भारतबाट १५ जना नेपाली बालबालिका पुनर्स्थापनाका लागि नेपाल ल्याइँदै



भैरहवा–भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला परेका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीलाई उद्धार गरी परिवारमा पुनर्स्थापना गराउन मंगलबार नेपाल ल्याइँदै छ ।
भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’को पहलमा भारतका महाराष्ट्र, दिल्ली र झारखण्डलगायत स्थानबाट फरक–फरक समयमा उद्धार गरिएका उनीहरूलाई परिवार तथा आफन्तको जिम्मा लगाउन नेपाल ल्याउदै गरिएको हो ।
किन इन्डियाका निर्देशक नविन जोशीका अनुसार उद्धार गरिएकामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका र तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी छन्। उद्धार गरिएकामध्ये पाँच जना बालिका तथा किशोरी छन् ।
उद्धार गरिएकामध्ये केही बालकलाई मदरसामा पढाउने भन्दै अवैध रूपमा भारत लगिएको पाइएको छ । उनीहरू जोखिमपूर्ण तथा नियमविपरीत अवस्थामा रहेको जानकारी पाएपछि भारतीय प्रहरी, विशेषगरी महाराष्ट्र प्रहरीको सहयोगमा मदरसामा छापा मारेर उद्धार गरिएको जोशीले बताए ।
त्यस्तै, केही बालिका तथा किशोरी घरेलु हिंसाको सामना गर्न नसकेर घरबाट भागेका अवस्थामा भारत पुगेका थिए । उनीहरूलाई पनि भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला पारेर उद्धार गरिएको हो । केही बालबालिका भने दिल्लीका रेल्वे स्टेशनमा अलपत्र अवस्थामा भेटिएका थिए ।
जोशीका अनुसार भारतका विभिन्न स्थानबाट उद्धार गरिएपछि उनीहरूलाई केही समय ‘किन इन्डिया’को संरक्षणमा राखिएको थियो । अब उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याएर परिवार तथा आफन्तसँग पुनर्मिलन गराउने तयारी गरिएको छ ।
उद्धार गरिएका बालबालिकालाई तीनवटा गाडीमार्फत मंगलबार बिहान दिल्लीबाट नेपाल ल्याइँदै गरिएको जानकारी जोशीले दिए । बालवालिका सहितको दुईवटा गाडी भारतको बरेली हुँदै नेपालगन्ज नाकाबाट रुपन्देहीतर्फ आउने क्रममा छन् भने अर्को गाडी भारतको पटना हुँदै रुपन्देही आइरहेको छ । उनीहरूलाई बुधबार रुपन्देहीमा नेपाल सरकारका प्रतिनिधि तथा आफन्तको उपस्थितिमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
नेपाल ल्याउने क्रममा बालबालिकासँग ‘किन इन्डिया’का कर्मचारी तथा भारतस्थित नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल समेत रहेका छन् ।
जोशीका अनुसार, उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरी मधेश प्रदेशसहित पश्चिम नवलपरासीको प्रतापपुर, पाल्पा, कञ्चनपुर, कैलालीलगायत जिल्लाका रहेका छन् । उनीहरू सबैलाई विभिन्न माध्यमबाट अवैध रूपमा भारत पुर्याइएको र त्यहाँ जोखिमपूर्ण अवस्थामा फेला पारेपछि भारतीय प्रहरी तथा नेपाली राजदूतावासको समन्वयमा उद्धार गरिएको हो ।








लेखकको सम्वन्धमा