रुपन्देहीमा खुलेआम तस्करी



भैरहवा–रुपन्देहीमा सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि प्रहरीले कडा निगरानी र चेकजाँच भइरहेको दाबी गर्दै आएको छ । तर, प्रहरीको दाबी र स्थलगत दृश्यबीच भने ठूलो अन्तर देखिएको छ ।
बुधवार राति करिब ७ः३० बजेको समयमा भैरहवास्थित युनिभर्सल मेडिकल कलेज हुँदै आँखा अस्पतालतर्फ जाने सडकमा नम्बर प्लेट नभएको १५० सीसीको पल्सर मोटरसाइकल तीव्र गतिमा गुडिरहेको देखियो । मोटरसाइकलमा दुई जना सवार थिए । उनीहरूले भारतबाट अवैध रूपमा ल्याइएको आशंका गरिएका जुत्ता तथा चप्पलका ठूला–ठूला पोका बोकेका थिए । कसैले पछ्याइरहेको वा निगरानी गरिरहेको आशंका भएपछि तस्करहरुको मोटरसाइकलको गति थप बढेको देखिन्थ्यो । उक्त गतिविधि पत्रकारको क्यामेरामा समेत कैद भएको छ ।
स्थानीय प्रशासन र प्रहरीले जिल्लामा तस्करी नियन्त्रण प्रभावकारी रहेको तथा तस्करी न्यून वा शून्य अवस्थामा रहेको दाबी गरिरहँदा मुख्य बजार क्षेत्रबाटै यसरी अवैध सामान ओसारपसार भएको दृश्यले सुरक्षा निकाय लगायत अन्य सरोकारवाला निकायको कार्यशैलीमाथि प्रश्न उठाएको छ ।
सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताइन्छ । तर, प्रहरीकै निगरानी क्षेत्रबाट फरक–फरक रुट प्रयोग गरी ठूला परिमाणमा सामान भित्राइएको देखिएपछि सादा पोशाकका प्रहरी टोलीको प्रभावकारिता र उनीहरुको उपादेयतामाथिपनि प्रश्न उठेको छ ।
भैरहवाको मुख्य सीमा नाका बेलहिया क्षेत्रमा भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिमा सुरक्षा बल, भन्सार कर्मचारीको कडा चेकजाँच देखिन्छ । सर्वसाधारणले प्रयोग गर्ने सवारीसाधन रोकेर यात्रुलाई ओराल्ने, डिकी खोल्न लगाउने र सामानसम्म खोजतलास गर्ने गरिएको छ । तर, सीमा नाकाको केही किमी दाँयाबाँयाको सीमावर्ती क्षेत्रको अवस्था भने निकै फरक छ । खुलेआम तस्करी भैरहदापनि सुरक्षा निकाय मौन देखिन्छन् । न भन्सार सुरक्षा गश्तीकै बलियो उपस्थिती हुने गर्छ ।
सीमा नाकामा हुने नियमित सुरक्षा तथा भन्सार जाँच आवश्यक भए पनि सर्वसाधारणमाथि मात्रै कडाइ र मुख्य नाका छलेर हुने सम्भावित तस्करीप्रति प्रभावकारी निगरानी हुन नसकेको हो भने गम्भीर भएर सोंच्नु पर्छ ।
स्थानीयस्तरमा समेत ‘सानो परिमाणमा सामान ल्याउने सर्वसाधारणमाथि कडाइ गर्ने तर ठूलो परिमाणमा सामान ओसारपसार गर्ने समूह उपकटरुटबाट उम्किने’ गरेको गुनासो सुनिँदै आएको छ । सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सादा पोशाकका प्रहरी परिचालन गरिएको प्रहरीको दाबी छ । तर, रातको समयमा मुख्य सडकबाटै नम्बर प्लेटबिनाको मोटरसाइकलमा ठूला पोका बोकेर सामान ओसारपसार भइरहेको दृश्य सार्वजनिक भएपछि रुपन्देहीमा तस्करीको क्रम नरोकिएको कुरालाई प्रमाणित गर्छ ।
यदि प्रहरीको सादा पोशाकको टोली प्रभावकारी रूपमा परिचालित छ भने प्रहरीको नियमित निगरानी क्षेत्रभित्रै यस्ता गतिविधि कसरी भइरहेको छ ? सीमा नाका बाहेकका अन्य सीमावर्ती क्षेत्रमा अवैध रुपमा सामान भित्रिने क्रम रोक्न सुरक्षा निकायको रणनीति किन प्रभावकारी हुन सकेन ?








लेखकको सम्वन्धमा