन्छ । जसले गर्दा पैदल यात्रु र मोटरसाइकल चालक सर्भिस लेनबाट हिंड्न बाध्य छन् ।
त्यहाँका सर्भिस लेन पनि खाली हुँदैनन् । भैरहवाबाट बेलहिया जाँदा पूर्वपट्टिको सर्भिस लेनबाट बसपार्कसम्म अटो रिक्सा र स्थानीयका सवारी साधन पार्किङ गरिएका हुन्छन् । बसपार्कमा क्षेत्र झन भद्रगोल हुने गरेको छ । यात्रुको भीड हुन्छ । त्यसैमाथि अटोरिक्साले तानातान गर्छन् । बसपार्क सामुन्ने भन्सार कार्यालय भएकाले मुख्य सडकमा चेकिङ भइरहेको हुन्छ । चेकिङस्थलमा ठूला ब्यारियर लगाइएको छ । डण्डादेखि बेलहिया खण्ड अन्तर्गत पश्चिमपट्टिको सर्भिस लेन चौबिसै घण्टा निजी गाडीको कब्जामा हुन्छ ।

भन्सार कार्यालय अगाडि मनपरि पार्किङ गरिँदा समस्या भइरहेको छ । भैरहवा भन्सार प्रमुख हरिहर पौडेलका अनुसार पश्चिमपट्टिको सर्भिस लेनमा रुपन्देहीका विभिन्न अस्पताल र क्यासिनोका गाडी राख्ने गरिएको छ । ‘हस्पिटल र क्यासिनोका गाडीले दुःख दिने गरेका छन्,’ उनले भने, ‘सडकका दुबैपट्टि हस्पिटल र क्यासिनोका गाडी पार्किङ गरिँदा नाका भद्रगोल देखिन्छ ।’
उनका अनुसार बेलहियाको आधा पार्किङ क्यासिनाका गाडीले खपत गरिरहेका छन् । खुला स्थान, सडक दायाँबायाँ मनपरि राख्ने गरिएको छ । क्यासिनोका गाडीलाई रोकतोक छैन । जति अनुरोध गरेपछि यस्ता गाडीको समस्या हल नभएको पौडेलले बताए । यी बाहेक भारतीय गाडीले नाका क्षेत्र कब्जा गरेका छन् । नाकाको पूर्वतर्फ रहेको पर्यटन सूचना केन्द्रदेखि उत्तर बसर्पाकसम्म भारतीय गाडी राख्ने गरिएको छ । सूचना केन्द्र र बसपार्कबीचमा रहेको ठूलो खाली क्षेत्रमा भारतीय गाडी मात्र हुन्छन् । गाडी त्यहाँ पार्किङ गरेर चालक यात्रु खोज्दै हिंड्छन् ।
पार्किङस्थल बाहेक नाकादेखि उत्तर भारतीय गाडी, अटोरिक्सा, ठूला ट्रक र बस लाम लागेका हुन्छन् । नाकामा गाडीको निश्चित लेन छैन । जसलाई जता मन लाग्यो उतै गाडी छिराउने गर्छन् । गाडीको थिचोमिचोमा यात्रु परिरहेका छन् । यात्रुका लागि छुट्याइएका ठाउँमा समेत गाडी पार्किङ गरिएका हुन्छन् । ‘नाकामा कतिखेर कुन गाडीले च्याप्छ पत्तै हुँदैन,’ सोमबार मध्यान्ह बेलहिया नाकामा भेटिएका एक यात्रुले भने, ‘अन्तर्राष्ट्रिय नाका भनिन्छ । तरकारी बजार भन्दा अव्यवस्थित छ ।’ नाकामा कहिँ कतै सरकारको आभाष नहुने उनले बताए ।
यहीँ नाका भएर धेरै भारतीय र तेस्रो मुलुकका पर्यटक आउँछन । बुद्धस्थल लुम्बिनी भ्रमणका लागि बुद्ध धर्मावलम्बी पनि यहीँ नाका भएर आउँछन् । तर, उनीहरु सहज रुपमा मुलुक भित्रिन पाउँदैनन । सिद्धार्थ होटल एशोसियनका बरिष्ठ उपाध्यक्ष किशोर जोशीकाअनुसार भारतमा रहेका अधिकांश बुद्धस्थल नाकाबाट नजिकै रहेका छन् । विहान हिंडेका बस बेलैमा नाकामा आइपुग्छन् ।
तर, नाका कटेर लुम्बिनीसम्म पुग्न घण्टौं लाग्ने गरेको छ । ‘अधिकांश पर्यटक लुम्बिनीमा पूजा गर्ने उद्देश्यले आउँछन्,’ उनले भने, ‘तर, नाका पार गर्नै रात पर्छ । त्यसैले मध्यरात भारतबाट हिंडेर विहान नाकामा आइपुग्नु पर्ने बाध्यता छ ।’ अन्तर्राष्ट्रिय नाकाको बिजोग देखेर पर्यटकले नाक खुम्च्याउने गरेको वरिष्ठ उपाध्यक्ष जोशीले बताए ।








प्रतिकृया दिनुहोस्